लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देश र स्वतन्त्रता

IMG

तिलोत्तमा सिटी, बैशाख ५ गते २०७८। आज हामी सारा नेपाली समावेशी लोकतन्त्रमा छौं।हामिले राजनीति तथा शासकको बारेमा सकारात्मक आवाज खुलेर बोल्न पाएका छौं।वाक्स्वतन्त्रता हावा जस्तै सबैलाई प्राप्त छ।यो शान्ती,मानवअधिकार हामिले सित्तैमा पाएका भने पटक्कै हैनौं।हाम्रा पुर्खाहरु काटिएर,छाला तारिएर,सुलीमा झुन्डिदिएर मिलेको प्राप्ति हो।दक्षिण कोरियामा पनि लोकतन्त्र प्राप्तिको लागि खुब संघर्ष गर्नु परेको थियो।धेरैले ज्यान गुमाउनु परेको थियो।आमनिर्वाचन पनि निष्पक्ष तवरबाट भएको थिएन।धाँधली चुनाव गरेर नेता विजयी भएका थिए।धाँधली चुनाव भन्ने नभोगेका हामी नेपाली कस्तो हुन्छ त धाँधली चुनाव?दक्षिण कोरियाको रोचक इतिहासको पन्नाबाट।


कोरियामा सन १९१० सम्म राजाको शासन थियो।समाज वर्गमा  बाँडिएको थियो।जनताहरु खाईमा निसासिएका थिए।शिक्षाको ज्योति बलेको थिएन।यहि अशिक्षाले जगेडिएको अवस्थामा सन १९१० मा जापानले आएर कोरियालाई कब्जा गर्‍यो।कोरिया देश जापानको गुलाम बन्यो।कोरिया पुनः अन्धकारमय भयो।सन १९४५ मा जापानबाट स्वतन्त्र भयो।तीन वर्षपछि सन १९४८ मा कोरिया दुई टुक्रामा विभाजन भयो।३८ डिग्री देशान्तरबाट माथिको भूभाग निरंकुश उत्तर कोरिया बन्यो।तलको भूभाग लोकतान्त्रिक दक्षिण कोरिया बन्यो।


सन १९४८ मा दक्षिण कोरिया गणतन्त्र देश नामाकरण भएपछि यो देशको पहिलो संविधान बन्यो।कानुन अनुसार अमेरिकाको जस्तै दुई पटक राष्ट्रपति हुन पाउने प्रावधान बस्यो। कार्यकाल चार वर्षको गराइयो।जनताको प्रत्यक्ष सहभागितामा भोट हालेर राष्ट्रपति छान्न पाउने प्रणाली बस्यो। "इसुङमान"भन्ने विद्वान दक्षिण कोरियाको पहिलो जनताको राष्ट्रपति बने।कानुनको हिसाबले  सन १९५२ मा दोस्रो राष्ट्रपतीय चुनाव हुनुपर्ने थियो।योबेला उत्तर कोरिया र दक्षिण कोरियाको युद्ध चर्किरहेको थियो।पहिलो पटक  राष्ट्रपति बनेका इसुङमानलाई कुर्सिको मोह बढेछ क्यारे युद्धको कारण देखाएर दोस्रो कार्यकाल पनि चुनाव नगराई इनैले लिए।जनताहरुबाट दुरि बढाए।दुई कार्यकाल राष्ट्रपति बनेपछी ई राष्ट्रपतिलाई कुर्सि र सत्ताले मोहनी लगायो।संविधान  संशोधन गरेर सांसदहरूबाट राष्ट्रपति छानिनु पर्ने कानुन पारित गराए।तेस्रो पटक सन १९५६ मा पनि आँफै राष्ट्रपति बने।उनको कार्यकाल सन १९६० सम्म लम्बियो।

संविधानको धारा नै उधारेर पटकपटक राष्ट्रपति बनेका इसुङमान जनताले नरुचाएका राष्ट्रपति बन्न पुगे।कोरियाली जनता आजित भए।लोकतन्त्र भनेर स्थापना त भएको थियो तर स्वाद जनताहरु सम्म पुगेन।राष्ट्रपतिले निरंकुश शासन लागु गरेर शिशु अवस्थामै लोकतन्त्रलाई निमोठिदिए।


