लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भाषा र देशको पहिचान:

tillotmacitynews - 2022 Feb 11 10:05 PM
IMG

तिलोत्तमा सिटी,माघ २८ गते २०७८। भाषा हरेक राष्ट्रको पहिचान हो।भाषाले हामिलाई एकअर्कामा जोडेको छ।भाषाको माध्यम द्वारानै हाम्रा सारा कार्यहरु सफल भएका छ्न।हामिलाई भाषाले नै अनुशासित र संस्कारित बनाएको छ।यदि आफ्नो भाषाको ज्ञान् हुँदैनभने हामी पछि परिन्छ।अर्कोतर्फ कुनैपनी देशमा विदेशी राष्ट्रको पाइला पर्ने हो भने  झनै समस्या झेल्नु पर्दछ।किनकी विदेशीले सबैभन्दा पहिला त्यो देशको भाषा लोप गराउनेतिर जोड दिन्छन।अनि जनता तथा राष्ट्रको पहिचान गुमाएर विदेशी शक्तिशाली बन्न पुग्छन।भाईभाईमा फुट सिर्जना गरिदिन्छन।विदेशी राष्ट्रले देशलाई चुसेर खोक्रो बनाइदिन्छ्न।जनता उनिहरुका दास हुन्छन।सन्सारको इतिहासमा यस्तै भएको पाइन्छ।कोरियाको इतिहासमा कुनैबेला भाषाको कारण जनताले अत्याचार सहनु परेको थियो।भाषाको कारण सारा जनताहरु आफ्नै देशभित्र दास बन्न परेको थियो।विदेशी शासकबाट मात्र हैन स्वदेशी शासकबाट पनि कोरियाका जनताहरु मारमा परेका थिए।कसरी यस्तो अवस्था जन्मेको थियो त,आज भाषाको वेदना अखण्ड कोरोयाको इतिहासको पानाबाट।


विश्वको इतिहास अनुसार भाषाको सुरुवात प्राचीन मेसोपोटामिया तथा इजिप्टबाट भएको मानिन्छ।आजभन्दा पैंतीस सय वर्ष पहिला इजिप्टमा चित्रमय फोनेसियन लिपि जन्मेको थियो।यहि लिपि पुर्वी एसिया बाहेक सन्सारमा फैलिएर नयाँ लिपिको जन्म भएको थियो।कालान्तरमा यो लिपिले तिसवटा लिपिलाई जन्म गरायो।हाम्रो प्यारो देश नेपालको सर्वश्रेष्ठ देवनागरी लिपि पनि तीस लिपिमध्य एक पर्दछ।आज सन्सारमा सात हजार भाषा बोलिन्छ।सात हाजार भाषाहरु इनै तिसवटा लिपिहरुबाटै अक्षर सापटी लिएर बनेका हुन भनिएको छ।अर्कोतर्फ पुर्वी एसियाको चिनमा चित्रमय लिपि पनि प्राचीन फोनेशियन लिपिसँगै जन्मेको थियो। यो लिपि शंखे किरा,मानव मस्तिष्क तथा कङ्कालबाट बनेको भनिएको छ।यसैबाट बनेको हान्सा (हान्चा)भाषा कोरियामा लामो समयसम्म प्रयोग गरिएको थियो।


कोरियामा भाषाको आगमन तथा सुरुवात 

आजभन्दा २६ सय वर्ष पहिलादेखी सन्सारमा राजामहाराजाको प्रादुर्भाव भएको जान्न सकिन्छ।यसको ज्वलन्त उदाहरण हाम्रो कपिलवस्तुको विकसित सभ्यता शाक्य राजवंशलाई लिन सकिन्छ।मापदण्डअनुसार राज्यको सिमा सिमांकन गर्ने कानुनी व्यवस्था त्यतिबेला थिएन।जसले जहाँ गएर राज्य खडा गरेपनी हुने बेला थियो।युद्ध गरेर अर्काको राज्य हडप्ने तथा शासकलाई भूमिबाटै भगाउने काम पनि त्यतिबेला सर्वत्र हुने गर्दथ्यो।


यस्तैमा इसापुर्व १९४ मा कोरियाको उत्तर तथा पश्चिम क्षेत्रबाट केही मानिसको जत्था कोरिया आइपुग्यो।उनिहरु अहिलेको चिन नामाकरण भएको भूमिबाट लखेटिएका शासक थिए।तिमध्यको प्रधानको नाम "उइमान" थियो।उसले कोरियाको "छुन"भन्ने राजालाई भेट गर्‍यो।कोरियामा फलामको व्यापार गर्ने प्रलोभन देखायो।ललाइफकाइ गरि जालमा पारेर कोरियाको राजालाई पदच्युत गर्न सफल भयो।कोरियाको भूमिमा सत्ता कब्जा गर्ने पहिलो चिनियाँ शसक बन्न सफल भयो।चिनबाट आएको उइमान बंशले  कोरियामा शासन मात्र गरेनन, चिनमा फुलेफलेको हान्सा (हान्चा)लिपि समेत स्थापित गरेर भाषाको जन्म गरायो।यसरी चिनको भाषा कोरियामा जन्म लिन पुग्यो।


