लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कुकुरको आत्मकथा खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’को आवरण सार्वजनिक

tillotmacitynews - 2022 Aug 30 08:06 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ १४ गते २०७९।  लेखक एवं अभिनेता खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’को आवरण सार्वजनिक भएको छ । फेसबुक लाइभमार्फत उनले सोमबार आवरण सार्वजनिक गरेका हुन् ।लेखकको रुपमा परिचय बनाएका उनले पहिलो उपन्यास ल्याउन लागेका हुन् । यो पुस्तकले कुकुर र मान्छेबीचको सम्बन्धको कथा भन्छ ।‘वास्तवमा यो कुकुरको आत्मकथा हो । फुर्के नामक गरेको कुकुरले मान्छेलाई कसरी हेर्छ भन्ने कथावस्तु यसमा छ,’ खगेन्द्रले अनलाइनखबरसँग भने, ‘मानिसको सबैभन्दा नजिकको साथी र संवेदनशील प्राणी कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका कथाहरूलाई उसकै भाषामा उपन्यास फुर्केमा प्रस्तुत गर्ने कोशिश गरेको छु ।’


चार वर्षअघि यो उपन्यास लेखन थालेका खगेन्द्रले कोरोनाकालमै यसलाई मूर्त रुप दिएका थिए । ‘फिल्ममा लागेपछि लेखनमा सुस्तता आएको थियो । फिल्म पानीफोटो रिलिज भएपछि फुर्सदमा भएकाले यतिबेलै उपन्यास ल्याउनुपर्छ भन्ने लाग्यो,’ उनले भने ।तर पुस्तकलाई फिल्म आकारमा ल्याउनेबारेमा अहिल्यै नसोचिएको उनले स्पष्ट पारे ।‘फुर्के’ उपन्यासलाई बुकहिलले प्रकाशन गर्ने भएको छ । ‘संसारमा बढी पढिने मान्छेबाहेकका आख्यानमा कुकुरको कथा रहेको तथा कुकुरको विषयमा बनाइएका सिनेमाहरू सर्वाधिक रुचाइएको पाइन्छ । खगेन्द्र लामिछानेको यो उपन्यासलाई पनि पाठकले मन पराउनेमा हामी विश्वस्त छौं,’ बुकहिलले वक्तव्यमा भनेको छ ।


हार्डव्याक संस्करणमा मात्रै प्रकाशन हुने उपन्यासले कुकुरको सचित्र कथा भन्नेछ । उपन्यासको आवरण स्केच समित श्रेष्ठ, आवरण डिजाइन सचिन यगोल श्रेष्ठ र लेआउट उमेश काफ्लेले गरेका हुन् ।बालबालिकादेखि जुनसुकै उमेरका मानिसले पढ्न मिल्ने उपन्यासको मूल्य ५०० रुपैयाँ राखिएको छ । विशेष कार्यक्रमको आयोजना गरी उपन्यास भदौ अन्तिम साता सार्वजनिक गरिनेछ ।यसअघि खगेन्द्र लामिछानेका ’फूलानी’ कथा संग्रह र ‘खगेन्द्र लामिछानेका नाटक’ पुस्तक प्रकाशित छन् । उनीद्वारा लिखित, अभिनित तथा निर्देशित फिल्म ‘पानीफोटो’ अघिल्लो महिना प्रदर्शन भएको थियो ।

कमेन्ट गर्नुहोस्