महाभारत कथामा भएको र भनिएको कुरा सापटी लिएर भन्नुपर्दा " जब राजनीतिमा भ्रष्टाचारको ज्यान लिने खतरा रोग लाग्छ,तब यसको रगत सांङ्लोको जस्तो सेतो हुन थाल्छ।राजनीति राष्ट्रिय हितको आधिन नभएर व्यक्तिगत हितको आधिन हुन पुग्छ।थैलिको महत्त्व बढाएर नजिक आउने हरेकलाई खरिद गर्न चाहन्छ।सत्य यदि शासकको हित विपरित गएको छ भने त्यो सत्य नै हैन भन्न थाल्छ।जनसमुदायको दिलमा डेरा बसाल्नुको सट्टा कुर्सिमा बसिरहन मन लाग्छ।"


तीन पटक राष्ट्रपति बनेका इसुङमान छयासी वर्षका वृद्ध थिए।सन १९६० को मार्च १५ तारिखका दिन कोरियामा चौँथो राष्ट्रपतीय चुनावको घोषणा गरियो।"नानी देखि लागेको बानी" विडम्बना इसुङमान चौंथो पटक पनि आफैं राष्ट्रपति हुने योजना बुने।चुनाबलाई धाँधली गरेर भए पनि आफैले  चुनाव जित्ने योजना बनाए।कोरियामा भएको धाँधली चुनाव कस्तो थियो त?


धाँधली चुनावमा मतदानको षड्यन्त्र (१९६०.३.१५)

मतदान हुनु अगाडि नै इसुङमानको नाममा चालीस प्रतिशत मतपत्र मतपेटिकामा खसालिएको थियो।

 *  कुनैपनी टोल,गाउँमा बस्दै नबसेका मानिसको नामबाट।

 *  बसाइँसराइ गरेर गएका साथै मरिसकेका मानिसको नामबाट मतपत्र खसालिएको थियो।

 *  मतदान स्थलमा एक्लै गएर गोप्य मतदान गर्नुपर्ने हुन्छ।तर पाँच जनाको सामुहिक रुपमा गएर मतदान गर्नु पर्ने।

 *  मतपत्रमा छाप लगाएपछि मतपेटिका नजिकै बसेको कर्मचारीलाई(खरिद गरिएको कर्मचारी ) देखाएपछि मात्र बाकसमा खसाल्नु पर्ने नियम बनाईएको थियो।

*  इसुङमान राष्ट्रपतिले त्यतिबेला कुनै युवा समुहलाई आफ्नो पक्ष मा राखेका थिए।उनिहरु गुण्डा जस्तै थिए।ईनलाई कोरिया भाषामा छंछी काङ्फे भनिन्छ।ती कांङ्फेहरु बाटोमा बसेर भोट हाल्न आउने हरेक जनतालाई इसुङमानलाई भोट दिनु पर्ने धम्की दिन लगाईएको थियो।


मतपत्र गणनामा  षड्यन्त्र फरक फरक शैलीमा (१९६०.३.१५)

 *  मत गणना गर्दा विपक्षीको मतपत्र बढी भएमा मत गणना गर्ने कर्मचारी आफैंले पाँच औंलाले  लतपत गराएर रद्ध बनाईएको।

 *  विपक्षीको चिन्हमा मतदाताले छाप सहि तरिकाले हानेको भएपनि मतगणना गर्नेले दुई ठाउँमा हानेर रद्ध गराइएको।

*  मतपत्र गन्ती गरेपछी हरेकको फरक फरक ठेली बनाइन्छ।विपक्षीको ठेलीको माथिपट्टी इसुङमानको मतपत्र,साथै तल पुछारमा पनि इसुङमानको मतपत्र राखेर विपक्षी को मतको ठेलीलाई पनि इसुङमानको ठेली बनाइएको थियो।

*  यदि यति गरेर पनि विपक्षीको मत पत्र ज्यादा भएमा मत गणना गर्ने कर्मचारी बिचैमा निदाए जस्तो गरिदिनु पर्ने अनि इसुङमानको टोलिले धमाधम खाली मतपत्रमा छाप लगाएर इसुङमानको मतपत्र बढाउनु पर्ने अग्रिम योजना बनाइएको थियो।उनिहरुले त्यस्तै गरे।यसरी कोरियाको राष्ट्रपतिले धाँधली गरेर चौथो पटक पनि चुनाव जितेका थिए।


