लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही–१ मा एमालेबाटै छबिलाल र बागी घनश्यामको प्रतिष्पर्धा

IMG

तिलोत्तमा, २०७९ असोज २३ गते। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा विर्नाचनका लागि आइतबार मनोनयन दर्ता भएको छ । यस पटकको निर्वाचनमा रुपन्देहीमा रोचक प्रतिष्पर्धा हुने देखिएको छ । रुपन्देही क्षेत्र नम्बर १ मा एउटै राजनीतिक पृष्ठभूमि बोकेर आएका दुई नेता बीचको प्रतिष्पर्धा थप रोचक हुने भएको छ। नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छबिलाल विश्वकर्मा र एमाले परित्याग गरी सत्तारुढ दलहरुको समर्थनमा उम्मेदवारी दर्ता गराएका घनश्याम भुसाल बीचको प्रतिष्पर्धा कडा हुने देखिएको छ ।


देवदह नगरपालिकासहित रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, र ६ यस निर्वाचन क्षेत्र अन्तरगत रहेको छ । नम्र र मिजासिलो बोली तथा व्यवहारले परिचित एमाले नेता विश्वकर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत समर्थन पाउने भएका छन् भने मार्क्सवादी अध्ययताको परिचय बनाएका सत्तारुढ दलतर्फका उम्मेदवार भुसालले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत ५ दलको सहयोग प्राप्त गर्ने छन् ।


२०७४ सालमा यहाँबाट नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री विश्वकर्माले नै नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गरेका थिए । २०७० सालको निर्वाचनमा भने अब्दुल रज्जाकले तीनै विश्वकर्मालाई पराजित गरेका थिए । माओवादी केन्द्रको समेत सहयोगमा उम्मेद्वार बनेका विश्वकर्माले ३४ हजार ७५२ मत ल्याएर निर्वाचित भएका थिए। नेपाली कांगेसका रज्जाकले २६ हजार ८८५ मत पाउँदा संघीय समाजवादी फोरमका विद्याप्रसाद यादवले १२ हजार ७६४ मत पाएका थिए ।


आफ्नै जनाधारमाथि यस क्षेत्रमा बलियो पकड बनाउँदे लगेको राप्रपाको साथ पाउनुका साथै तत्कालिन माओवादी नेता दधिराम न्यौपाने पनि एमालेमै रहेका कारण बलियो स्थितीमा रहेको विश्वकर्मा पक्षको दाबी छ । यसैगरी पछिल्लो समय मधेशवादी दल विभाजन भई बनेको जनता समाजवादीको समेत समर्थन हुनुले विश्वकर्माका लागि निर्वाचन सहज भएको उनी निकट नेताहरुको दाबी छ । यता एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरेका भुसालले भने आफ्ना व्यक्तिगत सिमित मतसहित अन्य दलको भरमा जितको अपेक्षा गरेका हुन् ।


सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस नै भुसाललाई सहयोग गरे भरपर्दो दल रहेको बताइएको छ । नेपाली काँग्रेससँगै दोस्रोमा रहेको नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादी पार्टीको मतले जित हासिल गर्न सकिने उनी निकटस्थहरुको दावी छ । यद्यपी यस क्षेत्रमा एमाले–माओवादी एकतापछि बनेको नेकपा विभाजनपछि माओवादीको जनमत खस्कँदो रहेको तथा एकीकृत समाजवादीको समेत राम्रो मत नभएका कारण भुसालका लागि भर पर्नुपर्ने अन्तिम दल नै नेपाली काँग्रेस हो ।

कमेन्ट गर्नुहोस्