
तिलोत्तमा सिटी न्युज, साउन २२ गते २०७९। पछिल्लो एक महिनामा देशैभरि डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको तथ्यांकले देखाउँछ । पछिल्लो केहि दिनयता कोरोना संक्रमितको बढिरहेको ग्राफमा डेंगु पनि सामेल भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) का अनुसार ५९ जिल्लामा ६०४ वटा डेंगुका केसहरू भेटिएका छन् । जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ । रुपन्देहीमा १ सय २३ जना डेंगुका बिरामीहरू पाइएको छ भने धादिङमा ५५, संखुवासभामा ३२, बर्दियामा २१ जना बिरामी देखिएका छन् । गत साल यही अवधिमा ५ सयको हाराहारीमा डेंगु संक्रमण पुष्टि भएका थिए । यसपटक सबैभन्दा बढी डेंगुका बिरामीहरू गएको ३० दिनयता देखिएका छन् । यो महिनामा ३९८ जनामा डेंगु पुष्टि भएको छ ।
सन् २००४ मा डेंगु नेपालमा पहिलो पटक पुष्टि भएको थियो भने सन् २०१९ मा नेपालको इतिहासमै सबैभन्दा लामो अवधि देखिएको, धेरै जिल्लाहरुमा फैलिएर र हजारौं मानिस संक्रमित भएका थिए । डेंगु नेपालमा सामान्यतया मनसुन र अझ विशेषत: पोस्ट मनसुनमा देखिने भए पनि सन् २०१९ मा भने प्रि-मनसुनमा नै देखिएको थियो । बिशेष गरि टाउको र शरीरका मांशपेशीका दुख्ने, वाकवाक लाग्ने/बान्ता हुने, आँखाको गेडी दुख्ने समस्या देखिएमा डेंगु हुने सम्भावना रहन्छ । यस्ता समस्या देखिए तुरुन्त स्वास्थ्यकर्मिको निगरानीमा उपचार गराउनु पर्छ ।
कमेन्ट गर्नुहोस्