
तिलोत्तमा,२०७९ फागुन २६। प्रधानाध्यापकहरू विद्यालयमा भन्दा राजनीति र अन्य गतिविधिमा सक्रिय भएको भन्दै रुपन्देहीको ओमसतिया गाउँपालिकाले प्रधानाध्यापकहरूको काज सरुवा गर्ने भएको छ । प्रधानाध्यापकहरू राजनीतिलगायतका अन्य गतिविधिमा सक्रिय बन्दा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा कमी आएपछि प्रधानाध्यापकहरूको काज सरुवा गर्ने निर्णयमा पुगेको गाउँपालिकाका अध्यक्ष मन्जितकुमार यादव सोनुले बताउनुभयो । पालिकाले शिक्षकलाई सेवा सुविधा उपलव्ध गराएपछि शिक्षकले पनि आफ्नो तर्फबाट राम्रो गर्नुपर्ने उहाँले बताउनुभयाे ।
‘नतिजा राम्रो नल्याउने र राजनीतिमा सक्रिय विद्यालयका प्रधानाध्यापकहरूलाई आउँदाे शैक्षिक सत्रमा पालिकाभित्रकै अन्य विद्यालयमा काज सरुवा गर्दैछाैँ’, गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले भन्नुभयो । उहाँले राजनीति वा पेसा एउटा रोज्न प्रधानाध्यापकसँग आग्रह गर्नुभयो ।ओमसतिया गाउँपालिकामा १६ वटा सामुदायिक, १४ वटा संस्थागत र पाँच वटा धार्मिक विद्यालय रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्