
बिक्रम थापा (हाल दक्षिण कोरिया) / हाम्रो देश नेपाल देवीदेवताको भूमी हो। वैदिक कालदेखी नै गाईलाई महत्त्वपूर्ण जनावरको रुपमा लिईदै आएको देश हो।गौ रक्षक भएकोले हाम्रो देशको नाम गोरखा रहन गएको हो।अर्कोतर्फ हाम्रो देशको मध्य पहाडी क्षेत्रको गोरखामा गुरु गोरखनाथको गुफा रहेको छ।गुरु गोरखनाथको पुजापाठ गर्ने भएकोले हामी गोर्खाली भनि कहलायौं। हामिले राष्ट्र निर्माता भनेर पढिएका श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह पनि यहि गोरखामा जन्मिएका थिए। शाह बंशले खडा गरेको सेनाको टुकडीलाई गोरखा सेना भनेर नामाकरण गरियो।ईनै गोर्खा सेनाले विभिन्न कालखण्डमा बिदेशी सेनासँग लडेर विजय प्राप्त गरेको इतिहास रहेको छ।जसले गर्दा सन्सारका मै हुँ भन्ने विदेशी राष्ट्रहरु पनि थररर कामेको कुरा प्रस्ट हुन आउँछ।सन्सारले गोरखा सेनाको बहादुरीताको महिमा गाएको ईतिहास जति सम्झियो त्यति आनन्द र दिमाग ताजा हुन्छ।हामी गोर्खाली भनेर सन्सारलाई चिनाएको लाहुरेको जिउँदो दस्तावेज के कस्ता छन त?आज यहि हाम्रो गोरखा सेनाको बहादुरीको इतिहासको पन्नाबाट।
विक्रम संवत् १७९९ मा पृथ्वीनारायण शाह गोरखाको राजगद्दीमा बसे।राजा बने लगत्तै राष्ट्र एकीकरण अभियानको आह्वान गरे।पृथ्वीनारायण शाह स्वयं अनि उनको गोरखा पल्टन लिएर एकीकरण अभियानको श्री गणेश गरे।विक्रम संवत् १८१९ मा सेन राजाको मकवानपुर राज्यलाई विजय प्राप्त गरे।यो विजयले विदेशी सेनासँग भिडन्तको बिउ रोपियो।
गोर्खाली सेनाले विदेशी सेनासँग लडेको पहिलो युद्ध मकवानपुर (मुस्लिम सेनासँग सन १७६३)
विक्रम संवत १८१९ को समयमा बङ्गालमा मुस्लिम शासक नवाब मिर्कासिम भन्नेले शासन गर्दथे।उनले पनि खजनाले भरिएको हाम्रो देश नेपाल कब्जा गर्ने भित्री इच्छा राख्दथे।मकवानपुर आएको गोरखा सेनालाई परास्त गरेर देशलाई नै कब्जामा लिने दाउपेचमा थिए।सोही अनुसार उनको सेनापति गुरासिन खान दुई हजार भन्दा बढि फौज लिएर मकवानपुरको हर्नागढी आइपुग्यो।त्याहाँ गोरखा सेना र मुस्लिम सेनाबिच घमासान युद्ध भयो।हाम्रो गोरखा सेनाले मुस्लिम शासकको सेनालाई आफ्नो खुकुरीले केराको थम्बा छप्काए झैँ छपछप गिँडीदिए।गोरखा सेनाको विदेशी सेनासँगको यो लडाइँ इतिहासमा पहिलो विजय प्राप्तको पाना बन्न पुग्यो।
अर्कोतर्फ ,