चिनियाँ भाषा लेखेपढ गर्ने काम कोरियाको दरबारमा मात्र सिमित 

चिनबाट आएर राज्य गरेको चिनियाँ वंश इसाको पहिलो शताब्दीमा पतन भयो तर  भाषाले भने जरो गाड्यो।राजपरिवार,  भारदारहरु साथै राजदूतलाई यो भाषा सिक्ने अवसर मिल्यो। कोरियाका उच्च घरानाका मानिसहरु चीन गएर अध्यन गर्ने अवसर मिल्न थाल्यो।तर प्रजाहरु भने बोलिचालिमा मात्रै सिमित भए।उता चिनको प्राचिन सभ्यताले प्रगती गर्दै गयो।चिनले आफ्नो देशको भाषा बोलिने कोरियासँग व्यापारमा हात बढाउँदै गयो।सत्ता मोहको कारण कोरियाको राजवंश चिनमा परनिर्भर हुन थाल्यो।


कोरियाली भिक्षु लुम्बिनी भ्रमण,भिक्षुहरुद्वारा संस्कृत पठन 

बौद्ध धर्मको कुरा गर्नुपर्दा कोरियामा यो धर्म पहिलो शताब्दीमा नै आगमन भएको थियो।छौटौं शताब्दी देखि कोरियाका बौद्ध भिक्षुहरु हाम्रो देशको लुम्बिनी आउन थाले।त्यो समयमा अहिलेको भारतमा पर्ने बिहारमा नालन्दा बौद्ध विश्वविद्यालय स्थापित भएको थियो।कोरियाका भिक्षुहरु नालन्दा विश्वविद्यालय गएर संस्कृत भाषा पनि सिकेर कोरिया आए।यसरी कोरियामा संस्कृत भाषाले दोस्रो स्थान पाउन सफल भयो।संस्कृत भाषा बौद्ध भिक्षुको लागि बन्यो भने चिनको हान्चा भाषा उच्च घराना तथा कर्मचारीका लागिमात्र सिमित हुन पुग्यो।जनताको मझेरी  लेखपढले टेक्न पाएन। बोलचालीमा मात्र सिमित रह्यो।


कोरियामा भाषाको आविष्कार १४४६

भनिन्छ सबै शासक कुशासक हुँदैनन।सन १४१८ मा सेजोङ भन्ने राजा कोरियाको राजगद्दीमा बसे।उनी देशप्रेमी,प्रजाप्रेमी राजा थिए।सोझा जनताले भाषा नबुझेर कर्मचारीले दुख दिएको थाहा पाए।यस्तो देखेका राजाले आफ्नै देशमा लिपि बनाउने योजना बुनेछन।तत्पश्चात सन १४४३ मा आफ्नो छोरा र छोरिको सहयोगमा लिपि  बनाउन सुरु गरे।तीन वर्षको अथक प्रयास पछि अन्ततोगत्वा सन १४४६ मा कोरियाको आफ्नो लिपि तयार भयो।


राजाले राजसभा गराएर सबै भारदारको सामुन्ने आफुले बनाएको भाषा पेश गरे।तर चिनको भाषामा विद्वान भएका कोरियन कर्मचारीहरु राजाले बनाएको भाषाको बिरोध गरे।किन?किनकी चिनको भाषा उनिहरुले मात्र जानेका थिए।सर्वसाधारणले जानेका थिएनन।ती भाषा जानेकाले  सर्वसाधारणलाई चुसेर आफू फस्टाएका थिए।त्योबेला राजा संविधानभन्दा माथी भएकोले राजाको आदेस सिरोपर गरियो।व्यञ्जनवर्ण तथा स्वरवर्ण मिलाएर भाषा तयार गरियो। आफ्नो देशको भाषा लेखपढ गर्न सारा देशमा आव्हान गरियो।केही वर्षपछि राजाको मृत्यु भयो।तत्पश्चात कोरिया भाषा जस्ताको तस्तै ओझेलमा पर्न गयो।भारदारहरुद्वारा  चिनकै भाषा प्रयोगमा ल्याइयो।कोरिया भाषामा बोल्नेलाई हेला गर्न थालियो।कोरिया भाषा बोल्नेलाई पाखे,असभ्य भन्न थालियो।चिनको भाषा बोल्ने महान कहलायो।कोरिया भाषालाई भाषा नभनेर "अनमुन"भनियो।अनमुन भनेको होच्याइएको शब्द हो।कोरियाका जनताहरु अन्धकारमा जिवन बिताइरहे।चिनको भाषा सन १९०९ सम्म यथावत रह्यो।


