लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भूस्वर्ग नेपाल

IMG

     गङ्गाराम गड्तौला

२०७८ चैत १० , तिलोत्तमा सिटी ।    

अग्ला छन् शैल सेता सगरमय बनी गर्व गर्दै उभेका ।

देखिन्छन् वीर योद्धाजनसरि छहरा गान गर्दै बहेका ॥

हेर्दा संसारलाई नयनभर छटा दिन्छ सन्झ्याल मेरो ।

सारा सौन्दर्य बोकी जगततलभरि फुल्छ नेपाल मेरो ॥ १ ॥

 

सारङ्गी बोल्छ मीठो धुन पवन भरी टाकुरा-टाकुरामा ।

आफ्नै नेपाल बोल्छन् भ्रमरहरु सधैँ पुष्पका आँकुरामा ॥

पढ्दा संसारलाई सुकृति प्रकृतिको देश यो देश लाग्ने ।

हेर्दा आकाशजस्तै मनमयल सबै तस्रँदै दूर भाग्ने ॥ २ ॥

 

चाँदीझैँ झल्मलिन्छन् रविकिरण मिली शैलशोभा हिमाद्रि ।

सिँच्दै पाखापखेरा सरसर सरिता डुल्दछन् लेकबेसी ॥

बग्छन् सीमाहरुमा अविरल गतिमा नित्य मेची र काली ।

हाँस्दै संसार डुल्ने मुसुमुसु वनितातुल्य घुम्टो उचाली ॥ ३ ॥

 

राता पाखा गुराँसेवन र कुसुमले देखिने चैतमास ।

माया साटी सहेली वन-उपवनमा खेल्दछन् साथ-साथ ॥

झम्झम् झङ्कार गर्दै झरझर झरना झर्दछन् झर्झराई ।

फर्फर्फर् फर्फरिन्छन् फररर वनमा पालुवा फर्फराई ॥ ४ ॥

 

मोतीका हारजस्तै पलपल पसिना पोखिदिन्छन् किसान ।

बिसर्ी पीडा मनैका सहजसित तिनै गर्दछन् अन्नदान ॥

खेल्छन् राम्रै बयेली लहलह हरिया फाँटमा धान-बाला ।

हेर्दै आनन्द जाग्ने मुटुभरि ममता छर्न खोज्ने विशाल ॥ ५ ॥

 

नाच्छिन् नेपालभित्रै छमछम हँसिली पार्वती छम्छमाई ।

धर्तीमा वास खोज्छन् सुरमुनि र सबै स्वर्गका देव आई ॥

जन्मी नेपालभित्रै जगभर छरिए शान्तिका दूत बुद्ध ।

नामै सुन्दा उनैको तन-मन सबको हुन्छ रे शुद्ध-बुद्ध ॥ ६ ॥

 

बोक्छन् नेपाललाई जन-जन मनले जोसिँदै पाखुरामा ।

स्वर्गैलाई भुलाई वरपर रमिता हेर्छ यात्री धरामा ॥

खुल्छन् भाका बिहानीपख मधुरमझैँ कोयलीका गलामा ।

हाँस्छिन् सारै मजाले मन सुमन गरी नित्य नेपालआमा ॥ ७ ॥

 

कमेन्ट गर्नुहोस्