लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही सहित तराईमा लू चल्न थाल्यो, पाँच दिन तापक्रम उच्च रहने

IMG

तिलोत्तमा सिटी । जेठ २० गते । मध्य तराईका विभिन्न ठाउँमा तातो हावासहित ‘लू’ चल्न थालेको छ । गर्मी बढेसँगै तापक्रम बढेर ४० डिग्रीभन्दा माथि पुग्ने र तातो हावा चल्न थालेपछि यसलाई ‘लू’ भनिन्छ । अहिले मधेस प्रदेश र लुम्बिनी प्रदेशमा तापक्रम बढ्दो क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नवलपरासीको दुम्कौलीमा तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ । भैरहवा, सिमरा, जनकपुर र गौरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । भैरहवा र सिमरामा ४० दशमलव ५ तथा जनकपुरमा ४० दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ । नेपालगञ्जमा उच्चतम तापक्रम ३८ दशमलव ८ र विरेन्द्रनगरमा ३६ दशमलव ८ रहेको छ ।



तापक्रम उच्च भएका तराईका क्षेत्रमा अझै केही दिन पानी पर्ने सम्भावना छैन । उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्दो रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ । तातो हावा तथा ‘लू’ का कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने गर्छ । ‘लू’ तथा गर्मीको समस्याबाट बच्न गर्मीको समयमा सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्ने, टोपी लगाउन, पटक–पटक पानी तथा जुस, सर्वतलगायतका झोलपदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न डाक्टरको सुझाव छ । ‘लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको कमी हुनु हो । 

कमेन्ट गर्नुहोस्