
संस्कृतमा ‘जीवित पुत्रीका’, हिन्दीमा जियतिया र नेपालमा तराईबासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् । यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्टमी तिथिको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने गर्छन् । महिलाहरू ‘निर्जला’ अर्थात् पानी समेत सेवन नगरीकन २४ घण्टासम्म भगवान ‘जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।
व्रतकथा
एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो । उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा बलुहटा नाम गरेको एउटा मरुभूमि पनि थियो । त्यही किनारमा एउटा पाखरको रुख थियो, जसमा पोथी चील चरा बस्थी । जसको रुखमुनि पोथी स्यालको बास थियो । उनीहरू दुवै साथी–साथी भए । एकदिन गाउँका अरु महिलाहरूले जस्तै उनीहरूले पनि भगवान जीतमहान गोँसाईको निर्जल व्रत बस्ने निर्णय गरे ।
तर संयोगवश त्यसै दिन उनीहरू बस्ने मरुभूमिको छेउस्थित शहरको धनी ब्यापारीको छोरालाई ल्याएर गाडियो । चीलले अरु महिलाहरू झैं व्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवन गर्ने तीव्र इच्छा दबाउन नसकेर व्रत तोड्न पुग्दछे । अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि ब्राह्मण परिवारमा दिदी–बहिनीका रूपमा जन्मिन्छन् ।
चील अब शिलवती नामकी व्राह्मण कन्याको रूपमा र उनकी बहिनी अर्थात् स्यालको यस जन्ममा कपुरवती हुन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसँग अनि बहिनी कपुरवतीको विवाह राजा मलायकेतुसँग हुन्छ । शिलवतीको सात जना सुन्दर पुत्रहरू हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनी एकदमै दुखी र निराश हुन्छिन् । शिलवतीका छोराहरूले राजा मलायाकेतु कहाँ काम गर्न थाल्छन् ।
ती केटाहरू आफ्नी दिदीका पुत्रहरू भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकी शिलवतीकी बहिनी कपुरवती रिसले चुरचुर हुन्छिन् । राजालाई भनेर ती सातै जना शिलवती पुत्रहरूको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदी कहाँ पठाउने षडयन्त्र गर्छिन् । तर यो कुरा भगवान जीतमहान गोँसाईले थाहा पाएपछि सातै छोरालाई बचाउनुहुन्छ । ती सातै जना पुत्रहरूलाई अमृत दिएर अमर बनाउँदै उनीहरूको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ। यसरी रातो कपडाले बेरिएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफूलले भरिपूर्ण उपहारको रूपमा परिणत हुन्छ ।
यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदीको घरमा अब छोराहरूको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयभित अनि रुवावासी भइरहेको होला भनी एकजना सेविकालाई बुझ्न पठाउँछिन् । तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयुक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात् कपुरवतीका पतिले पक्कै पनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोच्छन् ।
दिदीको खुशी सहन नसकी अव कपुरवती दिदीको घर पुग्छिन् र आफूले सम्पूर्ण कुरा भनिदिन्छिन् । यसो भन्दै गर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आउँछ, जहाँ उनले चीलको रूपमा भएपनि भगवान जीतमहान गोँसाईको व्रत बसेकी थिइन् । यो प्रसंग शिलवतीले बहिनीलाई भन्छिन् । यो सुनेर बहिनी कपुरवती बेहोस् हुन्छिन्, जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोँसाईको श्रद्धापूर्वक ढंगले आमाहरूले छोराछोरीका रक्षका लागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिआएको छ ।
विशेषतः तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दू रीत अनुसार आज जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यका लागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण हो । अश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म गरी तीन दिनसम्म मनाइने यो पर्वको प्रथम दिनलाई नहाई–खाई अर्थात् एकाबिहानै उठी नजिकको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ । आमाहरूले स्नान गरेर मात्र यस दिन चोखो खानेकुरा सेवन गर्छन् ।
दोश्रो दिन जीवित पुत्रीकाको दिन ‘अष्टमी’ र यस दिनलाई ‘खर दिन’ पनि भनिन्छ । खर भनेको एक प्रकारको घाँस हो र यो तराईका शितल नदीका किनारहरूमा बाक्लै भेटिन्छ । यसलाई विभिन्न धार्मिक सामाजिक कार्य लगायत गाउँतिर घरको छाना छाउन पनि प्रयोग गरिन्छ । तेश्रो दिनलाई पारण भनिन्छ र यस दिन खाना खाइन्छ । तिथि मितिमा तलमाथि परे अथवा एउटै तिथि दुइै दिन परेमा कहिलेकाहीँ आमाहरूले तीन दिनसम्म निर्जल व्रत बस्नुपर्ने पनि हुन्छ ।
त्यसैगरी थारु समुदायमा जितियालाई उत्तिकै महत्वका साथ लिइन्छ । जितियालाई विजय अर्थात् जितका रूपमा लिँदै नवलपरासी अनि चितवनका महिलाहरूले तीन दिनसम्म महत्वका साथ जितिया मनाउँछन् । भगवान विष्णु, शिव र भगवान सूर्यलाई पूजा अर्चना गर्छन् । पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ ।
झ्याम्टा नाच
प्रकृतिको अर्चना पनि थारु समुदायको जितियाको एउटा महत्वपूर्ण पाटो हो । थारु समुदायले जितियामा नाँच्ने नाचलाई ‘झ्याम्टा’ भनिन्छ । यो समुदायले ब्रहमथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुन्छ, जसलाई ‘जतसरी’ भनिन्छ । पिपलको हाङ्गा काटेपछि थारु महिलाहरूले गाउने एउटा अर्को पारम्परिक विशेष गीत छ, जसलाई ‘दारकाटोनी’ भनिन्छ । जितिया पर्वमा खुला आकाशमुनि सम्पूर्ण गीत अनि नृत्य प्रदर्शन गर्ने गरिन्छ ।
थारु समुदायमा पिपलको हाङ्गा काटेर अनि धानका बिरुवाहरू उखेलेर गाउँको बीचमा गाईको गोबरले लिपेर राखिन्छ । यसरी लिपेर तयार पारिएको ठाउँलाई ‘थाट’ भनिन्छ । बहुभाषिक अनि बहुसंस्कृतियुक्त हाम्रो देश नेपालमा जितिया पर्वले धेरै समुदाय, भाषा अनि संस्कृति मान्नेहरूलाई एकै थलोमा भेला पार्छ ।
अझ विशेष रूपले नेपालको मिथिलाञ्चलमा एकदमै प्रचलित यो पर्वको विशेष परिकारको आकर्षण भनेको ‘झोर भात’ अर्थात् झोल भनेको तरकारी लगायतका कुराको रस र सामान्य भात अनि ‘नोनीको साग’ र ‘मडुवा’ अर्थात् कोदोको रोटी हो ।
खानेकुराको स्वाद त समय अनि भान्छा अनुसार परिवर्तन हुन सक्ला, तर एउटी आमाको आफ्नो सन्तानप्रतिको माया सदियौंदेखि उत्तिकै पवित्र अनि मातृमिठासले भरिपूर्ण छ । सबै आमाका छोराछोरीको रक्षा होस् । सबै छोराछोरीले आमालाई माया गरुन् । जितियाको प्रसाद अनि आशिषले सम्पूर्ण नेपाली समाजलाई बलियो र एक–आपसी सहकार्यमा मजबूत बनाउन सहयोग गरोस् । जितियाको अपार शुभकामना !
कमेन्ट गर्नुहोस्