
निर्धा सूर्य भए चिसो छ बहुतै जाडो बढ्यो बेसरी
आयो यो हिम वेगले भुवनमा सेताम्य पार्ने गरी
टाढाबाट चली रहेछ नमिठो हावा खुबै जब्बर
कालो मेघ मडारियो गजबले भो धुम्म यो अम्बर १
पौधा पुष्प लुला भए तरु लता सौन्दर्यको दोहन
फोस्रो लाग्दछ जिन्दगी अवनिमा फोस्रो भयो यो मन
तातो खोज्छ शरीर यो हरघडी जाडो बढेको हुँदा
बाला वृद्ध युवा सबै सहजले छन् झुम्मिने तापमा २
पस्छन् कोकिल झाङ भित्र डरले अत्यन्त जाडो हुँदा
खोज्छन् हॉंस सुगा चिवे ढुकुरले न्याना कुना कन्दरा
पर्दा हुस्सु नदेखिने मनुजका छाप्रा कटेराहरू
टाढा बन्न पुगे सरी हुन गयो आफ्नै छिमेकीहरू ३
ताता वस्त्र लगाउँदा गजबले मात्रै छ तात्ने तन
तातो झोल चिया कफी जल पिई आनन्द बन्ने मन
गर्मी ठीक थियो चिसो र ननिको जाडो भयो कक्रिने
रोगी बालक वृद्ध खातिर चिसो जाडो नआए हुने ४
छन्द- शार्दूलविक्रीडित
कमेन्ट गर्नुहोस्