लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देवदहमा १० शय्याको नगर अस्पताल सञ्चालन

tillotmacitynews - 2022 Sep 26 10:59 PM
IMG

तिलोत्तमा सिटी , २०७९असोज १०।  देवदह नगरपालिकाले १० शय्याको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर नगर अस्पताल सञ्चालन गरिएको हो ।नगर अस्पतालको नयां भवन भने निर्माणाधीन छ । नगर अस्पतालको सोमबार नगर प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरेका छन् । अस्पताल उद्घाटन गर्दै नगर प्रमुख खरेलले चुनावी प्रतिवद्धता अनुसार आफूले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए ।सबै नगरवासीलाई आधारभूत स्वास्थ्य उपचार सहजरुपमा उपलब्ध गराउन ५ वर्षभित्र सबै नगरबासीको स्वास्थ्य बीमा गरी पूर्ण स्वास्थ्य बीमायुक्त नगर घोषणा गर्ने योजना रहेको उनले बताए । स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने नगर प्रमुखले घोषणा गरे ।स्वास्थ्य कार्यालय भैरहवाका प्रमुख गौरव ढकालले देवदह नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाका १६ पालिकामध्ये तेस्रो स्थानमा रहेको बताउँदै नगर अस्पताल सञ्चालन सँगै स्वास्थ्य सेवा थप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।


स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक साउदले नगर अस्पतालमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिने र यसले ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने बताए ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले संविधानले स्वास्थ्य उपचारलाई मौलिक हकको रुपमा सुनिश्चित गरेकाले नगर अस्पतालले त्यसको प्रत्याभूति दिने बताए ।नगर अस्पतालमा हाल एकजना मेडिकल अधिकृत, ५ जना नर्स, ५ जना पारामेडिक्स, २ जना ल्याब टेक्निसियनले सेवा दिने छन् भने निकट भविष्यमै एकजना मेडिकल अधिकृत थप गरिने अस्पतालका प्रमुख डा. डिल्लेश्वर श्रेष्ठले बताए ।अस्पततालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रसुति, भिडियो एक्सरे, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध हुने श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्