लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बालबालिकाको लागि २२ लाख खोप आइतबार आउने

tillotmacitynews - 2022 Jun 16 04:23 PM
IMG

तिलोत्तमा सिटी न्युज, असार २ गते २०७९।  पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप १९ जुन अर्थात आगामी आइतबार नेपाल आइपुग्ने भएको छ ।स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका छ । खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल आइपुगिसकेको चौरासियाले जानकारी दिए ।‘खोपलाई भण्डारण गरेर राखिदैन । खोप आउने बित्तिकै विमानस्थलबाट वितरण गछौं,’ चौरासियाले भने,’ असारको ८-९ बाट नै बालबालिकालाई खोप लगाउन सुरु गरिनेछ ।’नेपालले कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज निःशुल्क पाएको हो । यसभन्दा अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अरब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।


परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ । पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ ।


महाशाखाका अनुसार देशैभरका विद्यालयमा खोप केन्द्र तोकी खोप कार्यक्रम सञ्चालन हुनेछ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ। अहिलेसम्म लक्षित जनसंख्याको ९६ प्रतिशत बढीले एक मात्रा र ८६ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छन।महाशाखाका अनुसार ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा प्रदेश नं. १ बाट झापा, मोरङ, सुनसरी, मधेश प्रदेशबाट : सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशबाट : काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली जिल्लाबाट खोप पाउनेछन् । त्यसैगरी, लुम्बिनी प्रदेशबाट पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया, कर्णाली प्रदेशबाट सुर्खेत तथा सुदूरपश्चिम प्रदेशबाट कैलाली, कञ्चनपुर र डडेल्धुरामा खोप कार्यक्रम सञ्चालन गरिने छ ।

कमेन्ट गर्नुहोस्