लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय परीक्षा, पाठ्यक्रम र अनुगमनबाहेक सबै निर्णय आफूहरूले नै गर्न पाउनुपर्ने प्याब्सनको माग

IMG

चैत्र १७ गते २०७८,तिलोत्तमा सिटी।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले तीन वटाबाहेक अरू विषयमा निजी विद्यालयलाई पूर्ण स्वायत्तता दिन माग गरेको छ ।प्याब्सनको नव निर्वाचित समितिले आज बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय परीक्षा, पाठ्यक्रम र अनुगमनबाहेक निजी विद्यालयको सञ्चालनमा सरकारले पूर्ण स्वायत्तता दिनुपर्ने माग गरेको हो । विद्यार्थीको शुल्क, पोसाक, सवारी साधन, प्रयोगशाला, पढाउने शैली, विद्यालय सञ्चालनको अवधि लगायतका विषयमा आफैँ निर्णय गर्न पाउनुपर्ने प्याब्सनको माग रहेको छ । 


पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष डीके ढुंगानाले सरकारले तोकेको मापदण्ड र घेराभित्र सीमित रहेर निजी विद्यालय सञ्चालन गर्दा नेपाली विद्यार्थीले अन्तर्राष्ट्रियस्तरको शिक्षा प्राप्त गर्न नसक्ने भएकाले स्वायत्तता माग गरिएको बताउनुभयो । यस्तै प्याब्सनले शिक्षामा निजी क्षेत्रले गरेको लगानी सुरक्षित गरिदिनुपर्ने, कोरोनाका कारण परेको असर कम गर्न पुनरुत्थान प्याकेज ल्याउनुपर्ने,  निजी गुठी र सहकारीमार्फत चलेका विद्यालयलाई कर छुट हुनुपर्ने, भौतिक पूर्वाधार र जनशक्ति पुगेका विद्यालयलाई सरल र सहज प्रक्रियाबाट प्राविधिक तथा व्यावसायिक विषयको कक्षा सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ । 


यस्तै विद्यालय गाभ्नका लागि सरकारले नीतिगत प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने, उच्च शिक्षा नीतिमा सुधार गरेर हरेक वर्ष लाखौँ विद्यार्थी पढ्नकै लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने लगायतका माग पनि राखेको छ । प्याब्सनको यही चैत ९ र १० गते भएको महाधिवेशनले एक जना अध्यक्ष, २५ जना उपाध्यक्षसहित ८९ सदस्यीय कार्यसमिति चयन गरेको थियो । 

कमेन्ट गर्नुहोस्