लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हवाई उद्धारपछि गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु

tillotmacitynews - 2022 Aug 22 07:36 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ ६ गते २०७९।  बैतडीको सिगासबाट आज हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बचेको छ । सिगास गाउँपालिका–६, थलाकी २० वर्षीया विन्दु धामीको उद्धारपछि ज्यान बचेको हो ।नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पुर्‍याइएकी विन्दुको ज्यान जोगिएको उहाँका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिए । 


आमा विन्दुको ज्यान जोगिए पनि शिशुको भने मृत्यु भएको छ ।अस्पतालमा शल्यक्रिया गरेपछि विन्दु बाँचे पनि लामो व्यथाका कारण शिशुको गर्भमै मृत्यु भएको शल्यक्रियामा सहभागी चिकित्सकलाई उद्धृत गर्दै दीपेन्द्रले राससलाई बताए । ‘लामो व्यथाले शिशुको गर्भ मै मृत्यु भएको भन्ने चिकित्सक बताएका छन् । मृतक शिशु छोरा रहेछ’, उनले भने ।


आइबारदेखि सुत्केरी व्यथा लागेकी विन्दुको सोमबार मात्रै हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको थियो । समयमा खबर नगरिएकाले शिशुको मृत्यु भएकोप्रति बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुःख व्यक्त गरे । आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि सोमबार उद्धार गरिएको हो ।


आइतबारदेखि सुत्केरी व्यथा लागेकी विन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पुर्‍याउन चार घण्टा बोकेर लैजानुपर्ने सो समयसम्म अत्यधिक रक्तस्राब हुने खतरा रहेकाले सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।

कमेन्ट गर्नुहोस्