
तिलोत्तमा सिटी । बैशाष १० गते । पुस्तक पढ्ने र लेख्नेहरुको उत्सव अर्थात ’विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस’ आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १९९५ अप्रिल २३ तारिखका दिनदेखि हरेक वर्ष विश्वमा विभिन्न कार्यक्रमको आयोजना गरि विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइने गरिन्छ । विश्व पुस्तक दिवस कार्यक्रमको अपनत्व युनेस्कोले लिँदै आएको छ । विशेष गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न पुस्तक दिवस मनाउन लागिएको हो । लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा भएकाले आजको दिनलाई विश्व पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवसको रुपमा पनि मनाइन्छ । विश्वप्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको जन्मजयन्ती तथा स्मृति दिवसको मौका पारेर युनेस्कोले अप्रिल २३ का दिन नै यो दिवस मनाउने निर्णय गरेको हो । पुस्तक दिवसको प्रचलन स्पेनबाट सुरु भएको हो । नेपालमा पनि पछिल्ला केही वर्ष यता विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइने गरिन्छ । पुस्तक दिवसकै अवसर पारेर साथीसंगीबीच पुस्तक उपहार दिने चलन पनि नेपालमा बढ्दै गएको छ ।
कमेन्ट गर्नुहोस्