
तिलोत्तमा सिटी / २७ असार, काठमाडौं । साउन १ गतेदेखि काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजाँदा ककनी गाउँपालिकालाई एक हजार पाँच सय रूपैयाँसम्म प्रवेश शुल्क बुझाउनुपर्ने भएको छ। काठमाडौंबाट फोहोर बोकेर जाने गाडीसँग प्रवेश शुल्क उठाउने गरी आर्थिक विधेयक पारित भएको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए।
'हामीले अहिले शुल्क उठाउने गरी आर्थिक विधेयक पारित गरेका छौं। साउन १ गतेदेखि उठाउन थाल्छौं,' अध्यक्ष तामाङले भने। फोहोर र मानिस सँगै बस्ने अवस्था अन्त्यका लागि यो सुरूआती पहल भएको हो भन्ने कुरा उनले बताए।
काठमाडौंले ककनीलाई फोहोर फाल्ने थलोका रूपमा मात्रै प्रयोग गरेको र पटकपटक भएका वार्ता, छलफलले कुनै समाधान नदिएपछि गाउँपालिका आफैंले व्यवस्थापनको पहल लिएको उनले बताए। 'काठमाडौंमा पनि हामीसँगै जनप्रतिनिधि निर्वाचित भएर आउनुभयो। उहाँहरूले हामी व्यवस्थापन गर्छौं, विसर्जनको वातावरण बनाइदिनुपर्यो भनेर अनुरोध गरेपछि सहजीकरण पनि गरेका हौं,' उनले भने, 'तर अहिलेसम्म अध्ययन भन्दै समय गुजारियो।'
'तपाईंहरू ककनी गाउँपालिका आएर हेर्नुभयो भने पनि सहजै देख्न सक्नुहुन्छ, फोहोरले यहाँको जनजीवन कस्तो छ? घरघरै रोगी बढेका छन्। महिनाको एक-दुई जनालाई क्यान्सर रोगको उपचारको सहयोग दिनुपरेको छ। यो विकराल अवस्थाबाट हामीले कसरी पार पाउने? केही न केही त उपाय पहिल्याउनुपर्यो,' उनले भने, 'काठमाडौंको फोहोर विसर्जनमा अवरोध पुर्याउने मनसाय होइन। यहाँको जीवन त बचाउनुपर्यो।'
उनले संघीय सरकार गम्भीर होस् भनेर प्रवेश शुल्क उठाउन लागिएको पनि जिकिर गरे। ढाट थापेर बस्न नगरपालिकाको रहर नभएपछि काठमाडौं महानगरपालिका लगायत उपत्यकाका स्थानीय तहको उपेक्षाका कारण यो निर्णयमा पुग्नुपरेको बताए। उहाँहरूले फोहोर र मानिस अलग राख्न, सिसडोलको व्यवस्थापन गर्न कुनै पहल गर्नुभएन , शून्य तदारूकता देखाउनुभयो,' उनले गुनासो गरे।
२०६२ जेठ ५ गतेदेखि नुवाकोटको सिसडोल क्षेत्रमा काठमाडौंको फोहोर विसर्जन गर्न थालिएको हो। दुई वर्षका लागि दुई लाख ७५ हजार मेट्रिक टन फोहोर फाल्ने भनेर स्थानीयवासीसँग सम्झौता गरिएपछि ककनी गाउँपालिकामा पर्ने सिसडोलमा १७ वर्ष फोहोर फालियो। गत वर्ष जेठदेखि धादिङको धुनिबेसी १ स्थित बञ्चरेडाँडा क्षेत्रमा फोहोर फाल्न थालिएको छ। त्यहाँ संघीय सरकारले दीर्घकालीन ल्यान्डफिल साइट बनाए पनि काठमाडौं महानगरसहित उपत्यकाका १८ वटा नगरपालिकाले सिसडोलकै तौरतरिकाले फोहोर फालेको त्यहाँका स्थानीय बताउँछन्। अहिले दैनिक १२ सय टनभन्दा बढी वर्गीकरण नगरिएको फोहोर बञ्चरेडाँडा पुर्याइने गरिएको छ।
महामारी फैलने अवस्था नआओस् र त्यसको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले पहलकदमी लिएको अध्यक्ष सुमन तामाङले जानकारी दिए।
गाउँपालिकाले आगामी वर्ष फोहोरले त्यस भेगको जनस्वास्थ्य, पशुचौपाया र बालीनालीमा पुर्याएको असरबारे विस्तृत अध्ययन गर्ने भएको छ। त्यसका लागि बजेटको व्यवस्था गरिएको अध्यक्ष तामाङले बताए।
कमेन्ट गर्नुहोस्