लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनआन्दोलन र त्यसको प्राप्ती

tillotmacitynews - 2022 Jun 13 11:01 PM
IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ ३० गते २०७९ ।  जनआन्दोलन भनेको यस्तो चिज हो जसले प्रचलित शासन तथा व्यवस्थालाई ढलाउन मदत गर्दछ।परिवर्तनको बलियो जग बनाउन मद्दत गर्छ।व्यवस्था परिवर्तन तथा स्वतन्त्रताको लागि सन्सारमा यस्ता धेरै जनआन्दोलनहरु भएको इतिहास भेटिन्छ।चाहे अमेरिका स्वतन्त्र हुँदा होस,चाहे फ्रान्सको राजशाही शासन ढालाउँदा होस,चाहे हाम्रो छिमेकी देश भारतले बेलायतबाट स्वतन्त्रता पाउँदा होस,सबै आन्दोलनबाटै सम्भव भएका थिए। दक्षिण कोरियामा पनि विभिन्न कालखण्डमा जनआन्दोलन भएको इतिहास भेटिन्छ।जसमा आजको दिनमा(जून १०) पनि विशाल  जनआन्दोलन भएको थियो।जसले गर्दा  कोरियामा पुनः प्रजातन्त्र स्थापना भएको थियो।अनि त्यही पुनः प्रजातन्त्रले आजको विकसित कोरिया बन्न सकेको हो।प्रस्तुत छ कोरियाको इतिहासको त्यो विशाल जनआन्दोलनको नालीबेली। कोरियाको इतिहासमा घटेको आजको आन्दोलन जान्नभन्दा पहिला कोरियामा घटेका आन्दोलनहरु कोट्याउनु पर्ने हुन्छ। 


सन १८८० को दशकको आन्दोलन

कोरियामा लिखित इतिहासदेखि सन १९२६ सम्म राजाको प्रत्यक्ष शासन थियो।सर्वेसर्वा राजा थिए।राजा भगवानको दूत भन्ने मान्यता थियो।जनतालाई पढ्ने अवसर थिएन।भाईभारदारहरुले चीन,वेलायत गएर फाट्टफुट्ट पढ्न पाउँथे।सन १८८० को दशकमा राजाको शासनलाई प्रश्नचिन्ह खडा गर्ने दरबार भित्रकै दयालु युवाहरु जन्मिए।संवैधानिक राजतन्त्रको माग राखेर पहिलो आन्दोलन सुरुवात गरे।राजाले यसलाई सजिलोसँग कुल्चिए।युवाको आन्दोलन असफल भयो।राजा सर्वेसर्वा नै भए।


सन १९१० देखि सन १९४५ को आन्दोलन 

सन १९१० देखि जापानको शासन रह्यो।जापानले कोरियाका जनतालाई त गुलाम बनाएर राख्यो राख्यो।राजा पनि जापानी साम्राज्यको कठपुतली राजा बन्न पुगे।सन १९१९ मा राजाको अकस्मात मृत्यु भयो।तत्पश्चात कोरियामा राजाको शासन स्वत समाप्त भयो।जनताहरु अब जापानी साशक विरुद्ध आन्दोलन सुरुवात गरे।जनताले सन १९१९ देखि जापानी शासन विरुद्ध आन्दोलन सुरुवात गरे।तर जापानले दमन,अत्याचार गरेरै  कुल्चियो।कोरियाका जनता सन १९४५ सम्म लगातार आन्दोलित रहे।दोस्रो विश्वयुद्ध हुँदा जापानमा अमेरिकाले दुईवटा बम खसाल्यो तत्पश्चात जापानले कोरिया छोड्न बाध्य भयो।कोरियाले  स्वतन्त्रता पायो।


सन १९४५ पछि

जापानले  सन १९४५ मा कोरियालाई स्वतन्त्र गराएर गयो।राजाको शासन जापानीहरु हुँदा नै पतन भैसकेको थियो।तसर्थ देशमा पराधीनबाट स्वतन्त्रता,राजाको शासनबाट प्रजातन्त्र एकैसाथ आएको थियो भन्दा फरक पर्दैन।अब अखण्ड कोरियाका जनताको मझेरिमा घाम झुल्किए।जनताको प्रत्यक्ष शासन आउने पक्का भयो।तर लगत्तै अखण्ड कोरियामा अर्को वज्रपात आइलाग्यो।सन १९४८ मा कोरिया दुई टुक्रामा विभाजन भयो।उत्तर र दक्षिण दुईवटा कोरिया बने।


