
तिलोत्तमा सिटी न्युज, साउन २४ गते २०७९।सरकारले ६० वर्षसम्म निजामती कर्मचारीहरुको सेवा अवधि कायम हुने कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती ऐन, २०४९ को संशोधन विधेयकमा ५८ वर्षे सेवा अवधिलाई बढाएर ६० वर्षे बनाउन खोजिएको हो । विधेयकको मस्यौदा सहमतिका लागि अर्थमन्त्रालयमा पठाइएको छ ।अहिले कर्मचारीको उमेरहद ६० वर्ष कायम गरिएको छ । तर कोही कर्मचारी सचिव भएर ५८ वर्ष पुग्नुअघि नै ५ वर्ष पुरा गरेमा अनिवार्य अवकाश हुनेछन् । मुख्यसचिवको पदावधि २ वर्षको प्रस्ताव गरिएको छ ।
माथिल्लोबाट तल जान पाउने, तलबाट माथिल्लोमा जान कोटा
समान वा तल्लो तहमा जान पाउने, तर माथिल्लो तहमा आउन नपाउने प्रस्ताव छ । हालको निजामती सेवा ऐनलाई संघीय व्यवस्था अनुकुल बनाउन संशोधन विधेयक प्रस्ताव गरिएको हो ।प्रस्तावित संशोधन विधेयकमा संघीय निजामती सेवामा रहेका स्थायी कर्मचारीलाई प्रदेश वा स्थानीय सेवाको पदमा उम्मेद्वार हुन उमेरको हद नलाग्ने व्यवस्था गरिएको छ । अनि प्रदेश निजामती कर्मचारीलाई स्थानीय सेवामा उम्मेद्वार हुन पनि उमेरहद नलाग्ने प्रस्ताव छ । स्थानीय सेवाका कर्मचारी पनि प्रदेश सेवामा उम्मेद्वार हुन पाउँछन् । उनीहरुले सेवा परिवर्तन गरेमा पुरानो अवधि समेत गणना हुनेछ ।
तर माथिल्लो तहमा आउनका लागि भने कर्मचारीहरुले अन्तर तह प्रतियोगिता भित्रको सीमित कोटामा प्रतिस्पर्धा गर्नुपर्नेछ । विधेयकमा भनिएको छ, ‘अन्तर तह प्रतियोगिताको माध्यमबाट तह परिवर्तनको अवसर प्रदान गर्ने व्यवस्था ।’ अन्तरतह प्रतिस्पर्धामा कुनैपनि तहबाट अर्को तहमा प्रतिस्पर्धा गर्न रोकाबट छैन ।
कमेन्ट गर्नुहोस्