लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सफा सोच सफा नगर : फोहोर व्यवस्थापनको ईतिहास

tillotmacitynews - 2022 Jun 04 10:55 PM
IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २१ गते २०७९। बिहान सुतेर उठेपछी दिनभरिमा हामिले विभिन्न थरिका फोहर उत्पन्न गराइरहेका हुन्छौं।हामिले उत्पन्न गराएको त्यो फोहरलाई समयमै उचित व्यबस्थापन गर्नुपर्छ।नत्रभने फोहरले दुर्गन्ध फैलाउँछ।फोहर सडेर किटाणु पैदा हुन्छन।किटाणुबाट हामिलाई रोग लाग्छ।अकालमा हाम्रो ज्यानै समेत लिन बेर लाग्दैन।आज यस्तै फोहरको नालीबेली दक्षिण कोरियाको इतिहासको पन्नाबाट।


प्रागैतिहासिक काल

कोरियामा मानव आगमन तथा बसोबासको इतिहास आजभन्दा सात लाख वर्ष पहिला भएको मानिन्छ।त्यतिबेलाका मानिसहरुको दिनचर्या घुमन्ते थियो।गुफामा बस्दथे।फोहर त्यही गुफामै छोडिदिन्थे।दस हजार वर्ष पहिलादेखि मानव घर बनाएर बस्न थाल्यो।जनावर पाल्न थाले।गेडागुडीको खेती गर्न थाले।उनिहरुले पैदा गराएर फालेको फोहर जनवारको हड्डी,कटुसको छिल्को,अँगार जमिनमा गाडेको इतिहास भेटिन्छ।अहिले पुरातत्वविदहरुलाई त्यो बेलाको फोहर खोज अनुसन्धानको खास्सा विषय बनेको छ।


लिखित इतिहासको सुरुवात पहिलो शताब्दीदेखि सन १९७० सम्म

कोरोयामा सन १९७० सम्म मानिसहरुका घर पातिले बारेर बनेका हुन्थे।खोलाको किनारामा टहरो बनाएर बसोबास गरेका बस्ती प्रशस्त थिए।शौचालय कसैको घरमा थिएनन।मानिसहरुले खोलाको किनारामा नै शौच गर्ने गर्दथे।घरबाट निस्केको फोहरमैला सबै यत्रतत्र फालिदिने गर्दथे।उचित व्यवस्थापन थिएन।जनचेतनाको पनि कमि थियो।वर्षात हुँदा फोहर सबै पानीले बगाएर खोलोमा मिसिन्थ्यो।मानिसहरु त्यही खोलाको पानी पिउने गर्दथे।जसको कारण झाडापखाला लागेर लाखौ मानिसहरु मरेको इतिहास भेटिन्छ।


सन १९७८ देखि सन १९९४ सम्म

यो समय दक्षिण कोरियाको इतिहासमा बिकासले छलाङ मारेको अवधि थियो।राजधानीमा अग्लाअग्ला भवन खडा भएका थिए।थरीथरीका कारखाना स्थापना भएका थिए।मानिसहरु गाउँ छोडेर राजधानी शहरमा बसाइँसराइ गरेका थिए।मानव सभ्यता शहरीकरणमा परिवर्तित भएको थियो।औधोगिक तथा कृषिक्रान्तिले गति लिएको बेला थियो।बिकासको सुरुवात साथै जनसंख्याको वृद्धिसँगै राजधानीमा फोहर पनि अधिक मात्रामा निस्कन थालेको थियो।अग्ला भवन ठडिए पनि मानिसमा चेतनाको भने कमि नै थियो।हरेकको घरबाट निस्केको फोहर मानिसले बाटोमा नै थुपारिदिन थाले।नगरपालिकाले पनि फोहरलाई उचित व्यवस्थापन गर्न सकेन।अनि सऊलबाट नजिकै भएको "नान्जिदो"भन्ने डाँडालाई ल्यान्ड फिल्ड साईडको रुपमा प्रयोग गर्न थाल्यो।खानेकुरा,प्लास्टिक,केमिकल,अथवा सारा कुरा एकै ठाउँमा मिसिएको फोहर त्यो नान्जिदो  ठाउँमा थुप्रीन थाल्यो।एक वर्ष दुई वर्ष तीन वर्ष गर्दै सोह्र वर्षसम्म यो सिलसिला चल्यो।


