लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज असार २९ गते अर्थात २१० औं भानु जयन्ती मनाइदै

IMG

तिलोत्तमा सिटी । असार २९ गते । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । काठमाण्डौ, तनहुँ, रुपन्देहीसहित दार्जिलिङ र सिक्किम लगायत नेपाली भाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली भाषा र समाजलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत् एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो ।



‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र भोलिवादका कट्टर विरोधी भएर समेत भोलि कविता लेख्नुभएको थियो । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको छ । उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकका रुपमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिनुभएको थियो । भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । भानुजयन्तीका अवसरमा आज गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ ।

कमेन्ट गर्नुहोस्