
तिलोत्तमा सिटी । जेठ २३ गते । नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी असार २ गतेदेखि देशभरका सरकारी तथा सामुदायिक विद्यालय अनिश्चितकालीन बन्दको चेतावनी दिएको छ । केही दिन अघि प्रस्तुत बजेटमा विद्यालय कर्मचारीको माग सम्बोधन नभएको भन्दै विद्यालय बन्दको तयारी गरिएको हो । नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले असार २ गतेदेखि देशभरका सरकारी विद्यालय बन्द गर्न आह्वान गरीएको जानकारी दिनुभयो । सरकारी विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई सरकारले विभेद र न्यून वेतनमा काम गर्न बाध्य पारेको योगीको भनाइ छ । आन्दोलनका कार्यक्रम अन्र्तगत आगामी जेठ ‘२८ गते माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म खाली थाल ठटाउँदै विरोध गर्ने कार्यक्रम तय भएको छ भने जेठ २९ गतेदेखि ३ दिनसम्म अनसन बस्ने र सो समयसम्म पनि माग सम्बोधन नभए असार २ देखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने परिषद्को तैयारी छ ।
विद्यालय कर्मचारी सहायक (लेखापाल)हरूका लागि ३४ हजार ७३० रूपैयाँ तलब कायम हुनुपर्ने, विद्यालय सहयोगीका लागि २४ हजार २१० तलब रूपैयाँ कायम हुनुपर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को माग छ । अहिले विद्यालयका लेखापालले मासिक १३ हजार ५०० तथा कार्यालय सहयोगीले ८ हजार रूपैयाँ पाउँदै आएका छन् । सरकारी विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पु¥याइ स्वतः स्थायी प्रक्रियामा लग्नुपर्ने पनि उनीहरूको माग छ । यस्तै, विद्यालय कर्मचारीहरूले तत्कालै पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्नुपर्ने, सङ्घीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई स सम्मान अवकाशको व्यवस्था गर्नुपर्ने, विद्यालय कर्मचारीलाई उच्च शिक्षा अध्ययनका लागि बिदा, सन्तति वृत्ति आदिको प्रबन्ध गरिनुपर्ने उनीहरूको माग छ ।
कमेन्ट गर्नुहोस्