लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरियाबाट तिलोत्तमाका मेयर खाणलाई खुल्ला पत्र

tillotmacitynews - 2022 Jun 13 10:11 PM
IMG



आदरणीय मेयर रामकृष्ण खाँण ज्यू                                                                                                                  जेष्ठ ३० गते २०७९ । 

लुम्बिनी प्रदेश,

तिलोत्तमा नगरपालिका 

रुपन्देही  


        

नवनिर्वाचित मेयर आदरणीय रामकृष्ण खाँण ज्यू,

हाम्रो देश नेपालमा भर्खर स्थानीय निर्वाचन सम्पन्न भयो।जसमा नेपालको उत्कृष्ट नगरपालिका मध्यको तिलोत्तमा नगरपालिकाको  गरिमामय मेयर पदमा हजुर निर्वाचित हुनुभएको छ।साथै यस तिलोत्तमा नगरपालिका मेयरको क्रमिक इतिहासमा हजुर दोस्रो मेयर बन्न पनि सफल हुनुभएको छ।


यसै उपलक्ष्यमा सबैले प्रत्यक्ष रुपमा हजुरलाई भेटेर शुभकामनाको साथमा निधारमा टीका र फूलको गुच्छा प्रदान गर्नुभयो।यस खुसिको घडीमा तिलोत्तमा नगरबासीको हैसियतले  हजुरलाई शुभकामना दिने हुटहुटी मलाई पनि चल्यो।म देशबाट बाहिर भएकोले भौतिक रुपमा तत्काल यो कार्य असम्भव भयो।तसर्थ टाढैबाट भएपनी हजुरको कार्यकाल पुर्ण फलदायी बनोस।हजुरको कार्यकालमा पनि यो उत्कृष्ट नगरपालिकामा भ्रष्टाचारले जन्म नलियोस।दुईपटक पुरस्कृत भैसकेको तिलोत्तमा नगरपालिका हजुरको कार्यकालमा पनि लगातार पुरस्कृत हुन सकोस भन्ने शुभकामना साथै हार्दिक बधाई यो पत्र मार्फत दिन चाहन्छु।


आदरणीय मेयर ज्यू,

सन्तानका लागि आमाबुबा लिडर,विद्यार्थीका लागि शिक्षक लिडर,जनताका लागि नेता लिडर हुन्छन भन्ने कुरा सर्वविदित नै छ।जसमा अहिले  हजुर हाम्रो लिडर बन्नु भएकोमा अत्यन्तै खुसी लागेको छ।हजुर सम्पुर्ण रुपन्देही तथा तिलोत्तमा नगरबासीको नजरमा सहयोगी र लोकप्रिय नेताको रुपमा चिनिनु भएको छ।त्यो सुकर्मको फल अहिले हजुरलाई मेयर बनाएर साबित गराएको छ।समग्र जनताको अभिभावक बन्ने अवसर दिएको छ।यसले हामी परदेशीलाई पनि  एउटा चम्किलो प्रकाश दिन सफल भएको छ।हामी परदेशमा भएकाहरुको पनि दिन फर्कन्छन भन्ने आशा पलाएर आएको छ।त्यसैले यस्तै आशामा आज हजुरलाई परदेशबाट म परदेशी जनताको मनको बह पोख्ने चेष्टा गरेको छु।


आदरणीय मेयर ज्यू ,

म जब सानो थिएँ ,तब मैले सबै नेपालीले जस्तै  धेरै पढेर ठूलो मान्छे बनुँला।आफ्नै देशको सेवा गरुँला भन्ने सपना बुन्ने गर्दथेँ।समयसँगै म ठूलो भएँ।अवस्था,साथै लहैलहैमा मेरो सपना अचानक परिवर्तन भयो।परदेश गएर धेरै पैसा कमाउने अनि स्वदेश फर्केर सुख सयलको जिवन बिताउने भन्ने अशोभनीय महत्वाकांक्षाले स्थान लियो।मेरो आफ्नै चेतनाको कमिले म दिवा सपनाको सिकार भएँ।अन्ततोगत्वा म पैसाको लागि परदेश लाग्ने निर्णयमा पुगेँ।


