लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डा. भगवानको पुस्तक ‘हृदय’ आउँदै, मूल्‍य २५ हजार

tillotmacitynews - 2022 Aug 30 08:10 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ १४ गते २०७९। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाद्वारा लिखित पुस्तक ‘हृदय’ को विशेष संस्करण बजारमा आउने भएको छ ।डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको हो ।उनले सात प्रदेशमा सात स्याटेलाइट सेन्टरसहित काठमाडौंमा बहुविशिष्टिकृत बाल अस्पताल खोल्दैछन् ।कोइरालाको यही लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउने उद्देश्यले प्रकाशक फाइनप्रिन्टले उनको पुस्तक ‘हृदय’को विशेष संस्करण बजारमा ल्याउने भएको हो ।


२५ भदौंमा ‘हृदय’ विशेष संस्करणको लोकार्पण हुँदै छ । विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण भएको छ, जसको अङ्कित मूल्य २५,००० (पच्चीस हजार) रहेको छ ।विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्नेछन् । यद्यपि, विशेष संस्करण निस्किएको एक सातापछि अर्थात् असोजको पहिलो सातादेखि पुस्तकको नियमित संस्करण पनि अङ्कित मूल्य ५७५ रुपैयाँमा पाठकका निम्ति उपलब्ध हुनेछ ।नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व किओचलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेका छन् ।विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रकम प्रकाशकले आफ्नो लागत र लेखकले लेखकस्व केही नकटाई सीधै हस्पिटललाई हस्तान्तरण गर्ने जनाइएको छ ।


‘उपचार गरेका बच्चाहरूको अरू स्वास्थ्य जटिलता र समयमा उपचार नपाएको कारण मृत्यु हुँदा जुन पीडा भोगेँ, त्यसकै कारण अस्पतालको अवधारणा बनाएको हुँ,’ डा. कोइरालाले भने,‘अस्पतालले समतामूलक सेवामा जोड दिएको छ । पैसा तिर्न नसक्नेले निःशुल्क उपचार सेवा पाउँछन् ।’हाल काठमाडौंमा त्यस्तो विशिष्टीकृत हस्पिटल ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) का रूपमा निर्माणाधीन छ । त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । यस्ता अस्पताल सातै प्रदेशमा विस्तार गर्ने कोइरालाको लक्ष्य छ ।

कमेन्ट गर्नुहोस्