दक्षिण कोरियामा सन १९४८ पछि 

विभाजनपछि दक्षिण कोरिया लोकतान्त्रिक राज्य घोषित भयो। दक्षिण कोरियाको इतिहासमा पहिलो संविधान बन्यो।नयाँ शासन व्यवस्था आयो।संविधानले सार्वभौमसत्ता जनतामा निहित गरायो।संसदीय प्रणाली लागू भयो।राज्य दलीय व्यवस्थामा परिणत भयो।लगत्तै संविधानसभाको चुनाव भयो।जनताको मतद्वारा चुनिएको कार्यकारी प्रमुख राष्ट्रपति बन्ने प्रावधान बस्यो।एकपटक मात्र राष्ट्रपति हुन पाउने साथै यसको कार्यकाल चार वर्षको बन्यो।इसुङमान भन्ने व्यक्ति कोरियाको पहिलो कार्यकारी राष्ट्रपति बने।जनताले स्वागत गरे।


सन १९५२ पछि 

प्रजातन्त्रमा टेकेर शासन गरेको चार वर्ष नपुग्दै कोरियाका पहिलो राष्ट्रपतिलाई सत्ताको मोह ह्वात्तै बढेछ क्यारे,दोस्रो कार्यकाल पनि आँफैले राज गर्ने योजना बुने।इनले संविधानको धारा संसोधन गरेर भर्खर जन्मेको शिशु लोकतन्त्रलाई निमोठेर निरंकुशतन्त्र लागू गरे।तानाशाह बनेर लगातार बाह्र वर्ष शासन गरे।प्रजातन्त्रको स्वाद चाख्नै नपाई सोझा जनताहरु निरंकुशतन्त्रमा होम्मिनु पर्‍यो।आन्दोलन गरेर हुर्केका कोरियाली जनताहरु निरंकुशतन्त्र विरुद्ध आन्दोलन गरे।सन १९६० मा जनताहरुले तानाशाह राष्ट्रपतिको विरोधमा आन्दोलन गरे।यो आन्दोलन सफल भयो।राष्ट्रपती देश निकाला भए।अमेरिका गएर बसे।


सन १९६० पछि सैनिक शासन

निरंकुश तानाशाह शासक देश निकाला भएपछि सन १९६० मा युन बोसन भन्ने राष्ट्रपति बने।देशमा लोकतन्त्रको स्वाद चाख्न पाइने आशा पलायो।विडम्बना इनको कार्यकाल एक वर्ष पनि नहुँदै सेनाका जनरल फाकचङ ही भन्नेले सत्ता कब्जा गरे।सैनिक शासन लागू भयो। सेनाको आड लिएर भैरहेको संसद विघटन गराए।सन १९६३ मा चुनाव गराएर आफू( फाकचङही )राष्ट्रपती बने।इनको नियत पनि निरंकुश बन्ने नै थियो।संविधानको धारा पटकपटक संशोधन गर्दै सन १९६३ देखि सन १९७८ सम्म पाँच पटक राष्ट्रपती भए।सन १९७८ पछि संविधान नै अर्को बनाएर म आजीवन राष्ट्रपती हुने छु भनेर घोषित गरे।यस्तो भएपछी प्रतिनिधि सभाका सदस्यहरु तथा फाकचङ्ही कै निकट बिच दरार उत्पन्न गरायो।राजनीतिमा हलचल पैदा भयो।जनताहरुले फेरि आन्दोलन गरे।निरंकुश तानाशाह कुर्सी छोड भन्दै मैदानमा उत्रिए।यसलाई पनि ई राष्ट्रपतिले दमन गरेरै साम्य पारे।यस्तैमा सन १९७९ अक्टोबर २६ तारिख राती खाना खाने बेलामा स्वकिय सचीव किम जे क्यु भन्ने द्वारा गोलि हानि राष्ट्रपतिको हत्या गरियो।जनता अर्को जनताप्रेमी  शासकको प्रतीक्षामा बसे।