कोरियाको पहिलो जनआन्दोलन (१९६०.४.१९)

सन १९६० सम्म जनता शिक्षित भईसकेका थिए।जनताले चार पटक राष्ट्रपति भएका इसुङमानलाई सत्ताबाट हटाउने निर्णय गरेर आन्दोलन सुरुवात गरे।अप्रिल १९ तारिखको दिन कोरियाका सारा जनताहरु राष्ट्रपति र धाँधली चुनाव विरुद्ध  मैदानमा उत्रिए। विषेशगरि महाविद्यालय,विद्यालयका आचार्य,गुरु,प्राध्यापक,शिक्षक,

विद्यार्थीहरुको सहभागिता रह्यो।गुरुहरु सैनिकको अगाडि गएर गोलि हान्न भने। प्रेरणादायी प्रसंग,ज्ञान दिने गुरुहरुनै मैदानमा उत्रेको देखेपछि सडकमा उभिएका सैनिकले  हतियार भुइँमा राखेर गुरुहरुलाई नमन गरेका थिए।सानासाना बालबालिकाले हाम्रो भविष्यमाथी खेलवाड नगर्नुहोस काकाहरु भनेर बोलेको आवाजले सैनिक प्रहरिको छाती पोल्यो।उनिहरुले पनि आन्दोलनलाई साथ दिए।यस्तो भएपछि सत्ता डगमगाउन थाल्यो।भनिन्छ कर्मको फल यहि धर्तिमा पाइन्छ।इसुङमान राष्ट्रपति एक्लो भए।कमजोर भए।उनले अन्तिम वाणी यस्तो भने " यदि जनताले चाहेमा म राजिनामा दिने छु।सत्ता छोडिदिने छु "।लोकतन्त्रमा १२ वर्ष निरंकुश शासन चलाएका राष्ट्रपति अन्ततोगत्वा कोरिया छोडेर अमेरिका पलायन भए।सन १९६० मा पुगेर देशमा पुनः प्रजातन्त्रको जन्म भयो।उनको देहावसान उतै अमेरिकामा भएको थियो।


हाम्रो प्यारो देश नेपालमा

मातापिता,शिक्षा दिने गुरु भगवान हुन।यदि जनताको मर्म, भावना बुझ्ने,न्याय गर्ने,देशमा शान्ति छर्ने शासक हुन्छन भने उनिहरु पनि हामि जनताको लागि भगवान  सरह हुन।हरेक वर्ष उच्च शिक्षामा उत्तीर्ण  भएर कालो टोपी लगाएका हाम्रा नेपाली भाईबहिनिहरुलाई स्वदेशमा नै मालिक बन्ने स्थानको सिर्जना होस।प्राचीन काल देखिको सम्मानित शिक्षक र कृषि पेशाको अझै बढी कदर होस।राज्यको ढोका ढकढक्याउँदा पनि केही भएन भनी धेरै पैसा लगानी गरेर ठूलो देशमा गएका हाम्रा शिक्षित भाईबहिनिहरु स्वदेश फर्केर मालिक बन्ने दिन आओस।हाम्रा नेपाली हरेक सन्तान शिक्षित बनुन।विदेश जानु हुदैन,लाहुरे हुन जानू हुँदैन यदि गएमा आफ्नो अस्तित्व सदाको लागि पतन भएर जान्छ भन्ने विवेक हाम्रा हरेक नेपालि सन्तानको दिमागमा उम्रेर आओस।हामी अभिभावकले पनि त्यस्तै शिक्षा दिन सकौं।औसत आयु जम्मा साठी,सत्तरी वर्ष भएका हामी नेपाली जति बाँचिन्छ त्यति आफ्नै देशमा केहि बिकास गरेर मर्न पाइयोस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेशीन नपरोस।हामी सबैको कल्याण होस।

विक्रम थापा 

हाल दक्षिण कोरिया

कमेन्ट गर्नुहोस्