
तिलोत्तमा सिटी न्युज, साउन २८ गते २०७९। लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले दाङको बंगलाचुली गाउँपालिकालाई विभिन्न प्रकारका स्वास्थ्य उपकरण दिएको छ । मन्त्रालयले करिब १६ लाख रुपैयाँ बराबरको डिजिटल स्वास्थ्य उपकरण उपलब्ध गराएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन शुवासले जानकारी दिनुभयो ।अध्यक्ष पुनका अनुसार मन्त्रालयले ऐक्सरे मेसिन एउटा, ईसीजी मेसिन एउटा, प्यासेन्ट मनिटर मेसिन एउटा र यूएसजी मेसिन एउटा गरी जम्मा १५ लाख ८३ हजार ५ सय ३७ रुपैयाँ बराबरको स्वास्थ्य उपकरणहरु गाउँपालिकालाई दिएको हो ।
बंगलाचुली गाउँपालिकाले अहिले १५ शैय्याको अस्पताल निर्माण गरी सञ्चालन गरिसकेको छ । बंगलाचुली गाउँपालिकाका नागरिकलाई पालिका भित्रै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आफूहरुले हरेक प्रयत्न जारी राखेको गाउँपालिका अध्यक्ष तुल्सीराम पुनकाे भनाइ छ । अध्यक्ष पुनले भन्नुभयो, 'मैले स्वाथ्यमन्त्री ज्यूलाई अस्पतालको स्वास्थ्य उपकरणका लागि पहल गरेको थिएँ । उहाँकै सिफारिसमा अहिले सामग्रीहरु मन्त्रालयले गाउँपालिकालाई उपलब्ध गराएको हो ।'
पालिकाले सञ्चालन गरेको अस्पतालबाट हाल प्रसूति सेवा,ओपिडि सेवा, बिरामीलाई आवश्यक पर्ने नि:शुल्क औषधि वितरण जस्ता सेवा प्रदान भइरहेको अस्पतालका प्रमुख सी-अहेव अधिकृत नेवबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल बंगलाचुली अस्पतालको अन्य भौतिक निर्माणका कामहरु पनि धमाधम चलिरहेको छ ।
कमेन्ट गर्नुहोस्