सन १९७९ पछि अर्को सैनिक जनरलको शासन

राष्ट्रपतिको हत्या पश्चात् जनताहरुले निरंकुश शासन समाप्त भएको आभास गरेका थिए।यस्तैमा मृतक राष्ट्रपतिको परिचित सैनिक जनरल छन्दुह्वान भन्ने  हत्याको अनुसन्धान गर्ने भनेर सेनाको टुकडी सहित राष्ट्रपति भवन प्रवेश गरे।उनको लक्ष्य अनुसन्धान नभएर सत्ता कब्जा गर्नु थियो।सेना परिचालन गरेर सत्ता कब्जा गरे।देशमा पुनः सैनिक शासन लागू भयो।आजित भएका जनताले पुनः आन्दोलन गर्नुको विकल्प रहेन।


सन १९८० पछि

निरंकुश सैनिक शासन विरुद्ध जनताहरुले आन्दोलन गर्ने योजना बुने।यस्तो थाहा पाएको सैनिक शासकले आन्दोलन कुल्चन ठूलो योजना बुन्यो।राजनीतिक गतिविधि गर्न नपाइने भनी प्रतिबन्ध लगाइयो।विद्यालय,महाविद्यालय अनिश्चितकालका लागि बन्द गराइयो।प्रेस,सञ्चार माध्यम रेडियो,टेलिभिजन सबै निषेध गराईयो।पुरै देशभरी आपतकालीन कर्फ्यु लगाईयो।सर्वत्र सैनिक परिचालन गरियो।


सन १९८० मे महिनाको विशाल आन्दोलन 

सन १९८० मे महिना को १८ तारिख कोरियाको दक्षिणी भूभाग छल्ला नाम्दो प्रदेशको ख्वाङ्जु महानगरपालिकाबाट जनताले तानाशाह विरुद्ध आन्दोलन सुरुवात गरे।लाखौं जनता मैदानमा उत्रिए।निर्दोष जनतालाई सैनिकहरुले बख्तरबन्द ट्यांकले कुल्चिए।गोलि हानी हत्या गरे।पत्रकारलाई त्यो आन्दोलनमा निषेध गरिएकोले कसैले समाचार बनाउन पाएनन।फोटो भिडियो खिच्न पाएनन।हजारौं नागरिक सेनाको गोलिले मारिए।यो आन्दोलन पनि सेनाको गोलिले समाप्त भयो।जनताको हार भयो।तानाशाह कै राज भयो।छन्दुह्वान भन्ने राष्ट्रपति बने।जनताको मझेरी अध्यारो मै रह्यो।


रोचक कुरा

त्यो आन्दोलनमा पत्रकारलाई जान निषेध गरिएको भनिएता पनि एकजना साहसी जर्मन पत्रकार जुर्गेन हिन्जपेटर भन्ने थिए।जो तत्कालीन समयमा जापानमा पत्रकारिता गर्दथे।जापानबाट जर्मनीमा खबर सम्प्रेषण गर्दथे।कोरियाको आन्दोलनको खबर पाएका उनले तुरुन्त आफ्नो भिडियो क्यामरा लुकाएर कोरियाको आन्दोलन भएको ठाउँमा पुग्न सफल भए।लुकिलुकि त्यो दर्दनाक दृश्य भिडियोमा कैद गरे।जापान फर्केर कोरियाको भिडियो जर्मनिमा पठाए।जर्मनी टेलिभिजनले कोरियाको तानाशाहले गरेको क्रतुत जस्ताको तस्तै देखाइदियो।यो घटना बिस्तारै युरोप अमेरिका फैलियो।अमेरिका हुँदै सात वर्ष पछि सन १९८७ मा  पुनः कोरिया आइपुग्यो।यो बेला कोरियामा धेरैको घरमा टेलिभिजन आइसकेको थियो।सन १९८० को घटना कोरियाली  जनताले बल्ल हेर्ने मौका पाए।जनता पुनः जुरमुराउन थाले।आन्दोलन गर्ने योजना बुने।


