लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘मासुसँगै सागसब्जी तथा फलफूल पनि खाऔँ’

tillotmacitynews - 2022 Nov 05 11:37 PM
IMG

डा.मनसा थापा ठकुराठी,काठमाडौँ। हामी विशेषगरी अरु परिकारभन्दा पनि बढी मासुमै केन्द्रित हुन्छौँ । तर पहिले-पहिले धेरै मासु खाँदा पनि समस्या हुने थिएन । हाम्रा पुर्खाहरू यस्ता कुरा सजिलै पचाउँथे । त्यतिबेलाको हावापनी तथा खानेकुराको गुणस्तरले पनि पचाउन मद्धत गरेको हुनुपर्छ। हामी खसीको मासु बढी खान्छौँ जुन रातो मासु हो । मासु चाहिनेभन्दा बढी सेवन गऱ्यो भने त्यसका असर पछि देखिन सक्छ ।


एक त रातो मासुमा चिल्लो हुन्छ, त्यसमाथि पकाउँदा तेलको मात्रा बढी, मसला र नुनको प्रयोग बढी हुन्छ । चिल्लो बढी भएपछि रगतको नसामा गएर चिल्लो जम्मा हुन्छ अनि साधारण उच्च रक्तचाप भएको व्यक्तिलाई पनि रक्तचाप बढ्न जान्छ । मुटुरोग तथा मधुमेह भएको व्यक्तिलाई झनै गाह्रो बनाउँछ । स्वास्थ्य व्यक्तिलाई पनि चाहिनेभन्दा बढी मासुको सेवन गरेपछि पचाउन गाह्रो भएर पेटसम्बन्धी विभिन्न समस्याहरू देखिन सक्छन् । हाम्रो भान्सामा मासुको बढी प्रयोग हुने भएकाले मासु खानेहरुले त्यो सँगै सागसब्जी र फलफूल पनि खाँदा भोजन सन्तुुलित हुन्छ। किनभने सागसब्जी तथा फलफूलबाट फाइबर भन्ने रेसा हुन्छ । मासु खाएपछि हाम्रो शरीरमा भएको चिल्लोलाई रेसायुक्त खानेकुराले सटक्क बेरेर शरीरदेखि बाहिर फ्याँक्न मद्दत गर्छ । अनि शरीरमा जम्मा हुने चिल्लोको मात्रा घट्छ र चिल्लोले त्यति धेरै असर गर्न पाउँदैन । मासुमा रेसा हुँदैन र त्यसलाई सन्तुलित गर्नका निम्ति सागसब्जी तथा फलफूल खानुपर्छ ।


हाम्रो भान्सामा मासुसँगै काँक्रो तथा मूलाको अचार पनि खाने चलन छ । अचार रायोको दाना मिसाएर बनाएको हुन्छ । रायोको दानाले मासु पचाउन सजिलो हुन्छ । त्यसैगरी अचारको अमिलोले चिल्लो काट्न वा घटाउन धेरै हदसम्म मद्दत गर्छ र मासु पचाउन सजिलो हुन्छ । मासुसँगै कलेजो, फोक्सोको भुटन खाने चलन पनि छ । त्यसलाई एकदम भुटेर, डढाएर खाने चलन छ । त्यसरी कालो बनाउँदा बढी कार्बन उत्पन्न हुन्छ । कार्बनले हाम्रो शरीरमा क्यान्सरजन्य वस्तुको बढावा दिन्छ, जसले गर्दा शरीरलाई खराब गर्छ । त्यसैले रातो मासुको भित्री आँसहरू धेरै खानु हुँदैन । यसले कोलोस्ट्रोललाई बढाइदिन्छ । त्यसैले यसरी खानेकुरा सन्तुलनमा ल्याउनका लागि खाने मात्र होइन, पकाउने तरिकामा पनि परिवर्तन गर्नुपर्छ ।


पकाउँदा नुन, तेल तथा मसालालाई अत्यधिक मात्रामा हाल्न कम गर्नुपऱ्यो । त्यसैगरी खानेबानीमा पनि परिवर्तन गर्नुपर्छ । अरु बेला एकछाक मासु पनि दैनिक नखाने नेपालीहरू दसैंमा हेर छाकैपिच्छे मासु खाइरहेका हुन्छन् । घरमा मासु नै मासु खाने अनि कसैकोमा पाहुना लाग्दा पनि मासु । त्यसरी खानु भनेको शरीरका लागि चाहिनेभन्दा बढी हो ।


मासुको परिकार सजिलै पच्दैन; त्यसलाई पच्न समय लाग्छ । पच्नका निम्ति शरीरलाई मेहनत गर्नुपर्छ । खानलाई जति मेहेनत गर्नुपर्दैन शरीरलाई त्योभन्दा बढी मेहनत पचाउनका लागि गर्नुपर्ने हुन्छ । सादा खानालगायत कार्बोहाइड्रेट तथा क्यालोरी भएका खानेकुरा पच्न कम्तीमा २ देखि ३ घण्टा लाग्छ तर मासुमा चिल्लो तथा बोसो बढी हुने भएकाले त्यसलाई पच्न झन्डै ४ घण्टा लाग्न सक्छ । त्यसैले त हामीलाई मासु खाएको दिन लामो समयसम्म अघाएको आभास हुन्छ ।


