
२०७८ फागुन २७ , तिलोत्तमा सिटी । सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो।अस्पताल बनाउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयअघि राधिका थपलियाको संयोजकत्वमा ज्येष्ठ नागरिकका लागि पायक पर्ने स्थानमा अलग्गै विशिष्टकृत अस्पताल स्थापना गर्ने विषयमा अध्ययन गर्न कार्यदल बनाएको थियो। उक्त कार्यदलले आवश्यक काम अगाडि बढाएको छ। कार्यदलले दिएको सुझाबका आधारमा अस्पताल निर्माणको काम अगाडि बढ्ने छ।
मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकका लागि अस्पताल निर्माण गर्न धादिङ, चितवन, मकवानपुर, सिन्धुली, काभ्रे लगायतका जिल्ला प्रस्तावमा आएका छन्। तर यो छलफलका क्रममा नै रहेका कारण कुन जिल्लामा अस्पताल बन्छ भन्ने अहिले नै टुंगो लागिसकेको छैन।बिहीबारको मन्त्रिपरिषद बैठकले ५० वर्षभन्दा माथिको उमेर समूहका नागरिकको नि:शुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय पनि गरेको छ। यस्तो परीक्षण वर्षमा १ पटक नि:शुल्क गरिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको सचिवालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्