लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल उपमहानगरपालिकाद्वारा सरसफाइ अभियानलाई निरन्तरता

IMG

बुटवल, वैशाख १७ गते । बुटवललाई स्वच्छ र सफा राख्न बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियानलाई निरन्तरता दिएको छ । हरेक साता बुटवलको व्यस्त क्षेत्रमा उपमहानगरले सरसफाइ गर्दै आएको छ । बुटवल उपमहानगरले बसपार्क, मुख्य सडक र सार्वजनिक स्थल सरसफाइलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको छ । 


बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियान नियमित बनाइएको बताउनुभयो । उहाँले बुटवललाई सफा राख्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रूपमा स्थापित गरी पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्न दुई वर्षअघिदेखि हरियाली र उज्यालो बुटवल अभियान सुरु गरिएको प्रमुख पाण्डेयको भनाइ छ । उहाँले भन्नुभयो, “बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महìवलाई जोगाउँदै पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्ने मुख्य लक्ष्यसहित सरसफाइ अभियानलाई निरन्तरता दिइएको हो ।” 


उहाँले अभियानलाई सफल बनाउन नगरवासी, टोल विकास संस्था, राजनीतिक दल, सामाजिक सङ्घ संस्था तथा सरोकारवाला निकायलाई साथमा लिएर अगाडि बढेको बताउनुभयो । बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले नगर सफा रहे मात्रै नागरिक स्वस्थ रहने भएकाले घर घरबाटै सहर सफा राख्ने अभियान नियमित हुनुपर्ने धारणा राख्नुभयो । बुटवलले हरियाली, सरसफाइ अभियान गत वर्ष पनि चलाएको थियो । 


उहाँले बुटवल नगरलाई सफा, सुन्दर राख्नका लागि सबै नगरवासीको सकारात्मक भूमिका आवश्यक पर्ने भएकाले आफ्नो घर, टोल र नगर सफा राख्नका लागि आग्रह गर्नुभयो । उहाँले हरेक जसो रोग फोहोरमैला र प्रदूषित वातावरणबाट फैलिने भएकाले सरसफाइमा ध्यान दिन नगरवासीलाई आग्रह गर्नुभयो ।

कमेन्ट गर्नुहोस्