त्यो समय बेलायती इस्ट इन्डिया कम्पनी पनि भारतको राज्यहरु कब्जा गर्दै बङ्गाल आइसकेको थियो।उसलाई पनि नेपालको धान खेती उत्पादन हुने तराईलाई हात पार्दै पुरै नेपाल कब्जा गर्ने लालसा थियो।बेलायती सेनाले पनि तुरुन्त युद्ध गर्ने र नेपाल कब्जा गर्ने योजना बनायो।
गोरखाली सेनाको दोस्रो युद्ध बेलायती सेनासँग (सन १७६७)
विक्रम संवत् १८२४ को असौज महिनामा बेलायती सेनाको कप्तान किनलोक आफ्ना पच्चीस सय फौज लिएर सिन्धुलीको पौवागढी आइपुग्यो।गोर्खाली सेना युद्धको मैदानमा उत्रिए र अंग्रेज सेनासँग डटेर सामना गरे।अंग्रेज सेनाहरुलाई गोर्खाली सेनाले चिलले कुखुरो गाँजे झैँ छोपेर मारिदिए।सन्सारको इतिहासमा कसैसँग नहारेको बेलायत हाम्रो गोरखा सेनासँग हार खान पुग्यो।अंग्रेजको यो हार सन १९०४ मा रसिया र जापानको युद्ध हुँदा सानो देश जापानले शक्तिशाली रसियालाई हराएको लज्जास्पद हार जस्तै मध्यको एक हार थियो।
विक्रम संवत् १८२५ मा पृथ्वीनारायण शाह र गोर्खाली सेनाले कान्तिपुर राज्यमा विजय प्राप्त गरे।कान्तिपुर राज्यको सिंहासनमा बसेर पृथ्वीनारायण शाहले नव नेपालको स्थापना गरे।साथै राजधानी काठमाडौलाई बनाए।विक्रम संवत् १८३१ मा पृथ्वीनारायण शाहको देहावसान भयो।त्यसपछि पनि एकीकरण अभियान उनका पुत्रहरु,बुहारी हुँदै नाति रण बहादुर शाह,प्रधानमन्त्री भिमसेन थापाको कालसम्म पुग्यो।यो अभियान विक्रम संवत १७९९ देखी,विक्रम संवत् १८६६ सम्म सतसट्ठी वर्ष चल्यो।जसले हाम्रो देश पुर्वमा टिस्टादेखी पश्चिममा सतलजसम्मको विशाल नेपालको निर्माण गरायो।
अंग्रेजसँग दोस्रो भिडन्त ,भिडन्तको कारक टुक्रे पाल्पा राज्य नेपालमा विलय(सन१८०६)
विक्रम संवत् १८६३ मा सेन राजाको पाल्पा राज्य नेपालमा विलयसँगै यसको मातहतमा भएका नवलपरासी,रुपन्देही, कपिलवस्तु नेपाल देशमा गाभिए।यस्तो भएपछी दक्षिण गोरखपुरमा बसेको इस्ट इन्डिया कम्पनीले नेपालप्रति आपत्ति जनायो।बुटवलबाट माथिको पहाड मात्र नेपालको भएको समथर भूभाग बुटवल सहित इस्ट इन्डिया कम्पनीको हुनुपर्ने भनी झुटो दाबी गर्यो।विक्रम संवत् १८७१ मा बेलायती सेनाहरु शिवराज क्षेत्र र बुटवलमा आएर चौकीहरु स्थापना गर्ने प्रयास गरे।अंग्रेजको यो मिचाहा प्रवृत्ति गोरखाली सेनालाई पटक्कै मन परेन।यहाँपनी गोर्खा सेनाले अंग्रेजहरुको सर्वनाश गरिदिए।अंग्रेजहरुको हार मानेर गोरखपुर गएर बस्न बाध्य भए।
नेपाल र अंग्रेजको भीषण युद्धको घोषणा,
"कायर हुनुभन्दा मर्नु राम्रो"भन्ने महान वाणीको जन्म।(सन १८१४)