सन १९९४ सम्ममा  दुई वटा फोहरको पहाड बने।फोहरले झन्डै दुई सय पचास हेक्टर जमिन ओगट्यो।इनिहरुको उचाई १२० मिटर सम्म हुनपुग्यो।यस्तो भएपछि सर्वत्र दुर्गन्ध फैलिन थाल्यो।सडेर निस्केको तरल पदार्थमा ग्यास उत्पन्न हुन थाल्यो।त्यहाँ बाट बगेको पानी खोला समुन्द्रमा मिसिएर पानी दूषित हुन थाल्यो।वरपर बसोबास गरेका मानिसहरु पलायन हुँदै गए।फोहरले रोग मात्र निम्त्याएन बस्तिलाई नै विस्थापित गरायो।


वर्षौं देखीको फोहरको पहाड बैज्ञानिक तरिकाबाट व्यवस्थापन (सन २००२)

यो फोहरको पहाडले पुरै देशलाई नै समस्या हुन थालेपछि सन १९९९ मा  राज्यले  यसलाई व्यवस्थापन गर्न सुरुवात गर्‍यो।सबैभन्दा पहिला चारैतिरबाट पर्खाल लगाइयो।फोहरबाट निस्केको दूषित तरल पदार्थलाई ठूलो पाइपमा जडान गरेर बाहिर आउन रोकियो।अनि यसलाई  तरल सुकाउने मेसिन होपर ड्राईर (HOPPER DRYER)जडान भएको ट्यांकीमा जम्मा गरियो।त्यो दूषित  तरल पदर्थ तातो वाफले सुकेपछी ग्यासमा परिणत भयो।जस्लाई बायो ग्यास भनियो।फोहरले इन्धनको रुप लिन पुग्यो।अनि जल्ने चिजहरु जलाइयो।हटाउन सक्ने चिजहरु  हटाईयो।त्यसपछि त्यहाँ माटो ल्याएर पुरियो।


रुख बिरुवा रोपियो।पहाडको टुप्पोमा ठुला ग्यास उत्पादन गर्ने पंङ्खा साथै घुम्न लायक ठाउँमा परिणत गराईयो।सन २००२ मा यो कार्य सम्पन्न भयो।अढाई सय हेक्टर जमिनमा थुपारिएको फोहरको पहाड दुईवटा उपवनमा परिणत भए।बाहिरबाट उपवन,भित्रबाट बायो ग्यास उत्पादन गर्ने कारखानाको रुपमा परिणत भयो।यसबाट निस्केको ग्यास,बिजुली कोरियाको राजधानी सऊलमा भएको विश्वकप फुटबल खेल मैदानमा बल्ने तेजिलो ठुला लाइट यहि फोहरको पहाडबाट उत्पादित इन्धन हो भनिएको छ।नान्जिदो भनेर चिनिने ई फोहरको पहाडलाई अहिले हानुल खोवन साथै नोउल खोवनको नामले चिनिन्छ।


सन २००२ देखि सन २००५ सम्म

जथाभावी फोहोर फालेर उत्पन्न भएको समस्या झेलेको कोरियाले सन २००२ देखि जनतालाई जनचेतनामूलक कार्यक्रम चलाउन थाल्यो।साथै राज्यले सम्पूर्ण स्थानिय तहलाई फरक फरक रंगको पोलिथिन झोला निर्माण गर्न लगायो।अनि घरबाट निस्कने फोहर खानेकुरा,सिसा,कागज सबै अलग गरेर राज्यले तोकेको पोलिथिन झोलामा राखेर तोकिएको ठाउँमा फाल्नु पर्ने कानुन ल्यायो।फोहर फाल्ने ठाउँमा भिडियो क्यामरा जडान गर्‍यो।यदि जनताले लापरबाही गरेमा कोरियन पैसा एक लाख वन सम्मको जरिवाना तोकिदियो।सन २००५ सम्म सारा कोरियन नागरिक जागरुक भए।फोहर व्यवस्थापनमा सहजता हुन थाल्यो।


