लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बालबालिकाका आँखा राता हुन्छन्? संक्रमण हुनसक्छ

tillotmacitynews - 2023 May 22 09:59 AM
IMG

डा.शेरबहादुर पुन //सोमबार, जेठ ८, २०८०।बालबालिकाका आँखा राता भएका छन् भने  एडिनो भाइरसको संक्रमण पनि हुनसक्छ। यो वर्षेनी देखिने भएकोले नयाँ भाइरस भने होइन। अनुसन्धानहरुले ६ महिनादेखि ५ वर्षको उमेरसम्ममा एडिनो भाइरसको संक्रमण उत्कर्षमा पुग्ने देखाएका छन्। बालबालिका १० वर्ष पुगुन्जेलसम्ममा कम्तीमा पनि १ पटक संक्रमण भइसकेको हुने अध्यनहरुले देखाएको छ। यसबाट पनि एडिनो भाइरस हामीबीच कति ब्याप्त रहेछ भन्ने देखाउँछ।बालबालिकाहरु सामान्यतय डे-केयर सेन्टरमा जाँदा र त्यहाँ रहेका खेलौनाहरुको प्रयोग गर्दा, विद्यालयमा बालबालिकाहरु विभिन्न अतिरिक्त क्रियाकलापमासँगै हुँदा एक अर्कामा संक्रमण सार्ने सम्भावना बढी हुने गर्दछ। पाँच वर्ष मुनिका बालबालिकामा देखिने सबैभन्दा बढी स्वास्थ समस्यामा श्वास-प्रश्वासको संक्रमण पहिलो स्थानमा पर्दछ। र श्वास-प्रश्वास संक्रमण गराउनेमा अनुमानित ७-८ प्रतिशत एडिनो भाइरस कारक हुने अनुसन्धानहरुले देखाउँदछ। 


एडिनो भाइरस नेपालमा नियमित परीक्षणअन्तर्गत पर्दैन। तसर्थ लक्षणको आधारमा अनुमान गर्नु पर्ने हुन्छ। तर एडिनो भाइरसको लक्षण रुघाखोकी (फ्लू भाइरससँग पनि) धेरै मिल्दो जुल्दो हुनाले छुट्याउन भने सहज छैन। त्यस्तै कोरोना संक्रमणले एडिनो भाइरसको अनुमानमा थप चुनौती थपिदिएको छ। यी दुई भाइरसको सर्ने तरिकामा पनि धेरै समानताहरु पाइन्छ।कोरोना भाइरस ओमिक्रोन भेरियन्टअन्तर्गतका उपप्रजाति र ती उपप्रजातिहरुका पनि थप म्यूटेड भाइरसहरु भएको र ओमिक्रोन भेरियन्ट आफैंमा रुघाखोकीको जस्तो लक्षणसहित विकसित भएकोले पनि एडिनो भाइरससँग छुट्याउन सहज हुने छैन।अर्थात् भाइरस फरक, तर लक्षणहरु मिल्दोजुल्दो देखिनेछ।


नाकबाट पानी (सिंगान) बग्नु, ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु आदि एडिनो भाइरसको मुख्य लक्षणहरु हुन्। धेरैले बहिरंग विभागबाट नै उपचार वा परामर्श लिएर स्वास्थ्यलाभ गर्न सक्दछन्। तर कतिपयमा भने निमोनिया जस्तो जटिलता पनि देखिने गर्दछ। निमोनिया बाहेक शरीरका अरु अंगहरुमा पनि जटिलताहरु देखिन सक्नेछ। आँखा रातो हुने अर्थात् ‘पिंक अथवा रेड आइज’ एडिनो भाइरसमा देखिने मुख्य चिन्हहरु मध्यमा पर्दछ। सबै  ‘पिंक अथवा रेड आइज’ भएकाहरु एडिनो भाइरस संक्रमित नै हुनुपर्छ भन्ने त होइन, तर केही दिन अगाडि परीक्षण गरिएका धेरै नमूनामा एडिनो भाइरस पुष्टि भएकोले हाल ‘पिंक अथवा रेड आइज’ देखिएकाहरुमा एडिनो भाइरसको संक्रमण अनुमान गर्न भने सकिनेछ। यद्यपि नमूना परीक्षणबाट मात्र अन्तिम पुष्टि गर्न सकिनेछ। 


एडिनो भाइरस आफैंमा नौलो भाइरस भने होइन। एडिनो भाइरस र ओमिक्रोन भेरिएन्ट अन्तर्गतका उपप्रजाति र ती उपप्रजातिहरुका पनि थप म्यूटेड भाइरसहरुका लक्षणहरु एक अर्कासंग धेरै हदसम्म मिल्दो जुल्दो हुने हुदा संक्रमितमा देखिने ‘पिंक आइज वा रेड आइज’ ले यी २ भाइरसमा फरक छुट्याउन केही हदसम्म सहयोगी हुनेछ। 

कमेन्ट गर्नुहोस्