लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा सरसफाइ र लार्भा नष्ट गर्ने अभियान

tillotmacitynews - 2022 Aug 22 08:19 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ ६ गते २०७९।  तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखिकरण कार्यक्रम गरिएको छ। तिलोत्तमामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने उद्देश्यका साथ अभिमूखिकरण कार्यक्रम गरिएको हो ।वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवाहरुलाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान सञ्चालन गर्ने उद्देश्यले अभिमूखिकरण कार्यक्रम गरिएको वडाअध्यक्ष फर्सुराम गिरीले जानकारी दिए । उनले यसका लागि टोली नै परिचालित गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइने बताए । कार्यक्रममा डा. कृष्ण खरालले डेंगु रोगको वारेमा अभिमुखीकरण गरेका थिए । उनले डेंगु रोगको ईतिहास अहिलेको अबस्था र बच्ने उपायका बारेमा जानकारी गराए ।


कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १ का निवर्तमान वडाअध्यक्ष तामनाथ पाण्डेले डेंगुको संक्रमण बढ्दै गएकाले सावधानी र सचेतना अपनाउन आग्रह गर्दे सम्भाबित क्षेत्रमा अभियान चलाउनुपर्ने बताए । उनले जोखिम क्षेत्रहरु पहिचाहन गरी खोज र नष्ट र सचेतना अभियान चलाउन आग्रह गरे । कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्रका सिनियर अहेव डिल्लीराज भट्टराई, स्वास्थय संस्था प्रमुखउर्मिला साह लगायतले पनि बोलेका थिए ।


२०६७ सालमा नेपालमा डेंगुको महामारी फैलिएको थियो त्यसबेला रूपन्देहीमा पनि चार जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीको तथ्यांकमा उल्लेख छ । त्यसपछि रूपन्देहीमा प्रत्येक वर्ष साउनदेखि असोजसम्म डेंगुका बिरामी देखिन थालेको स्वास्थ्य कार्यलय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।डेंगु ‘एडिस एजिप्टाई’ जातको लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य रोग हो । यो जुन सुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्न सक्छ । खासगरी कामकोे शिलशिलामा घरबाट धेरै बाहिर निस्कनेमा र बालबच्चामा यसको सम्भावना अलि बढी हुन्छ । बालबच्चाहरूमा विशेष गरी खेल्नका लागि बाहिर जाँदा सर्न सक्छ । यो लामखुट्टेले विशेष गरी विहान र साँझ धेरै टोक्छ । खासगरी डेंगु हुँदा ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरीरमा रातोरातो बिमिरा देखा पर्ने गर्छ ।


डेंगु सार्ने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टे सफा पानीमा बस्छ। घरवरिपरी पानी जमेको ठाउँहरू, घरमा राखेको एयर कन्डिसनको पानी, फूलमा राखेको पानीमा बस्ने भएकाले त्यस्ता ठाउँहरूको पानी हटाउनु पर्छ । साथै घर वरिपरी सफा सुग्घर राख्ने र पानी जम्ने खाल्डाखुल्डी भए पुर्नुपर्छ ।

कमेन्ट गर्नुहोस्