लुम्बिनीमा २७४४ मा डेंगु संक्रमण, ३ जनाको मृत्यु
तिलोत्तमा सिटी , २०७९ असोज ६। लुम्बिनी प्रदेशमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने दुई हजार ७४४ जना संक्रमित भएका छन् ।लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट साउन यता तीनजनाको मृत्यु भएको हो ।पाल्पाको रिब्दिकोट गाउँपालिका-१ का ख्याहाका ५८ वर्षीय पुरूष, दाङको घोराही उपमहानगरपालिका-१४ का ४० वर्षीया महिला र बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट मृत्यु भएको छ ।प्रदेश निर्देशनालयका अनुसार दाङमा ११ सय ८०, रूपन्देहीमा ७ सय, अर्घाखाँची १३८, गुल्मीमा २९२, पाल्पामा ९८, नवलपरासी पश्चिममा ६२, बाँकेमा ४४, कपिलवस्तुमा ४९, बर्दियामा ८६, प्युठानमा ३६, रूकुम पूर्वमा १६, रोल्पामा ७ र प्युठानमा ३६ जना संक्रमित भेटिएका छन् । डेंगु संक्रमितको मृत्युुदर १ प्रतिशत भन्दा कम रहेको मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिए।
भदौमा एक्कासी संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक लगायतका अस्पतालमा डेंगु संक्रमितको चाप बढेको उनले बताए ।बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको प्रवक्ता पौडेलले बताए । गत साउन मसान्तसम्म करिब सय जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा भदौमा मात्र २२ सयभन्दा बढी संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए ।रूपन्देहीमा पहिलो पटक २०६७/६८ मा २९० जनामा देखिएको डेंगुको संक्रमण २०७६/७७ मा महामारीकै रूपमा फैलिएर दुई हजार ९३० जनामा देखिएको थियो ।मन्त्रालयका सचिव डा. विकास देवकोटाले अझै २ महिनासम्म डेंगुको प्रकोप रहने अनुमान गरिएको बताए ।
कमेन्ट गर्नुहोस्