
तिलोत्तमा सिटी न्युज, साउन ३० गते २०७९ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित रुपन्देही क्याम्पसमा नि:शुल्क दन्त परीक्षण शिविर हुने भएको छ । डेन्टल होमको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ भैरहवा र रुपन्देही क्याम्पसको संयुक्त आयोजनामा आउँदो साउन १४ गते शनिबार उक्त एकदिने शिविर हुने भएको हो । क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीले सामाजिक उत्तरदायित्व अन्तर्गत दन्त परीक्षण शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले केवल किताबी ज्ञान मात्रै नभएर विद्यार्थीहरुलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन जिम्मेवार बनाउनु पनि क्याम्पसको जिम्मेवारी भएको बताउदै पछिल्लो समय स्वास्थ्यसँग जोडिएका यसप्रकारका शिविरहरुलाई प्राथमिकता दिइएको बताउनुभयो । यसअघि क्याम्पसमा निशुल्क छाला रोग सम्बन्धी स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिसकेको क्याम्पस प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।डेन्टल होमका सञ्चालक तथा प्रमुख डाक्टर लोकराज खनालको प्राविधिक सहयोगमा हुने उक्त शिविरबाट धेरै विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरु लाभान्वित हुने रुपन्देही क्याम्पस हेल्थ डेस्कका प्रमुख नम्रता चौधरीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्