
तिलोत्तमा सिटी , २०७९असोज १०। बुटवल उपमहानगरपालिकाको निमन्त्रणामा आम्दा ईन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामी रूपन्देही आउनुभएको छ । अध्यक्ष सुगानामीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका अध्यक्षसमेत रहनुभएका प्रमुख पाण्डेयले आम्दा ईन्टरनेशनलले स्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले बुटवलले आम्दासँग निरन्तर सहकार्य गर्न चाहेको र बुटवलको अस्पताललाई स्तरोन्नति गर्ने योजनामा रहेको बताउनुभयो । आम्दाका अध्यक्ष सुगानामीले बुटवलसँगको सहकार्य निरन्तर अघि बढाउन ईच्छुक रहेको बताउनुभयो ।
सुगानामीको नेतृत्वमा रहेको टोलीमा आम्दा नेपालका अध्यक्ष डा अनिल कुमार दास, पूर्व अध्यक्षहरू डा। सरोज ओझा, डा। दिनेश विनोद पोखरेल तथा आम्दा ईन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी र आम्दा नेपालका प्रमुख प्रशासकीय अधिकृत सुदेश रेग्मी रहनुभएको छ ।करीब ७ वर्षपछि बुटवल आउनुभएका अध्यक्ष सुगानामी सोमबार लुम्बिनीमा रहने, मंगलबार लुम्बिनी भ्रमण गर्ने र मंगलबार नै बुटवल उपमहानगरपालिकासँग छलफल कार्यक्रम रहेको आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र बस्यालले जानकारी दिनुभयो । उहाँले बुटवल उद्योग वाणिज्य संघ, आम्दा अस्पतालको अवलोकन गर्ने र छलफल गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
कमेन्ट गर्नुहोस्