
तिलोत्तमा सिटी, बैशाख ८ गते । कोभिड महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुनः विगतको जस्तै भोलिदेखि परीक्षा सञ्चालन हुन लागेको छ । शुक्रबारबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यो वर्ष लुम्बिनी प्रदेशबाट ८६ हजार ६२४ परीक्षार्थी सहभागि हुने भएका छन् । जस मध्ये २ हजार ८६६ जना प्राविधिक तर्फका र २ जना परीक्षार्थी दृष्टिबिहिन रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले जानकारी दिए ।
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै परीक्षार्थी रुपन्देही जिल्लामा र सबै भन्दा कम परीक्षार्थी रुकूम पूर्वमा रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक गैरेले बताए । यस्तै परीक्षा सञ्चालनका लागि ३ सय २७ केन्द्राध्यक्ष, ५ सय ७९ जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३४५ जना निरीक्षक, ८ सय ६७ जना सहायक निरीक्षक र १ हजार ७१३ जना कार्यलय सहयोगि परीक्षामा खटिने निर्देशक गैरेले बताए ।
कुन जिल्लामा कति परीक्षार्थी ?
लुम्बिनी प्रदेशमा सबै भन्दा धेरै परीक्षार्थी रहेको रुपन्देही जिल्लामा २ दृष्टिबिहीन सहित १८ हजार २५४ परीक्षार्थी एसईईमा सहभागि हुने छन् ।
रुपन्देहीमा ५५ केन्द्राध्यक्ष, १२२ सहायक केन्द्राध्यक्ष, ९१७ जना निरीक्षक र १८५ जना सहायक निरीक्षक परीक्षामा खटिने शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक मनोज कुमार गैरेले जानकारी दिए । यस्तै सबै भन्दा कम रुकूम पूर्वमा १ हजार १४१ परीक्षार्थी रहेका छन् भने त्यहाँ ६ कोन्द्राध्यक्ष, ६ सहायक केन्द्राध्यक्ष, ५७ निरीक्षक र ११ जना सहायक निरीक्षक परीक्षामा खटिने निर्देशनालयका निर्देशक गैरेले जनाकारी दिए । बाँकेमा ९ हजार २८९ परीक्षार्थी परीक्षामा सहभागि हुँदा बर्दियबाट ८ हजार ५९१ परीक्षार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागि हुने छन् । यस्तै दाङमा १३ हजार १५२, कपिलबस्तुमा ८ हजार ८३, रोल्पामा ४ हजारर ११७, प्यूठानमा ४ हजार ४२२, गुल्मीमा ४ हजार ८२३ जना परीक्षार्थी रहेका छन् । यता अर्घाखाँचीमा ३ हजार ५८५, नवलपरासीमा ६ हजार ३२६ र पाल्पामा ४ हजार ८४१ जना परीक्षार्थी माध्यमिक शिक्षा परीक्षाको परीक्षा दिने छन् ।
परीक्षाको सबै तयारी पुरा भएको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले बताए । ‘परीक्षाको शतप्रतिशत तयारी पुरा भएको छन। सबै केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहायक निरीक्षक सम्बन्धीत केन्द्रमा पुगि सक्नु भएको छ । लुम्बिनी प्रदेशमा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्ने छौँ ।’–उनले भने । परीक्षा वैशाख २० गते सकिने छ भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । सरकारले एसईईलाई केन्द्रको जिम्मेवारीबाट प्रदेशलाई हस्तान्तरण गर्ने बताईरहे पनि कानुन अभावमा यो वर्षको परीक्षा राष्ट्रिय परीक्षा बोर्डमार्फत् सञ्चालन हुन लागेको छ ।
कमेन्ट गर्नुहोस्