
तिलोत्तमा, २८ मंसिर २०७९। विश्व पर्यटनको केन्द्र लुम्बिनी घुम्न आउने पर्यटकको बसाईको अवधि बढाउन सके मात्रै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को अवसरमा भैरहवामा आज बुधबार आयोजित पर्यटन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले त्यस्तो बताएका हुन् । लुम्बिनी प्रेस क्लबको संयोजन तथा सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा भएको उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भन्नुभयो, ‘लुम्बिनी घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाई लम्बाउन पर्यटन सम्बद्र्ध सबै पक्ष र स्थानीय व्यक्तिहरुले समेत सहकार्य गरेर अगाडि बढ्न जरुरी छ ।’
कोषाध्यक्ष भट्टराईले भारतीय पर्यटक अथवा स्थल मार्गको प्रयोग गरेर भारतबाट नेपाल आउने तेस्रो मुलुकका पर्यटकको भ्रमण प्याकेज बनाउने काममा नेपाली पर्यटन व्यवसायी पनि सक्रियता पुर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘लुम्बिनी घुम्न आउने पर्यटकको भ्रमण प्याकेज सबै भारतीय पर्यटन व्यवसायीले बनाउछन् अनि उनीहरुले दिनभर घुमाएर साँझ उतै भारत तर्फ फर्काउने प्याकेज बनाउँछन् । यसैले लुम्बिनीको बसाई लम्बाउने गरी नेपाली पर्यटन व्यवसायीले भ्रमण प्याकेज अन्तराष्ट्रिय बजारमा लैजानु जरुरी छ । ’
होटल एशोसियन नेपालका केन्द्रिय सदस्य सिपी श्रेष्ठले पर्यटकको बसाई लम्बाउन सबैभन्दा पहिले सरकारी नीति नै सच्चाउन पर्ने भन्दै सुशासन सहित सबैले काम गरेमा पर्यटकहरु खुसी हुने, उनीहरु खुसी भए खर्च धेरै गर्ने र बसाई पनि लम्बाउने बताउनुभयो ।नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले पर्यटन क्षेत्रकोलागि सबैको सहकार्य र एकता जरुरी रहेको बताउनुभयो । कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिस्म प्रसाद न्यौपानेले पर्यटन प्रबद्र्धनकोलागि सरकारले पुर्वाधार बनाउने र निजी क्षेत्रले सहकार्य गरेर पर्यटकलाई सेवा दिने काम गर्ने बताउनुभयो ।
पर्यटनबीद डा. हरिध्वज राईले लुम्बिनी आउने पर्यटकको बसाई लम्बाउन नसक्दा सम्म लाखौ पर्यटक आए, लाखौं पर्यटक गए भनेर प्रचार गर्नुको खासै अर्थ नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘लुक्लामा एकजना पर्यटन व्यवसायीले मासिक १७।१८ लाख आम्दानी गरिरहनुभएको छ । त्यहाँ पर्यटकको सङ्ख्या कम भएता पनि गुणस्तरीय पर्यटक पुगेका छन् । तर हामीकहाँ एक दिन पनि नबस्ने भीड छ । त्यसले पर्यटन प्रबद्र्धनमा उल्लेख्य सहयोग गर्दैन ।’
डा. राईले गुणस्तरीय पर्यटक सङ्ख्यामा वृद्धि गर्न सबैको सहकार्य जरुरी रहेको समेत बताउनुभयो । उहाँले गुणस्तरीय पर्यटक भन्नाले धेरै लामो समय बस्ने, खर्च बढी गर्ने, वातवरण मैत्री पर्यटक रहेको समेत बताउनुभयो ।उक्त अन्तरक्रिया कार्यक्रममा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका निमित्त प्रमुख सुभाष झाले अन्तर्राष्ट्रिय जहाजको लागि फुलफेजमा उडान गर्ने गरी विमानस्थल तयार भएको बताउनुभयो । उहाँले सबै एअरलायन्सले उडान भर्ने वातवरण सृजना गर्न सबैको सहकार्य जरुरी रहेको बताउनुभयो । कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले पर्यटन व्यवसाय एक्लै गरेर नहँुने बताउँदै सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
अन्तरक्रियामा अध्यागमन कार्यालय बेलहियाका प्रमुख बासुदेव पौडेल, पर्यटनको लागि पत्रकारहरुको संस्था गोल्डेन ट्रयाङ्गलका संयोजक दिपेन्द्र बडुवाल, पर्यटन व्यवसायी चन्द्र बहादुर थापा, सन्जय बजिमय लगायतले बोल्दै पर्यटन क्षेत्रको विकाससँगै मुलुकको आर्थिक विकास हुने हुँदा गुणात्मक पर्यटकको बसाई लम्बाउन सबैको सहकार्य हुनुपर्ने बताउनुभयो ।
कमेन्ट गर्नुहोस्