१९८७ साल जून महिनाको १० तारिख निर्णायक आन्दोलन

सऊल विश्वविद्यालयका विद्यार्थीहरुले निरंकुश शासनलाई ढाल्ने उद्देश्यले आन्दोलन सुरुवात गरे।एक दुई गर्दै एक लाख मानिस मैदानमा उत्रिए।बिस्तारै एक शहर,दुई शहर गर्दै कोरियाको १८ वटा शहरबाट मानिसहरु मैदानमा आए।बिसौं लाख मानिस आन्दोलनमा भेला भए । शिक्षक,पेशाकर्मी,वकिल,इन्जिनियर,चिकित्सक,तानाशाह शासकका सरकारी कर्मचारी समेत मैदानमा आन्दोलन गर्न उत्रिए।सेनाको गोलिलाई जनताको बोलिले परास्त गर्‍यो।सेना हतियार बिसाएर बाटो लागे।एउटा राष्ट्रपतीको केही सीप लागेन।अन्ततोगत्वा हजारौं जनता मारेका  छन्दुह्वानले आत्मसमर्पण गरे। उनकै निकट मित्र नोथेवू भन्ने सैनिक जनरलले अब देशमा पुर्ण लोकतन्त्र स्थापना हुने छ।जनताले चुनेको राष्ट्रपति हुने छन भनी घोषणा गरे।


जनताको भलाईको लागि बनेको संविधान आठौं पटक सम्म उधारिएको थियो।नवौं पटक पुनः संसोधित भयो।अनि सन १९८८ मा लोकतान्त्रिक निर्वाचन भयो।जनताले चुनेको राष्ट्रपति नोथेऊ भन्ने निर्वाचित भए।सन १९८८ देखि आजको मिति २०२२ सम्म कुनैपनी आन्दोलन भएको छैन।निरन्तर समृद्धिको पथमा अगाडि बढी रहेको छ।यो कोरियाले खुब प्रगती गरोस हामी सबैको शुभकामना। (ई माथिका छन्दुह्वान भन्ने जसले हजारौं जनताको हत्या गराए।उनको गत साल २०२१ मा निधन भयो।राज्यले उनलाई सहिद परिवारजनप्रति माफी माग्न भन्यो।माफी मागेर भएपनी  सम्झन लायक इतिहास बनाउनुहोस भन्यो। तर माफी नमागी उनि मरेर गए।)


हाम्रो प्यारो देश नेपाल

विक्रम संवत १९०३ को त्यो कोतपर्व जसले हाम्रो देशमा पारिवारिक तानाशाह शासकको जन्म गरायो।१०४ वर्ष अँध्यारो युग बन्यो।हजारौं मानिसहरुलाई यो शासनले हत्या गरायो।२००७ सालमा निरंकुश शासनमा अङ्कुस लाग्यो।देशमा प्रजातन्त्र आयो।२०१७ सालमा तत्कालीन राजा महेन्द्रले एक्लै राज्य हत्याए।हाम्रो देशले ३० वर्ष पञ्चायत शासन बनेर यात्रा गर्‍यो।अनगिन्ती निर्दोष मानिसहरूले(मेची महाकाली) ज्यान गुमाए।सहिद भए।२०४६ सालमा जनआन्दोलन भयो।धेरैको ज्यान गयो।बहुदलीय प्रजातन्त्र स्थापना भयो।२०५२ सालमा सशस्त्र विद्रोह जन्मियो।१० वर्ष बिद्रोह चल्यो।हजारौं मानिसले सहादत प्राप्त गरे।२०६२/६३ मा आन्दोलन पुनः जन्मियो।७ दल र नेकपा माओवादी सहितको यो विशाल आन्दोलन १९ दिन चल्यो।दर्जनौं मानिसको मृत्यु भयो।अन्ततोगत्वा आन्दोलनले चाहेको माग पूरा भयो।देशमा गणतन्त्र जन्मियो।आज हामी यसैमा स्वतन्त्र भएर स्वास फेरिरहेका छौं।अब हाम्रो एउटै चाहना छ त्यो आन्दोलनमा सहभागी सात दल र माओवादी आज शक्तिशाली उच्च दर्जामा विराजमान छन। राष्ट्र,जनता,र लोकतन्त्रलाई मन मुटुमा राखुन।आउने हरेक पुस्ताले सम्झन लायक बनुन। हाम्रा हरेक नेपाली सन्तान खुब शिक्षित बनुन।स्वदेशमा नै आत्मनिर्भर बनुन।कोहि पनि बिदेशीएर आफ्नो पहिचान गुमाउन नपरोस।औद्योगिक र कृषिक्रान्ती आओस।एक सय छब्बीस थरी हामी सबैको कल्याण होस।

कमेन्ट गर्नुहोस्