मासु गरिष्ठ खाना हो । त्यो खाएपछि शरीरलाई पचाउन समय लाग्छ ।छाकैपिच्छे दिनभरि मासु खाने त्यसमाथि गुलियो चिसो पेयपदार्थ र मदिरापन । यी सबै चिज मिलेपछि शरीरलाई नराम्रो अवश्य नै गर्छ । मासु हामीले धेरै खायौँ भने यसले हामीलाई खान्छ । १३०० को मासु खाएर १३ हजारको औषधि उपचार गर्नुपऱ्यो भने के हुन्छ ? त्यसैले सन्तुलित भोजन आवश्यक छ । हाम्रो भान्सामा धेरै मासुकै परिकारमा मात्रै नरमाऔँ । सागसब्जी तथा हरिया सलादहरू पनि खाऔँ । केही नखाए पनि हाम्रो परम्पराअनुसार काँक्रा तथा मुलाको अचार खान सकिन्छ त्यसले पनि केही हदसम्म पचाउन मद्दत गर्छ र शरीरभित्र बोसो र चिल्लो जम्न दिँदैन ।


अहिले पो प्रायः सबैजसो घरमा फ्रिज हुन्छ, त्यसमा स्टोर गरेर राखिन्छ । हाम्रो समयमा दसैंको बेलामा मौसम पनि चिसो हुन्थ्यो र पकाएको परिकार यत्तिकै राखिन्थ्यो । भोलिपल्ट राम्ररी तताएर खाँदा त्यसले स्वास्थ्यमा असर गरेको त्यति पाएको छैन । तर अहिले जलवायु परिवर्तनले धेरै फरक पारेको छ । अहिले पनि गर्मी नै छ । फ्रिजमा मासुलाई राख्दा कसरी राख्ने र कसरी झिकेर खाने तरिका थाहा पाउन आवश्यक छ ।


एक छाकमा खान पुग्नेलाई निकालेर खाने र तताउने गर्नका लागि छुटाछुट्टै भाडामा राख्दा राम्रो हुन्छ । स्टोर गरकेो मासु सबै बाहिर निकाल्ने र पकाएर फेरि राख्ने गर्नुहुँदैन । फ्रिजबाट बाहिर २० मिनेटभन्दा बढी राख्यो भने मासुमा सूक्ष्मजीवी बढ्न सक्छ । त्यसैले जति खाने हो त्यति मात्र झिकेर तताएर ३–४ दिनसम्म खान सकिन्छ । त्योभन्दा बढी दिनसम्म राखेर खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन ।


मासुलाई ढिक्कै पारेर थुप्रै राख्ने र सबै निकालेर फेरि तताउने र आधा नतताएको मासु फेरि फ्रिजभित्र हाल्ने गर्दा बाहिर कोठाको तापक्रममा एक्सपोज हुँदा कोठाको ताफक्रमले सूक्ष्मजीवीलाई बढाइदिन्छ र त्यो फ्रिजमै राखे पनि खान योग्य नहुन सक्छ ।


चिसो मौसम छ भने कसैले बाहिर कोठाको तापक्रममा नै मासु राख्छ भने त्यसलाई राम्ररी छोपेर राख्नुपर्छ; त्यसमा सांग्ला पस्नुभएन; मुसाले मुख गाड्नुभएन । त्यो भयो भने दूषित हुन्छ । संक्रमित मासु तताएर खाँदा मान्छे बिरामी हुन सक्छ । हप्तौं तथा महिनौंसम्म तताएर खानेलाई पेटसम्बन्धी रोग, जस्तैः झाडापखाला, टाइफायड हुन सक्छ । मासु खाएपछि पानी राम्ररी खानुपऱ्यो र सकेसम्म सागसब्जी तथा फलफूल छुटाउनुभएन ।


मासु पकाउन तेल प्रयोग गर्दा पनि ध्यान दिनुपर्छ । सस्तो तेलमा बढी मिसावट हुन सक्छ । मिसावटको तेलले शरीरलाई खराब गर्छ । मुटुरोगी तथा रक्तचाप बढी भएकालाई झन् खराब गर्छ । पकाउँदा पनि मरमसाला तथा नुनको प्रयोग कम गरौँ । खाँदा पनि आफूले अड्कलेर आफ्नो शरीरले पचाउन सक्ने गरी मात्र खाऔँ । शुभ दसैं ।


(वरिष्ठ पोषणविद डा ठकुराठीसँग बुनु थारुले गरेको कुराकानी)

कमेन्ट गर्नुहोस्