लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रशंशा गर्न लायक कोरियाको अभिवादन

tillotmacitynews - 2022 Sep 03 07:17 PM
IMG

प्रणाम,

यहाँहरु सबैलाई शिर झुकाएर साइनो अनुसारको अभिवादन।अभिवादन हाम्रो दैनिक जिवनमा छुट्याउनै नहुने महत्त्वपूर्ण संस्कार हो।अभिवादन भनेको मानिस र मानिस बिचको सम्बन्धलाई सुरुवात गराउने एउटा भर्‍याङ हो।तसर्थ अभिवादनले चारै दिशाको मानिसलाई जोड्ने काम गरेको छ।अर्कोतर्फ "म हजुरलाई  सम्मान गर्दछु है " भन्ने भाव पनि दर्साएको हुन्छ।


सन्सारमा अभिवादन गर्ने तरिका हरेक राष्ट्रको फरक फरक रहेको  भेटिन्छ।फ्रान्समा हात मिलाएर अभिवादन गर्दछन।इस्लाम धर्म मान्नेहरुले अस्लामालिकुम भन्ने गर्दछन।इटालीमा गाला जोडेर, इजरायलमा अँगालो हालेर,अमेरिकामा हात हल्लाएर अभिवादन गरेको पाइन्छ।साथै जापानमा शिर झुकाएर कोन्निचिवा भन्दछन।चिनमा कम्मर सम्म झुकेर "नि हाओ मा" भनी अभिवादन गरेको पाइन्छ।कोरियामा अभिवादन कसरी गरिन्छ?आज कोरियाको अभिवादन गर्ने प्रणाली र प्रकारबाट।


सन १८८२ अगाडिको कोरियामा अभिवादन गर्ने चलन

सन १८८२ सम्म कोरियामा राजाको प्रत्यक्ष शासन थियो।समाज वर्गमा बाँडिएको थियो।तत्कालीन समयमा समाजका मानिसलाई गरिने अभिवादन भनेको तल्लो बर्गले माथिल्लो बर्गलाई गर्ने हो भन्ने मान्यता हावी थियो।तल्लो वर्गले नै माथिल्लो वर्गलाई अभिवादन गर्नु पर्दथ्यो।


सन १८८४ पछि सर्वसाधारणलाई शिक्षाको ढोका खुला,

अभिवादन गर्ने चलनमा बदलाव

सन १८८४ पछि कोरियामा एउटा संविधान बन्यो।यसले राजालाई संविधानको तल राख्न सफल भयो।कानुनले सबै जनतालाई बराबर अधिकार निश्चिति गरायो।सबै जनताले पढन पाउने अधिकार त्यो कानुनमा समेटियो।कोरियामा पाठशालाहरु पनि धमाधम स्थापना हुन थाले।छोरिको लागि पनि पाठशाला खोलियो।सारा बालबालिका पाठशाला गएर शिक्षा आर्जन गर्न थाले।शिक्षाले सबै नागरिकलाई सचेत बनाउन थाल्यो।शिक्षाको ज्योतिले सबैको चेतनामा हरियाली छाउन थाल्यो।शिक्षाले नै उच्च वर्ग र तल्लो वर्ग भन्ने रुढीबादी प्रणालीलाई निमिट्यान्न पारिदियो।एउटा आदर्श समाजको स्थापना भयो।


सन १९४५ पछि त माध्यमिक तहसम्मको शिक्षा  हरेक बालबालिकाले अनिवार्य पास गर्नै पर्ने कानुन नै बन्यो।यदि कुनै अभिभावकले आफ्ना सन्तानलाई पाठशाला नपठाएमा अभिभावक कारागार जानुपर्ने  र नगद जरिवानाको समेत कानुन बन्यो।यसरी कोरियाका अभिभावक सचेत भए भने  बालबालिका शिष्टचारी बन्न पुगे।यो देशमा पनि हाम्रो देशमा जस्तै भगवान,मातापिता,शिक्षक,राष्ट्रको शासकलाई उच्च कोटीको दर्जा र सम्मान दिईएको छ।बाँकी समाजमा उमेरमा सानोले ठुलोलाई अभिवादन गर्नु पर्छ भन्ने मान्यता स्थापित भएको छ।कुनै भेदभाव छैन।यो देशमा पनि हाम्रो देशमा जस्तै हरेक बालबालिकालाई सबैभन्दा पहिला अभिवादन गर्न सिकाइन्छ।अझै अहिले त अभिवादन भनेको जतिसक्दो आफुले पहिला गरेको राम्रो हो भन्ने मान्यता यो देशमा स्थापित भएको छ।बाटोमा हिँड्ने मानिस भेटे भने पनि शिर झुकाएर अगाडि बढ्छन।आज कोरियामा एउटा समताको समाज निर्माण भएको छ।


अभिवादन कसरी गरिन्छ त?

