लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रादेशिक अस्पतालको ११२ औं वार्षिकउत्सव, ४० बेडको आईसीयू संचालनमा

IMG

तिलोत्तमा सिटी, फाल्गुण १६ गते २०७८। बुटवलमा संचालनमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल आइतबार १ सय १२ वर्ष पुगेको छ । अस्पतालले ११२ वर्ष पुगेको अवसरमा बिबिध कार्यक्रम गरि अस्पतालको वार्षिक उत्सव मनाएको छ । वार्विक उत्सवकै अवसरमा अस्पतालमा आइतबार ४० बेडको आईसीयू र ५० बेडको मेडिकल वार्ड पनि संचालनमा ल्याईएको छ । आइतबारबाट संचालनमा आएका ती वार्डहरुको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले उदघाटन गरे। वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरबको अस्पतालको रुपमा विकास गरिने बताए। उनले अबको ५ वर्ष भित्रमा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा राष्ट्रिय स्तरको मात्र नभएर अन्तराष्ट्रिय स्तरको हुने दाबी पनि गरे ।


अस्पतालको विकासको लागि ५ खर्ब ९९ करोड लागत लाग्ने गुरु योजना तयार गरेर टेण्डर प्रक्रिया सुरु गरिएको जानकारी दिंदै मुख्यमन्त्री केसीले अवका दिनमा उपचारको लागि भारत तथा तेश्रो मुलुक जानु पर्ने समस्याको हल हुने दाबी गरे ।कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले अस्पताल भित्र प्रवेश गरेका बिरामी सेवा नपाएर फर्कन नपर्ने गरि अस्पतालले सेवा विस्तार गर्दै गएको बताए । उनले बुटवल र बुटवल आसपासका दुर्गम पहाडबाट आउने बिरामीहरुलाई एक पटक लुम्बिनी प्रादेशिक अस्पतालमा भित्राएर मात्र अन्यत्र लैजान आग्रह गर्दै सेवा पाएनौं भन्ने गुनासो नरहने गरि काम अगाडी बढाइएको बताए ।




वार्षिकउत्सवका अवसरमा आयोजना गरिएका साताव्यापी कार्यक्रमहरु सकिएसंगै आईतबार आयोजना गरिएको मुल समारोहका अस्पतालका कर्मचारीकाबीच भएको अतिरिक्त क्रियाकलपमा सफल कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।दैनिक २ हजार भन्दा वढि विरामीले सेवा लिने सो अस्पतालले सरकारले तोकेका सबै सेवा हरु निशुल्करुपमा संचालन गर्दै आएको छ ।


कमेन्ट गर्नुहोस्