आदरणीय मेयर ज्यू,

म हाल दक्षिण कोरियामा एउटा सानो कारखानामा कार्यरत छु।म बिहान हाते फोनको घण्टीको आधारमा उठ्छु।हतारहतार गर्दै काम गर्न कारखानामा हाजिर हुन पुग्छु।कारखानामा माथिल्लो दर्जाका कोरियाली नागरिकले दिनभरी गर्ने कामको बारेमा सभा गर्छन।मेरो उमेर भन्दा आधा उमेरको सानो कोरियाली प्रबन्धक भाईले सबै कामदारलाई कामको निर्देशन दिन्छन।हामिले पालना गरेर काम फत्ते गरिन्छ।यहाँ हामिले गरिने कामलाई कोरिया सरकारले नै  अंग्रेजी अक्षरको तीन डि (THREE "D")अन्तर्गतको  दर्जामा राखिदिएको हुँदोरहेछ।जसलाई उल्था गर्दा तीन "डि"को नेपालिमा अर्थ  फोहर,कठिन,खतरा भन्ने हुँदोरहेछ।साथै हामिले यसबाट छुटकरा पनि पाउन नसकिने रहेछ।किनकी बिदेश कामदारको रुपमा प्रवेश गर्नभन्दा पहिला हामिले नेपालमा गरेको श्रम सम्झौताले नै हामिलाई हात्तीलाई बाँध्ने चेनले जस्तै बाँधिदिएको हुँदोरहेछ।म यसरी नै बाँधिदै गएँ।यो भोगाईले सम्पुर्ण परदेशी नेपाली दाजुभाईलाई कल्पना गराएजस्तै मलाई पनि कल्पना गराउन बाध्य बनायो।मैले अब अर्को सपना बुन्न थालेँ।


आदरणीय मेयर ज्यू ,

हरेक दिन मभन्दा सानो उमेरको ती प्रबन्धकले काम अह्राएको देख्दा उनमा मैले हाम्रो छोराछोरीको छवि देख्न थालेँ।हाम्रा नेपाली छोराछोरी  हाम्रै देशमा रहेर प्रबन्धक बनेको कल्पना गर्न थालेँ।हाम्रै देशमा मालिक भएको कल्पना गर्न थालें।हाम्रा छोराछोरीले पनि नेपाली पोशाकमा सजिएर नेपालमै कुर्सिमा बसेर कलम चलाएको कल्पना गर्न थालेँ।हाम्रा नेपाली छोराछोरीले नेपालमा धेरै पैसा खर्च गरेर उच्च शिक्षा हासिल गर्ने,अनि झोला बोकेर थ्री डिको काम गर्न बिदेश जान सुहाउँदैन।हाम्रा छोराछोरीलाई नेपालमै मालिक भएको सुहाउँछ भन्ने कल्पना गर्न थालेँ।यस्तै कल्पनामा यो परदेशमा हाम्रा दिन बितिरहेका छन।भनिन्छ स्वर्ग देख्नको लागि आफैँले मृत्युवरण गर्नु पर्ने हुन्छ।परदेशको तितो यथार्थ जान्न आफैँ विदेश आउनु पर्ने रहेछ।विदेश भनेको दिन काट्ने काल पर्खने भनेजस्तै रहेछ।"विदेशी"भन्ने शब्द दिलमा टाँसेर विदेशी हुँ भन्ने अनुभूति गराएर जिउने जीवन पृथक हुँदो रहेछ।


आदरणीय मेयर ज्यू ,

अब एउटा आशा हजुरको छ।हाम्रा नेपाली छोराछोरी बिदेशीन पर्ने छैन।हाम्रा हरेक नेपाली सन्तानहरुले हाम्रो पदचिह्न पछ्याउने छैनन।दिनप्रतिदिन बिदेशीएर घर खाली हुने छैन।हाम्रा वृद्ध आमाबुबाहरु सन्तानबिनाको जस्तै सुनसान घर कुरेर बस्नु पर्ने छैन।भोलि हजुरले  घरदैलो कार्यक्रम गर्दा हरेक घरमा स्वदेशमै जागिरे युवायुवती भेट्ने दिन आउने छ।


आशाको आधार ( एक)

निवर्तमान  तिलोत्तमा नगरप्रमुख आदरणीय बासुदेव घिमिरे ज्यूको वाणी "यस नगरपालिकाको कुल जनसंख्याको १२ प्रतिशत जनसंख्या वैदेशिक रोजगारमा रहेको छ।विदेशीने क्रमलाई तत्काल रोक्दै जाने र आफ्नै नगरपालिकामा रोजगार सिर्जना गर्ने छौं।साथै नेपालको इतिहासमा पहिलो पटक आफ्नै नगरपालिकाको कानुन बनाइएको नगरपालिका पनि तिलोत्तमा नगरपालिका नै हो।तसर्थ हामी हरेक योजनामा सफल हुनेछौँ।"भन्नू भएको थियो।यसले हामिलाई आशावादी बनाएको छ।