सन २००५ पछि फोहरबाट मोहर भन्ने नारा जन्मियो।(रिसाइक्लिन प्रविधि )

सन २००५ देखि फोहर व्यवस्थापन गर्ने आधुनिक गाडी तयार भए।सधैंभरी कुनै पहाडमा लगेर थुप्रो बनाउने अनि फोहर पुरेर उपवन मात्रै बनाएर पनि समस्या समाधान नहुने भयो।कोरियाले हरेक फोहरलाई पुनः प्रयोगमा ल्याउने कारखाना खोल्ने अभियान सुरु गरायो।राज्यले पुर्ण साथ र समर्थन दिएपछि पुँजीपतिहरु उत्साहित भएर फोहर रिसाइक्लिन कारखाना धमाधम स्थापना गर्न थाले।खानेकुराको फोहरको कारखाना खुले।हरेकको घरबाट निस्केको फोहर सिधै कारखानामा जान थाल्यो।खानेकुराको फोहरबाट कुखुरा,हाँसको लागि दाना बन्न थाल्यो।सिसा,कागजका अलगअलग कारखाना खुले।पोलिथिन,धागो,कपडाको टालोहरु पुन प्रयोगमा ल्याउने कारखाना खोलियो।इनिहरुलाई आणविक भट्टीमा प्रयोग हुने कोइलाको सट्टामा प्रयोग गर्न थालियो।


काठका समान अथवा दराज,टेबल,कुर्सीहरु,लगाएका कपडाहरु,टिभी,फ्रीज जस्ता घरायसी चिजबिज पुन मर्मत गरेर "सेकेन्ड ह्यान्ड पसल" भनेर खोलियो।थोत्रा मोबाइलको कारखाना पनि खोलियो।मोबाइलको कुरा गर्नुपर्दा मोबाइल भित्र २२.१८ ग्राम आल्मुनियम १५.१२ ग्राम तामा,०.३१ ग्राम चाँदी,०.०३ ग्राम सुन मिसिएर बनेको हुन्छ भनिएको छ।यसलाई अलग अलग गरेर निकाल्ने कारखाना पनि खुलिसकेका छन।अहिले हरेक चिज पुनः प्रयोगमा आएको छ।अब त मानिसहरु रिसाइक्लिन नभएर अपसाइक्लिन भन्न थालेका छन।वातावरण स्वच्छ भएको छ।सबै मानिस उचित व्यवस्था र कानुनमा शान्ति तवरबाट बाँचेका छन।कोरियाले धेरै प्रगती गरोस हाम्रो शुभकामना।


हाम्रो प्यारो देश नेपाल

फोहर गर्नेहरु स्वयं हामी आफैं हौं।हरेक फोहरको जिम्मेवारी हामी नै हौं।हाम्रो घर,समाज,सिङ्गो राष्ट्र सफा,स्वच्छ,हराभरा बनाउने दायित्व हामी नागरिकको नै हो।"म" परिवर्तन भए मेरो परिवार परिवर्तन हुन्छ,"मेरो"परिवार परिवर्तन भए समाज परिवर्तन हुन्छ।समाज परिवर्तन भए सिङ्गो राष्ट्र परिवर्तन हुन्छ।विदेशी नागरिक हाम्रो प्यारो देश नेपाल भ्रमण गएर विभिन्न डकुमेन्ट्रीहरु बनाउने गर्छन।त्यसमा पहिलो डकुमेन्ट्री फोहोरको बनाएको पाइन्छ।हाम्रो देशको चाहे जुनसुकै कुनाको त्यो डकुमेन्ट्री  होस त्यसले हामी सारा नेपालिलाई प्रतिनिधित्व गर्दछ। त्यो हामी सारा नेपालिको समस्या हो।यसलाई "मेरो" समस्या भनेर दायित्व बोध गर्न जरुरी हुन्छ।हामी सजग बन्न सकौं,सचेत बन्न सकौं।हाम्रो देशमा औद्योगिक र कृषिक्रान्ती आओस। एक सय छब्बिस थरी हामी सारा नेपालिको कल्याण होस।अबको हाम्रो नेपालको छोराछोरी कोहि पनि विदेशीन नपरोस।

कमेन्ट गर्नुहोस्