लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले हुँदाको उकुसमुकुस

tillotmacitynews - 2022 Apr 17 11:18 PM
IMG

तिलोत्तमा सिटी,बैशाख ४ गते २०७९। कसैको आँखामा राखे पनि नबिझाउने मेचीनगर–८, झापाका तिलक दर्जी मजदुर आन्दोलनका एक असल, सरल र कर्तब्यनिष्ठ नेता हुन्। उनी नेकपा (एमाले) मेचीनगर नगर कमिटी सदस्य र मजदुर विभाग प्रमुखका रूपमा कार्यरत थिए। ‘मैले उक्त जिम्मेवारीमा नरहने घोषणा गर्दै एमाले पार्टी परित्याग गरेको छु।’ मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन– ‘यस जिम्मेवारीका लागि म एमालेप्रति हार्दिक कृतज्ञ छु। र, म आजैदेखि नेकपा (माओवादी केन्द्र) मा आवद्ध भएको छु।’


खासमा दर्जीको राजनीतिक जीवनको पृष्ठभूमि माओवादी नै थियो। मजदुर राजनीतिमा अगाडि बढ्दै गर्दा आम श्रमजीवी हितको पार्टी देखेर नै उनी माओवादीमा आवद्ध भएका थिए। पार्टीनिकट अखिल नेपाल चिया तथा बगान मजदुर संघको केन्द्रीय सचिवसम्मको भूमिकामा थिए उनी।उनले भने– ‘०७५ मा एमाले र माओवादी केन्द्रको एकता भएपछि हामी सबै स्वतः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भयौं। माओवादी जनयुद्धका महान उपलब्धिहरू स्वीकार गर्दै सिद्धान्तका रूपमा ‘जनताको जनवाद’मा सहमत भएर एकीकृत कम्युनिष्ट पार्टी बन्ने त्यो प्रक्रिया आफैमा ऐतिहासिक थियो।’तर, विविध कारणले त्यो एकता बच्न सकेन। एमाले र माओवादी केन्द्रले आ–आफ्नै बाटो लिदा उनी एमालेतिर रहे। ‘एमालेले मलाई विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी दिएकै हो।


तर, जब विचार, सिद्धान्त, देशमा युगान्तकारी परिवर्तनको आधार, सामाजिक न्याय सहित समाजवादको आधार र अबका नीतिगत प्राथमिकताका कुरा आउँछन्, मलाई भित्रैदेखि उकुसमुकुस हुन्छ। के म मनैदेखि एमाले हुँ? भन्ने अन्तरद्वन्द्वले मलाई चिमोट्छ। आफ्नो अन्तर मनलाई र आफू संगठित भएको पार्टीलाई मैले धोका दिन मिल्दैन।’ उनले विज्ञप्तिमा भनेका छन– ‘त्यसैले एमालेका साथीहरूसंग सौहार्द सम्बन्ध हुँदाहुँदै पनि म माओवादी केन्द्रमा आबद्ध भएको हुँ। साथीहरू! अन्यथा नबुझ्नुहोला, यसको एउटै कारण विचार–सिद्धान्त मात्रै हो।’


उनले थप भनेका छन– "म मजदुर बर्गले, आम शोषितपीडितले र जनताको झुपडीले न्याय पाउने आमूल परिवर्तनको राजनीतिप्रति बिश्वास गर्छु। त्यही बिश्वासले मलाई फेरि जनताको प्यारो पार्टी माओवादी केन्द्रमै ल्याइपु¥याएको छ। पार्टीले दिने जुन कुनै उचित जिम्मेवारीमा म आफ्नो क्षमताले भ्याएसम्म दत्तचित्त हुनेछु। "

कमेन्ट गर्नुहोस्