कोरियामा गरिने अभिवादनको प्रकार

कोरियामा अभिवादन साधरणतया दुई प्रकारका छन।एउटा उभिएर शिर झुकाएर गर्ने अभिवादन।अर्को घुँडा टेकेर गर्ने अभिवादन।उभिएर गर्ने अभिवादनलाई" ख्यङने " भनिन्छ।घुँडा टेकेर गर्ने अभिवादनलाई "छल"भनिन्छ।ई अभिवादन कसरी र कसलाई र कहिले गरिन्छ त?


शिर झुकाएर गर्ने अभिवादन  (खुन ख्यङने)

यो अभिवादन मातापिता,गुरु,शिक्षक तथा सासू ससुरा,मान्यजनलाई भेट्दा पैंतालीस डिग्री झुकेर गरिन्छ।यसमा अभिवादन गर्दा दुबै हात पेट्मा राखेर गरिन्छ।जसमा केटिले दाहिने हात माथी पार्नुपर्छ भने केटाले देब्री हात माथि पार्नु पर्दछ।बाँकी आफूभन्दा उमेर बढी भएकोलाई तीस डिग्रीसम्म झुकेर अभिवादन गरिन्छ।हामिले गरेको अभिवादनलाई स्विकार्दै मान्यजनले आफ्नो शिरलाई थोरै झुकाएर आशीर्वाद दिनुहुन्छ।एक हातले सलाम गर्ने अभिवादन पनि हुन्छ।यो अभिवादन सुरक्षाकर्मी सैनिक,प्रहरी तथा बसका ड्राइभरले मात्र गर्ने गर्दछन।बाटोमा हिँड्दा,झम्काभेट हुँदा  बसमा यात्रा गर्दा साधरण तरिकाले थोरै शिर झुकाएर गरे पुग्छ।शौचालयमा भेट्दा अभिवादन गरिँदैन।


साष्टाङ्ग  प्रणाम (छल)

कोरियामा पनि साष्टाङ्ग प्रणाम गरिन्छ।यो अभिवादनमा साना साना कुरामा ध्यान दिनु पर्दछ।यो विशेष चाडपर्वमा आफ्ना पितृहरु, मातापिता,शिक्षक, सासु ससुरालाई गरिन्छ।यसमा पनि पहिला दुई हात खप्ट्याएर पेटमा टाँस्ने,देब्रे हातको चार वटा औंला बाहिर पार्ने,बुढी औंला भित्र पर्ने। त्यसपछि अभिवादन ग्रहण गर्ने बसेका मान्यजनको अगाडि भुईँमा घुँडा टेकेर पेटमा जोडेको हात बिस्तारै अगाडि सारेर आफ्नो निधारमा लगेर जोड्नु पर्दछ।घुँडा टेक्दा पछाडी गएको पैताला पनि ध्यान दिनुपर्दछ। 


दाहिने पैताला देब्रे पैताला माथी खप्ट्याउनु पर्दछ।यसरी साष्टाङ्ग प्रणाम गरिन्छ।अनि अगाडि बस्नु भएको मान्यजनले आशिर्वाद दिनुहुन्छ।आशीर्वाद दिएपछी अनुशासित तरिकाले पहिला जसरी घुँडा टेकिएको थियो,सोही अनुरुपमा उठ्नु पर्दछ।छोरी,बुहारिले पुरुषले जस्तो जमिनमा पुग्नु पर्दैन।आफ्नो हात निधारमै राखेर पन्ध्र डिग्री जति झुकेर गरे पुग्छ।


हजुरलाई भेट्न पाउँदा खुसी लाग्यो(फान्काब सुम्निदा )

कोरिया भाषामा हजुरलाई भेट्न पाउँदा खुसी लाग्यो भन्नुपर्दा फानकाब सुम्निदा भनिन्छ।जसमा फान भनेको भगवान हुन्छ।फानको आधारभूत शब्द फानगाप्ता भएकोले "हजुर भगवान जस्तै हुनुहुन्छ" भन्ने अर्थ लाग्छ।यसले एकाअर्कालाई उर्जा प्रदान गरेको हुन्छ भनिएको छ।


हार्दिक धन्यवाद (गोमाब सुम्निदा)

