लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिट भागबन्डा गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

IMG

तिलोत्तमा सिटी, २०७८ बैशाख ५ गते । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिकाको भागबण्डा मिलाउन नसकेपछि स्थगित भएको छ । ६ महानगर र ११ उपमहानगरपालिकामा भागबण्डा मिलाउन प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसेको थियो । तर सबै दलले आफ्नो दाबी नछाडेपछि बैठक फेरि बस्नेगरी स्थगित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले आजै फेरि बैठक बस्नेगरी बैठक स्थगित भएको जानकारी दिए। 

मल्लले विभिन्न सञ्चारमाध्यममा महानगर र उपमहानगरको विभाजनसम्बन्धी आएका कुरा सही नभएको जानकारी दिए । ‘बालुवाटारमा जारी गठबन्धन बैठक आजै पुनः बस्ने गरि स्थगन भएको छ। बिहान देखि केही मिडियामा महानगर र उपमहानगरको विभाजन सम्बन्धी भनेर आएको प्रस्ताव सहि होइन,’ उनले भनेका छन् । उनले आजै बेलुकीसम्म गठबन्धनमा भागवण्डाको विषय टुंगो गर्नेगरी छलफल भइरहेको बताए। ‘आज बेलुकीसम्म टुंगो लाउने गरि छलफल चलेको छ,’ मल्लले भनेका छन्।


पटकपटक बैठक बस्दै आए पनि सत्तारुढ गठबन्धनले अझै स्थानीय तहको सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन् । आइतबार बसेको गठबन्धनको बैठक पनि सहमति हुन नसक्दा बिनानिष्कर्ष सकिएको थियो । यही वैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता हुँदैछ ।  मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी हुँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । महानगर, उपमहानगरसहित महत्वपूर्ण स्थानीय तहमा गठबन्धनका सबै दलले आ आफ्नो दाबी नछाड्दा सहमति हुन नसकेको हो।


नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ। एकीकृत समाजवादीले एक महानगर र तीन उपमहानगरमा दाबी गरिरहेको छ ।  जनता समाजवादी पार्टीले पनि एक महानगर र दुई उपमहानगरपालिकामा दाबी गरेको छ। तर, कांग्रेसले यसमा सहमति नजनाउँदा भागबण्डा टुंगो नलागेको हो। भागबण्डा टुंगो नलाग्दा गठबन्धनका कतिपय दलले गठबन्धनबाटै बाहिरिने चेतावनीसमेत दिन थालेका छन्।


कमेन्ट गर्नुहोस्