
तिलोत्तमा सिटी , २०७९असोज ११। बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ ।बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो ।
एशोशिएशन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) इन्टरनेशनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न निर्णय गरेको हो ।आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ (साविक वडा नं. ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को स्थापना गरिएको थियो । ५० शय्याबाट सुरु भएको उक्त अस्पताल हाल सय शय्यामा सञ्चालन गरिएको छ ।
अस्पतालका अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई ३ सय बेडको बनाउने र विशिष्टिकृत सेवा प्रवाह गर्ने निर्णय गरेको बताए ।अस्पतालको स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिका, आम्दा र बुटवल उद्योग वाणिज्य संघले पहल गर्ने गरी समझदारी भएको उनले बताए । उनले महिला र बालबालिकाको स्वास्थ्य उपचारमा सबै खालका सुविधासहितको अस्पतालका रुपमा स्तरोन्नति गर्ने बताए ।
समझदारीका क्रममा आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामीले आम्दाले बुटवलमा अस्पताल स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने बताए । उनले अस्पतालमा बेड थप गर्ने मात्रै नभई अन्य सुविधा थप गर्ने गरी त्रिपक्षीय सहकार्य हुने पनि बताए ।आम्दा नेपालका अध्यक्ष डा. अनिलकुमार दासले आम्दाले बुटवलको अस्पताललाई स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने र श्रोत तय गर्नका लागि भूमिका निर्वाह गर्ने बताए ।
अस्पतालको अर्को साझेदार संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले अस्पताल स्तरोन्नति गर्न आवश्यक रहेको र संघले पर्याप्त भूमिका निर्वाह गर्ने बताए । उनले अस्पतालको स्तरोन्नति भएपछि बुटवल क्षेत्रमा एउटा विशिष्टीकृत सेवा भएको स्तरीय अस्पताल हुने बताए ।यस्तै, आम्दा इन्टरनेशनलका अध्यक्ष सुगानामीलाई बुटवल उपमहानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।
आम्दाका अध्यक्ष सुगानामी, आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, पूर्व अध्यक्षहरू डा. सरोज ओझा, डा. दिनेश पोखरेल तथा आम्दा इन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी र आम्दा नेपालका प्रमुख प्रशासकीय अधिकृत सुदेश रेग्मीसहितको टोलीलाई उपमहानगरपालिकाले सम्मान गरेको हो ।सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आम्दा इन्टरनेशनलसँगको सहकार्यमा बुटवलमा देशकै स्तरीय अस्पताल बनाउने गरी काम हुने बताए ।
आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामीले बुटवलले अस्पताललाई स्तरोन्नति गर्ने राम्रो अवसर पाएको र त्यसको सदुपयोग गर्न लागेकोमा खुशी व्यक्त गरे ।आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासले आम्दा नेपालले बुटवललाई विशेष प्राथमिकतामा राखेको र बुटवलले अन्यत्रका अस्पताल भन्दा राम्रो अस्पताल स्थापना गर्न लागेकोमा सहकार्यका लागि तयार रहेको बताए ।
कमेन्ट गर्नुहोस्