गोर्खाली सेनालाई कतै पनि हराउन नसकेपछी नेपालसँग विधिवत रुपमा युद्ध नै गर्ने घोषणा गर्यो।विक्रम संवत १८७१ कार्तिक १५ गते तत्कालीन समयको हाम्रो उत्तराखण्ड, हिमान्चलदेखि नेपाल अंग्रेज युद्धको सुरुवात भयो।गोर्खाली सेनाले डटेर सामना गरे।हजारौ अंग्रेजी सेन हताहत भए।यो युद्धमा नेपाल र गोर्खा सेनालाई पनि आहत पुग्यो।देउथल किल्लामा तैनाथ सरदार भक्ती थापा र वहाँको सेनाले अंग्रेजसँग डटेर सामना गरे।यो पटक भने अंग्रेजहरुसँग भएको आधुनिक हतियारले गर्दा हाम्रो गोरखा सेनालाई हम्मेहम्मे पर्यो। सोही समय सेनापति भक्ती थापाले "कायर हुनुभन्दा मर्नु राम्रो"भन्ने वाणी उच्चारण गरेर खुकुरीको भरमा अंग्रेजसँग युद्धमा बहादुरी देखाएका थिए।उनी आज राष्ट्रिय विभूतीको रुपमा सम्मानित छन।गोर्खालीको बहादुरीता र खुकुरीदेखि डराएको अंग्रेजले फेरि युद्ध हार्ने संकेत देख्यो।अंग्रेजको स्थिति भयावह र प्रतिकूल हुन थाल्यो।अनि युद्ध हारेर सन्सारसँग शिर झुकाउनु भन्दा गोर्खालीसँग सन्धि गरेर शिर झुकाउनु राम्रो ठान्यो र युद्ध समाप्ति गरेर शान्ती सम्झौता गर्ने बाटो रोझ्यो।
गोर्खालीहरु बेलायती सेनामा भर्ती हुन पाउने दिनको सुरुवात (मलाऊँको सन्धि सन १८१५ )
अंग्रेज सेनापति अक्टर लोनी र गोर्खा सेनापती अमरसिंह थापाबिच युद्धविरामको सन्धि भयो।साथसाथै सोही समय अंग्रेजले गोर्खालीलाई आफ्नो सेनामा सामेल गराउने प्रस्ताव पनि सेनापति अमरसिंह थापा समक्ष राखे।सन १८१५ मे १५ तदनुसार विक्रम संवत १८७२ जेष्ठ १ गते अमरसिंह थापाले प्रस्ताव स्वीकार गरेर हस्ताक्षर गरिदिए।यसरी गोर्खाली बेलायती सेनामा भर्ती हुन जाने दिनको सुरुवात भयो।देहरादुनको सुबाथु भन्ने ठाउँमा अंग्रेजले नेपाली सेनाको फस्ट गोर्खा राइफल(न्युसेरी बटालियन)भनेर स्थापना गर्न सफल भए।देश एकीकरणको अभियानमा पुर्वमा टिस्टा पुगेर पस्चिममा सतलज सम्मको भूभाग जितेर विशाल नेपाल बनाएका थिए।तर हाम्रा पुर्खाहरु उतैबाट बेलायती सेनामा भर्ती भएर भारत जाने प्रक्रिया सुरुवात भयो।
गोरखालीको वीरगाथा दुई सदी,बेलायत र भारतमा लाहुरे हुने प्रक्रिया जारी नै,यो नटुङ्गिने एक यात्रा जस्तै
