लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

५ वर्षभन्दा पुराना मुद्दा हेर्न छुट्टै इजलास गठन गरिन्छ : कामु प्रधानन्यायाधीश कार्की

tillotmacitynews - 2022 Nov 11 08:23 PM
IMG

तिलोत्तमा, २०७९ कार्तिक २५ गते। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गर्ने बताउनुभएको छ ।नेपाल कानुन व्यवसायी परिषद्ले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले १३ वर्षदेखिको मुद्दाको चाङ न्यायालयमा रहेको उल्लेख गर्दै त्यसलाई सम्पादन गरेर पीडितलाई न्याय दिन त्याे व्यवस्था गर्न लागिएको बताउनुभयाे । उहाँले पुराना मुद्दालाई सल्टाउनका लागि आफूले त्यसलाई स्थगितको सूचीमा नपर्ने गरी आवश्यक व्यवस्था मिलाएको पनि बताउनुभयो । पुराना मुद्दालाई स्थगित नगरि प्राथमिकताका साथ अघि बढाउन कानुन व्यवसायीहरूलाई उहाँकाे आग्रह छ । 


उहाँले भन्नुभयो, ‘अहिले न्यायालयको सुधारको दिशामा हामी केही प्रयासहरू अगाडि बढाइराखेका छौँ । हामीलाई सबैभन्दा ठूलो समस्या भनेको मुद्दाको सङ्ख्या नै हो । १०, १२, १३ वर्षदेखिका मुद्दा सर्वोच्च अदालतमा छन् । धेरैले न्याय नपाउने, रोदन क्रन्दन गरेर फर्कने खालको अवस्था हामीसँग छ । यो अवस्थालाई राेक्न हामीले पाँच वर्षभन्दा पुराना मुद्दालाई अभियानमा राख्ने, त्यसका लागि छुट्टै इजलास गठन गर्ने र अभियानमा परेका मुद्दा स्थगितको सूचीमा नपर्ने सुनिश्चित गर्ने कुरा गरेका छौँ ’


कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोज्नेहरूलाई निष्तेज पार्ने काममा नेपाल बारले खेल्दै आएको भूमिकाको प्रशंसासमेत गर्नुभयो । न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजिएको इतिहास स्मरण गराउँदै उहाँले त्यसलाई जोगाउनका लागि नेपाल बारले खम्बाको रूपमा काम गरेको बताउनुभयो । बार र बेन्चकाे सहकार्यमा मात्रै न्यायालयलाई उचाइमा पुर्‍याउन सकिने पनि उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्