आशाको आधार(दुई)

यो हजुर स्वयंको एजेन्डामा पनि सामेल भएको कुरा हो।हजुरको वाणी " देशमा समृद्धि ल्याउनु छ।महिलालाई शिक्षित बनाउनु छ।वैदेशिक रोजगारीबाट फर्केकाहरुले ल्याएको पुँजीलाई व्यवस्थित गर्नु छ।रोजगार दिनु छ।आत्मनिर्भर नगरपालिका बनाउनु छ।"भन्ने जस्ता हजुरको विश्वासिलो यि बचनहरुले हामी सारा परदेशीमा नयाँ आशा र उमंग पलाएर आएको छ।


आशाको आधार (तीन )

नेपाली काङ्ग्रेस पार्टीले आस्थाको धरोहरको रुपमा र हामी साराले सम्झने व्यक्ती विश्वेश्वरप्रसाद कोइराला हुनुहुन्छ। आत्मवृत्तान्त अनुसार जनताको प्रधानमन्त्री भएपछी विक्रम संवत् २०१६ सालमा वहाँ छिमेकी देश चीन भ्रमण जानू भएको थियो।चीन भ्रमणमा वहाँलाई माओत्सेतुङ साथै प्रधानमन्त्री चु एन लाईले स्वावलम्बी बन्ने तरिका सिकाउनु भएको थियो।लाखौं चिनियाँ मानिसले माहुरिले जस्तैगरि ड्याम बनाएको देखाएका थिए रे।पछि वीपीको निमन्त्रणामा प्रधानमन्त्री  चु एनलाई नेपाल भ्रमण आएछन।उनी पोखरा भ्रमण जाँदा वीपीले पोखराको ड्याम देखाएछन।चिनियाँ प्रधानमन्त्री चु एन लाईले वीपीलाई भनेछन"तपाइँको देश प्राकृतिकले धनी देश हो।सिमेन्ट अर्काको देशबाट किनेर ल्याएर संरचना नबनाउनुहोस।सिमेन्ट मात्र हैन,कुनै पनि कुरा बाहिरी देशबाट नल्याउनुहोस।आफ्नै देशका जनता जागरुक गराएर आफ्नै देशमा उत्पादन गराउनुहोस।औद्योगिक तथा कृषिक्रान्ती ल्याउनुहोस।यसो गरेमा छिट्टै समृद्धि पाउनु हुने छ।तपाइँका जनता आत्मनिर्भर हुनेछन"भनेका थिए भनेर सुन्न पाइन्छ।तसर्थ हजुरभित्र यो कुरा छाप बनेर रहेको छ।यसलाई पुर्णता दिने क्षमता हजुरमा छ।


आशाको आधार(चार)

हाम्रो देश नेपालको हरेक कुनामा बुद्धिजीवी,समाजसेवी,धनाढ्य व्यक्तित्वहरु भएजस्तै हाम्रो नगरपालिकामा कुनै व्यक्तित्वको कमि छैन।त्यतिमात्र नभएर राष्ट्रको गृहमन्त्री जस्तो उच्च ओहदामा विराजमान शालीन व्यक्तित्व माननीय बालकृष्ण खाँण हजुरकै सहोदर दाजी पनि हुनुहुन्छ।जसको व्यक्तित्वले हामी सबै नेपाली आशावादी छौं।


अन्त्यमा,

आदरणीय मेयर ज्यू,

हजुरको कार्यकालमा हाम्रो नगरपालिकामा औद्योगिक र कृषिक्रान्तिले छलाङ लगाउने छ।अन्तर्राष्ट्रिय सिमाना नजिक भएकोले छिमेकी देशमा उत्पादित समान हैन,उत्पाद्न गर्ने औजार भित्रने छन।औद्योगिक कलकारखानाले जरो गाढेको यो जिल्लामा अझै वृद्धि हुने छन।कृषि बाली तथा फलफूलले अझै स्थान पाउने छ।हाम्रा  छोराछोरी बेलायत तथा भारतमा लाहुरे हुन जाने छैनन। हामी जसरी झोला बोकेर बिदेश पनि आउने छैनन।हजुरको पालामा परिवर्तन देख्न पाइयोस।हजुरको छवि सन्सारमा फैलियोस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेशीन नपरोस।हामी सबैको कल्याण होस।


कमेन्ट गर्नुहोस्