हामी सबैमा कृतज्ञताको भाव छ।हामीलाई कसैले सहयोग गरेवापत हार्दिक धन्यवाद भन्न कहिल्यै भुल्दैनौ।ईनिहरुमा पनि यो संस्कार जिवित छ।अनि हार्दिक धन्यवाद भन्दा गोमाब सुम्निदा भन्दछन।जसमा "गोमा" भनेको धर्तिको देवी भन्ने अर्थ लाग्छ।हजुर साक्षात देवी जस्तै हुनुहुन्छ।म आभारी छु।शिर झुकाउँछु भन्ने सन्देश प्रवाह गरेको हुन्छ भनिएको छ।


हाम्रो देश नेपालमा

सानालाई प्रेम र ठुलालाई सम्मानको नजरले हेर्नू पर्दछ भन्ने मान्यता हामी नेपालिको रगतमा दौडिरहेको छ।हाम्रो सनतान पद्धतिमा अभिवादन कति प्रकारका छन त?नेपाल संस्कृत कालिका विधापिठ नवलपरासीका प्राचार्य,पुजनीय गुरु डा.मोतिप्रसाद ढकाल भन्नुहुन्छ "हामीले हाम्रा पुर्वीय दर्शन र यसका मान्यता जान्न जरुरी हुन्छ।हामिले हाम्रो पहिचानलाई गुमाएर बाहिरबाट आएको पहिचानमा लागेमा आफ्नो स्थाई अस्तित्व बचाईरहन सक्दैनौ।अनुवादित अभिवादन "गूड"बाट सुरु हुने अभिवादन अनुशरण गर्नु हुँदैन।हाम्रो सनातन पद्धतिको अभिवादन बिधि पालना गर्न जरुरी हुन्छ।वहाँले अगाडि थप्दै भन्नू हुन्छ।


हाम्रो अभिवादनमा " नमस्ते,नमस्कार" ई दुई अभिवादन बरिस्ठ र कनिष्ठ दुबैलाई गर्नु हुँदैन।"नमस ते" ई दुई शब्द मिलेर नमस्ते बनेको छ।नम: शब्दको अर्थ झुक्नु वा शिर झुकाउनु हो।भने ते शब्दको अर्थ " तिम्रा लागि"भन्ने हुन्छ।आफ्ना मान्यजनलाई तिमी भन्नू आफू भन्दा सानालाई नम:भनेर शिर झुकाउनु उपर्युक्त हुँदैन।समान तहका सहपाठी र सहकर्मी साथिहरुका बिचमा मात्र नमस्ते,नमस्कार शब्दको प्रयोग गर्नु उपयुुक्त हुन्छ।शास्टङ दण्दवत प्रणाम देवी, देवता,मातापिता,तथा गुरुजनलाई गरिन्छ।प्रणामको बारेमा वहाँले अगाडि भन्नुहुन्छ।


प्रणाम

"प्रणाम अभिवादन भित्र आठ वटा अभिवादन लुकेका छन।हाम्रो शरिरको आठवटा अंगहरु छाती, शिर, आँखा,मन,वचन,दुबै हात,दुबै खुट्टा ,दुबै घुँडा ई आठ अङ्ग द्वारा गरिने अभिवादन नै प्रणाम हुन।यसरी मान्यजनलाई प्रणाम गर्दा राजा होस या जनता जोसुकैको अहंकार जरैदेखि हटेर जान्छ।तसर्थ मातापिता,गुरुलाई चरण स्पर्श गरि झुकेर गरिने ढोग,मान्यजनलाई गरिने प्रणाम,समान स्तरका लागि नमस्कार,नमस्ते,आफुभन्दा सानालाई  शुभाशिष,भाग्यमानी भए,जय होस भनेर भनिन्छ।समय विषेशका लागि हाम्रो वैदिक सनातन पद्धतिमा कुनै विशेष अभिवादनको पृथक व्यवस्था गरिएको छैन।तसर्थ बिहान,मध्यान्ह,सांझ,वा रात जुन सुकै समयमा पनि वैदिक सनातन पद्धतिमा व्यवस्थित चार अभिवादन लाई आत्मसात गर्नु पर्छ भनेर भन्नुहुन्छ"


हामीले पनि बिदेशी पद्धतिको अभिवादन अबलम्बन नगरी वैदिक सनातन पद्धतिमा आधारित अभिवादन मात्र गर्न सकौं।हाम्रा बालबालिकालाई धेरै सिकाउन सकौं।हाम्रो देशको भाषा,संस्कृति,अभिवादन,इतिहास जोगाईरहन सकौं।हामी सबैको कल्याण होस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि बिदेशीन नपरोस।

- विक्रम थापा (हाल दक्षिण कोरिया)

कमेन्ट गर्नुहोस्