विक्रम संवत् १८७२ सालमा अंग्रेजले हाम्रा पुर्खाहरु लाहुरेको रुपमा भारतमा लिएर गयो।हामी नेपालिका पुर्खाहरुकै कारण अंग्रेजले भारतमा अरु थप एक सय तीस वर्ष भारतलाई गुलाम बनाएर राज गर्न सफल भयो।सन १९१४ मा पहिलो विश्वयुद्ध भयो।यो युद्धमा हाम्रो पुर्खाहरु गोर्खा पल्टनको नामले युद्ध लडे।हजारौ गोर्खाली बिदेशी भूमिमा ज्यान गुमाए।हाम्रा पुर्खाहरुले लडेर जितेको त्यो विश्वयुद्ध बेलायतलाई बिजय बनाइदिएको युद्ध थियो।सन १९३९ मा दोस्रो विश्वयुद्ध भयो।यो युद्धमा पनि सबैभन्दा बढी भाग लिने र मृत्यु हुनेको संख्या हाम्रै नेपाली पुर्खाहरुको थियो।यो युद्ध को जित पनि बेलायत कै पोल्टामा गयो।हाम्रा पुर्खाहरुको बलिदानले बेलायत शक्तिशाली बनेर देखा पर्यो।हाम्रा पुर्खाहरुको मृत शरिरको सट्टामा भिक्टोरिया क्रस र पदक प्रदान गरियो।हामी त्यही पदक र तक्माले मन बुझायौं।
सन १९४७ मा बेलायतले भारतलाई स्वतन्त्र गरायो।तत्पश्चात गोर्खाली सेनालाई भागबन्डा गरियो।त्यो समय भारतमा एघारवटा गोर्खा पल्टन भैसकेका थिए।जसमा चार वटा गोर्खा बटालिएन बेलायतले आफैंसँग लिएर बेलायत गयो।बेलायत पुगेका हाम्रा पुर्खाहरुको पल्टनले निरन्तर बेलायतको रक्षा गरिरहे।यो निरन्तरता अहिले पनि यथावत छ।बाँकी सातवटा बटालिएन भारतमा नै रहन पुगे।भारतमा रहेका हाम्रा गोर्खा पुर्खाले निरन्तर भारतमाताको सेवामा लागिरहे।भारतको रक्षामा खटिएका हाम्रा पुर्खाहरुले भारतको तर्फबाट हाम्रै छिमेकी देश चीन,पाकिस्तान जस्ता देशसँग युद्ध गरेर भारतलाई नै मजबुत र शक्तिशाली बनाईरहे।यसको निरन्तरता अहिले पनि जारी छ।
अबको हाम्रो प्रयास,
बिदेशी भूमिमा लाहुरे हुन जान नपरोस भन्नाका खातिर
हिजो लाहुरे बनेर बिदेशी भूमिमा जोजसले ज्यान गुमाएर वीरगति प्राप्त गर्नु भयो।वहाँहरुको सम्झनामा ठाउँठाउँमा "लाहुरे मेमिरियल हल " बनाउनेतिर जोड दिन सकौं।ताकी आउने हरेक नयाँ पिँढीले वीर गोरखालीको गुणगान,सम्मान र प्रसंशा गरिरहुन र बिदेशमा लाहुरे हुन जानू हुँदैन भन्ने चेतना जगाउन सकुन।आज जोजो बेलायत र भारतमा लाहुरेको रुपमा सेवारत हुनुहुन्छ,वहाँहरुको कार्यकाल समाप्ति पश्चात् आफ्नै देशमा फर्केर अझै सम्मानका साथ बस्ने बाताबरण बनाउन तिर हामिले जोड दिन सकौ।वहाँहरुले कमाएर ल्याएको पैसा स्वदेशमा नै लगानी गरेर "एक लाहुरे एक कारखाना"बनाउने तिर जोड दिन सकौं।ताकी लाहुरेको छोरो बिदेशी लाहुरे हैन नेपालकै मालिक बन्न सकुन।नेपालमा धेरै पैसा खर्च गरेर एम.ए.,बी.ए. पढेका हाम्रा भाई,छोराहरु प्रमाणपत्र झोलामा राखेर लाहुरे हुन जान हुँदैन भन्ने चतना फैलाउन सकौं।सबैलाई सम्मान गर्दै कामना गरौँ।अबको हाम्रो नेपालका छोराहरु कोहि पनि लाहुरे हुन जान नपरोस।स्वदेशमा मालिक बन्ने दिन आओस।हामी सबैको कल्याण होस।
कमेन्ट गर्नुहोस्