लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पानी समस्या समाधानको पहल : मुहान खोज्दै बुटवलका जनप्रतिनिधि

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २९ गते २०७९ । बुटवल उपमहानगरपालिकामा खानेपानी समस्याबारे जनप्रतिनिधिले चासाे देखाएका छन् । उनीहरूले मुहानमा स्थलगत अवलोकन गरेका छन् । दैनिक ३ करोड ३२ लाख लिटर पानीको माग रहेको बुटवलमा २ करोड ४० लाख लिटर जतिमात्रै पानी उपलब्ध रहेको अवस्थामा पानीको श्रोत पहिचानका लागि साथै शुद्ध पानीको पहुँच पु¥याउनका लागि जनप्रतिनिधिले बुटवलस्थित मुहानको स्थलगत अवलोकन गरेका हुन् । शनिबार नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकाल, खानेपानी संस्थानका सव इन्जिनियर विजय श्रेष्ठ, कांग्रेस नेता छायाँ पोखरेल, स्थानीय बासिन्दासहितको टोलीले बुटवल चिडियाखोलाको मुहानको अवलोकन गरेको हो । बुटवलमा वितरण भएको पानीमध्ये ६० प्रतिशत पानी तिनाउ नदीको चिडिया खोलाबाट पम्पले तानेर वितरण हुन्छ । सोही स्थानको अवलोकन पश्चात् नगरप्रमुख खेलराज पाण्डेले बुटवलमा शुद्ध र पर्याप्त पानी वितरणका लागि बुटवल उपमहानगरपालिका, खानेपानी संस्थानका साथसाथै प्रदेश र संघीय सरकारसँग समेत समन्वयगरिने बताए । ‘बुटवलमा कैयौं वर्षदेखि शुद्ध र पर्याप्त पानीको अभाव छ, यो अभावपूर्ति गर्नका लागि हामीले हाम्रो बजेटले भ्याएसम्म हाम्रो बजेटबाट र बाँकी ठूला योजनाका लागि प्रदेश र संघसँग समेत समन्वय गरेर बुटवलको मुख्य समस्या मध्येको खानेपानी समस्या समाधान गर्नेछौं’–उनले भने । खानेपानी संस्थान बुटवलका सव इन्जिनियर विजय श्रेष्ठका अनुसार बुटवलमा दैनिक ३ करोड ३२ लाख लिटर पानीको माग छ । ‘तिनाउको पानी तानेर शुद्धीकरण गरेर वितरण गरिएको छ, उनले भने–वर्षामा धमिलो पानी आएमा वितरण रोकिन्छ, यसले पानीको अभाव बढाउँछ ।’ 


बुटवलमा पानीको वितरण पुगनपुग २ करोड ४० लाख लिटर मात्रै छ । हाल संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ । अहिले  १६ हजार धारामा सो पानी आउँछ । हरेक वर्ष करिब एक हजारको हाराहारीमा नयाँ धारा जडानको निवेदन पर्छ । त्यस बाहेक १९ वटा बोरिङ्ग मार्फत पनि पानी वितरण गरीएको छ । तर, तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमीन मुनीको पानीको सतह घट्दै जाँदा बोरिङ्गबाट पानी कम आउँछ । जसका कारण बुटवलमा पानीको अभाव वर्षेनी चुलिँदो छ । बुटवलको त्यही खाने पानी समस्या समाधान गर्ने उदेश्यले २६ वर्षअघि  सिस्ने खानेपानी आयोजना सुरु भएको थियो । पाल्पाको झुम्सा स्थित सिस्ने खोलाबाट दैनिक ७ लाख लिटर पानी बुटवल ल्याउने योजना सहित २०५२÷०५३ मा आयोजना सुरु भएको थियो ।  तर, सो आयोजना पटक पटक रोकिदै आएको छ । आयोजनाले निर्धारित समयमा काम नसक्दा पानी अभाव अरु बढ्दै गएको छ । आयोजना छिटै सम्पन्न गर्नका लागि समन्वय र सहकार्य गरिने नगरप्रमुख पाण्डेयले बताए । ‘झुम्साको पानी बुटवलमा ल्याएर वितरण गर्न सकियो भने अहिले जस्तो अभाव हट्ने थियो, उनले भने–त्यो आयोजनाको काम के के भइरहेको छ, त्यसबारे हामीले छिटै नै प्रगतिविवरण हेरेर आयोजना, प्रदेश सरकार र संघ सरकारसँग समन्वय गरेर अघि बढ्दा प्रभावकारी हुन्छ, त्यसैअनुसार गर्छौं ।’

कमेन्ट गर्नुहोस्