
तिलोत्तमा जेष्ठ ७ गते २०८० । साहित्य शृङ्खला, पोखराको आयोजनामा भएको एक समारोहमा संस्थाका निवर्तमान अध्यक्ष एवं प्रलेस कास्कीका अध्यक्ष लोकनाथ पुडासैनीको लघुकथा कृति ‘लगाम’को लोकार्पणका साथ समीक्षा गरिएको छ । संस्थाको २४८ औँ शृङ्खलामा कृतिमाथि पूर्व मन्त्री एवं लघुकथाकार त्रिलोचन ढकालले समीक्षा गर्नुभएको थियो। वरिष्ठ वाम बुद्धिजिवी एवं दर्शनका ज्ञाता रामराज रेग्मीको प्रमुख आतित्थ्यता र संस्थाकी अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा पृथ्वीनारायण क्याम्पस, पोखराका पूर्व क्याम्पस प्रमुख एवं विश्लेषक गेहेन्द्रेश्वर कोइरालाको बिशिष्ठ आतिथ्यता रहेको थियो।
कृतिको समालोचनात्मक चिरफार गर्दै वर्तमान अवस्थामा देशको अर्थतन्त्र सबै दलालपूँजीवादको हातमा जकडिएको र आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रमा उसैले लगाम लगाएकोले लगाम कृति आफैमा उत्कृस्ट र समसामयिक रहेको समिक्षक बक्ताहरुले औँल्याएका थिए। स्रष्टा लोकनाथ पुडासैनीद्वारा भुइँमान्छेहरूप्रति समर्पित लगाम लघुकथा कृतिले यिनै कुरालाई व्याङ्ग्यात्मक शैलीमा उजागर गरेको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाट, हाँस्यव्यङ्ग्य साहित्यकार नारायण परिश्रमी, हाम्रो लघुकथा केन्द्रकी व्यवस्थापक शुभ शर्मा, लघुकथा प्रतिष्ठान पोखराका अध्यक्ष अल्पविराम, लघुकथाकार कल्याण पन्त, नेकपा एस बाग्लुङका अध्यक्ष एवं साहित्यकार लालबहादुर थापा लगायतले कृतिको चर्चा गर्दै कृति प्रगतिको शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
संस्थाका सचिव काजी गाउँलेको सञ्चालन र उपाध्यक्ष तथा आलोक शृङ्खलाका सम्पादक ताराप्रसाद तिम्सिनाद्वारा स्वागत गरिएको समारोहमा लक्ष्मण थापा, सन्तोष न्यौपाने, धर्मराज पौडेल अल्पायु, विष्णु बाँस्तोला, विकास लुङ्गेली, लक्ष्मीप्रसाद पौडेल, कर्मयुग, लक्ष्मण गौतम हिमाली, छविलाल आचार्य लगायतले आआफ्ना रचना वाचन गर्नुभएको थियो। कार्यक्रममा शुभ शर्मा र स्रष्टा लोकनाथ पुडासैनीले सहभागीहरूलाई धन्यवाद दिँदै लगाम लघुकथा सङ्ग्रहबाट एकएक वटा लघुकथा वाचन गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
कमेन्ट गर्नुहोस्