लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिजुलीको तारमा चढेका माइला सुधार केन्द्रमा

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ ३० गते २०७९ । शनिबार  दिनभर एउटा घटनाले सामाजिक सञ्जाल र सञ्चार माध्यममा चर्चा पायो। त्यो घटना थियो नुवाकोट ककनीको।  माइला विक भनेर चिनिने हिमबहादुर विक माथिल्लो त्रिशूली–३ ‘ए’को विद्युत प्रशारण लाइनमा चढेपछि शनिबार दिनभर यो घटनाले चर्चा पाएको हो। पारिवारिक समस्या रहेका उहाँलाई अहिले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नवजीवन परोपकार आश्रममा राखिएको छ। संस्थाका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार पारिवारिक समस्या रहेका उहाँले मर्न मन लागेर तारमा चढेको बताउनुभएको छ। ‘यहाँ ल्याएपछि त्यसरी किन बिजुलीको तारमा चढ्नुभयो भनेर सोध्यौ, पारिवारिक समस्या भएर झुण्डिएर आत्महत्या गर्नुभन्दा आकाशमा मर्छु भनेर गएको थिएँ भन्ने जवाफ दिनुभयो,’ उहाँले भन्नुभयो। उहाँका अनुसार अहिलेसमेत विक कहिले सुरको कुरा गर्नुहुन्छ, कहिले बेसुरको कुरा गर्नुहुन्छ । ‘‘बेलाबेला आश्रमको काममा पनि सहयोग गर्नुभएको छ। बेला सुरकै कुरा गर्नुहुन्छ बेला सुरको कुरै गर्नुहुन्न’’, दाहालले विकको अवस्थाबारे भन्नुभयो । सोमबार विकको स्वास्थ्य अवस्था परीक्षण गरिने र उहाँलाई के औषधि प्रयोग गर्ने भन्ने कुरा टुङ्गो लाग्ने उहाँको भनाइ छ।  अहिलेसम्म विकको परिवार सम्पर्कमा नआएको दाहालले बताउनुभयो। शनिबार बिहान ७ बजे प्रसारण लाइनको पोल चढ्ने प्रयास गरेको देखेका थिए। स्थानीयलाई उद्धृत गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले उनी लामो समयसम्म पोलमै बसेको बताउनुभयो । पोलबाट झर्न पटक पटक गरेको आग्रह नमानेका विक पोलबाट उच्च भोल्टेज प्रवाह भएको तारसम्म पुगेपछि लाइन काट्न विद्युत प्राधिकरणलाई अनुरोध गरिएको थियो। स्थानीयले खबर गरेपछि प्राधिकरणले शनिबार बिहान ११ बजेतिर लाइन काटिएको थियो। 



लाइन काटेपछि पुगेको प्रहरी र स्थानीयले गरेको अनुरोध नसुनेपछि उद्धारका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना र नेपाल विद्युत प्राधिकरणसँग सहयोग माग्नु परेको थियो। ‘‘तल मानिस धेरै भएर ओर्लन असहज भएको हो कि भनेर सबै मानिसलाई हट्न लगाएर ओर्लन आग्रह गर्यौ। तर, ओर्लनुको साटो झन् तारमा वर र पर गर्न लाग्नुभयो’’ प्रजिअ रिसालले भन्नुभयो, ‘‘त्यसपछि उद्धारका लागि गृह मन्त्रालयले नेपाली सेनासँग सहयोग मागेको थियो।’’ विक तारमा चढेपछि विद्युत लाइन काट्नुपर्दा प्राधिकरणलाई एक करोड बढी घाटा भएको प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो। ‘‘मानवीय क्षति हुन नदिनका लागि आठ घण्टा विद्युत अवरुद्ध भएको छ, जसले प्राधिकरणलाई एक करोड बढी घाटा भएको छ।’’ नवजीवन केन्द्रमा राखिएका विकलाई उपचारपछि परिवारको जिम्मा लगाउने जिम्मा दिइएको प्रजिअ रिसालले बताउनुभएको छ। ‘‘मानसिक स्वास्थ्यमा समस्या भएको अनुमान गर्दै नवजीवन परोपकार आश्रममा जिम्मा लगाएका हौँ’’, प्रजिअ रिसालले भन्नुभयो, ‘‘अहिलेसम्म परिवार सम्पर्कमा आउनुभएको छैन। परिवार सम्पर्कमा आए नवजीवन केन्द्रमा पुगेर उहाँलाई भेट्न सक्नुहुन्छ।’’  गोरखापत्र 


कमेन्ट गर्नुहोस्