
तिलोत्तमा, १५ मंसिर २०७९। ३५ औं एड्स दिवस ओमसतिया गाउँपालिकामा बिहिबार बिभिन्न कार्यक्रम गरि मनाईएको छ । “एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्याऔ” भन्ने मूल नारा सहित पालिकाले अन्र्तक्रिया कार्यक्रम गरेको छ ।कार्यक्रममा बोल्ने वक्ताहरुले अहिले पनि एचआईभी एड्सको जोखिम रहेकोले यसबाट सचेतना अपनाउनु पर्ने बताए । एड्सबाट जोगिने मूख्य उपाय नै यसको चेकजाँच रहेकोले यसको चेकजाँचलाई अनिवार्य बनाईनु पर्ने साकार समूहका गोपाल बन्जाडेले बताए । उनले बिभिन्न बिधिबाट एचआईभी एड्स फैलिने गरेको बताउदै एउटै सिरिन्जले आगु औषध प्रयोग गर्नेहरु यसको अधिक जोखिममा रहेको बताए । यसर्थ यसको रोकथामको लागि जोखिमयुक्त ब्यवहारहरु छोड्नु पर्ने बन्जाडेको भनाई थियो ।
ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले एचआईभी एड्स बारे अहिले पनि समाजमा खुला रुपमा कुरा गर्न त्यति सहज मान्ने गरिएको अवश्था नरहेको बताए । “केही बर्ष पहिले एड्सलाई पनि भयानक रोगको रुपमा लिइएको थियो । सन्चो नहुने र गलत क्रियाकलापको कारण हुने रोगको बारेमा यसलाइ प्रचार गरिएको थियो ।” यादवले भने “तर अब एचआईभी एड्स को बिषयमा काम गर्ने धेरै संघ संस्थाहरु भै सकेका छन ।”सचेतनाकै कारण अहिले पनि एड्स बारे मानिसहरु खुलेर बोल्न नसकेको र अब यस बारे खुल्ला बहस हुन जरुरी रहेको उनले औल्याए । ओमसतिया गाउपालिकामा पनि एचआईभी एड्स संक्रमीत हरु रहेको तथ्यांकहरुले देखाएको बताउदै उनले यहाँ पनि एड्स बारे सचेतना आवश्यक रहेको बताए । यस बारे गाउपालिका कार्यालय गम्भीर रहेको र पहल पनि गरिरहेको यादवको भनाई थियो ।
ओमसतिया गाउँपालिकाको आयोजना तथा आस्था समूहको प्राविधिक सहयोगमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा ठूठिपिपल स्वास्थ्य चौकीका प्रमुख केशव पराजुली, पडसरी स्वास्थ्य चौकीका प्रमुख नेत्र न्यौपाने, अनमी कविता रेग्मी, ओमसतिया गाउँपालिकाको राजस्व शाखा प्रमुख अमृता पाण्डे, शिक्षा शाखा प्रमुख हरि पोखरेलले बोलेका थिए । कार्यक्रमको सहजीकरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले गरेका थिए ।कार्यक्रममा गाउँपालिका अध्यक्ष सहित ४० जनाको एचआईभी परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले जानकारी दिए । परिक्षणमा सबैको नतिजा नेगेटिभ आएको उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्