सन १९१० मा जापानको भाषा आगमन,कोरियालाई  पोले माथी फुकुन्डो

सन १८७४ को कुरा हो।जापानले कोरियासँग व्यापार सम्झौताको प्रस्ताव राख्यो।कोरियाको समुन्द्रमा बन्दरगाह बनाइदिने कुरा राख्यो।यहि बन्दरगाहबाट सारा मानिसहरु पनि कोरियामा  आउन पाउने तथा कोरियालाई मनग्ये पैसा पनि आम्दानी हुने प्रलोभन देखायो।जापानले सम्झौतापत्रमा दस वटा बुँदा बनाएर हस्ताक्षर गर्न लगायो।जापानले बनाएको बुँदा मध्य एउटा यस्तो घातक बुँदा थियो जुन यस्तो थियो "यदि जापानीहरु कोरिया आएर कसैलाई बलात्कार, हत्या जस्ता जघन्य अपराध गर्दछन भने त्यसको कारबाही कोरियाले गर्न नपाउने।पिडक जापानीलाई जापान लगेर कारबाही गर्ने लेखिएको थियो।कोरियाले जबरजस्ती हस्ताक्षर गर्न बाध्य भयो।जापानी सरकारी कर्मचारीहरु कोरिया आउन थाले। बिस्तारै कोरियाको रहनसहन बुझ्न थाले।कोरियाको हरेक कुरा बुझ्दै गएपछी सन १९१० मा पुगेर पुरै कोरियालाई कप्लक्कै निल्न पुग्यो।अखण्ड कोरिया जापानको उपनिवेश हुन पुग्यो।जुन वंशले हस्ताक्षर गरेर जापानीलाई कोरिया टेक्ने अवसर दिएको थियो।उसैको वंश पतन भएर गयो।सन १९१० बाट कोरिया भाषा तथा चिनको हान्चा भाषा पतन भएर गयो।पुरै देशभरी जापानी भाषाका पाठशाला खोलिए।कोरियाका जनताले जापानी भाषा पढेर जापानी हुँ भनेर जिउने दिनको सुरुवात भयो।सन १९४५ मा जापानबाट कोरिया स्वतन्त्र भयो।अनि बल्ल कोरिया भाषाको पुनर्जन्म हुन पुगेको थियो।


सन १९४५ मा जन्मेको कोरिया भाषा अहिले सन्सारमा प्रख्यात भएको छ।अहिले कोरियाका जनता ९९% शिक्षित छ्न।कोरियनहरु कोरिया भाषामै बैज्ञानिक छन।सारा प्रविधि कोरिया भाषामै आविष्कार भएको छ।अंग्रेजी अथवा अरु कुनैपनी विदेशी भाषाको सुत्र यो देशमा काम लाग्दैन।सारा आफ्नै भाषामा बनेको छ।यो देशले खुब प्रगती गरोस हामी सबैको शुभकामना।


हाम्रो देश नेपालमा 

आजभन्दा पैँतिस सय वर्ष पहिला हाम्रो देशमा विभिन्न ठाउँमा रहेर ऋषिमुनीहरु तप ध्यान गर्दथे।जुनबेला वैदिक काल भनेर सुरुवात भयो।यो कालले हामिलाई देववाणीको रुपमा संस्कृत भाषा उपहार दियो।समयसँगै प्राकृत हुँदै अपभ्रंश भएर हाम्रै जुम्लाको सिञ्जामा खस भाषा भनेर जन्म भयो।संस्कृत नेपाली भाषाको धाईआमा बन्न पुगिन।उन्नाइसौं शताब्दीदेखि नेपालिमा साहित्य सर्जनले पनि जन्म लियो।कवि, साहित्यकार,तथा भाषाविदले नेपाली भाषालाई जोड दिन थाले।जसको कारण आज हाम्रो राष्ट्रिय भाषा नेपाली बन्न पुग्यो।त्यसोत हाम्रो देशमा १२८ भाषाको प्रयोग गरिन्छ। सबैलाई हाम्रो उत्तिकै सम्मान छ।भाषाका धनी हामी नेपाली।हाम्रो नेपाली भाषाको अझै उत्थान गर्न सकौं।नेपालीमै शुद्ध लेख्न सक्ने बनौं।जसको कारण हरेक व्यक्ती,समाज तथा सिङ्गो राष्ट्र समृद्ध र शक्तिशाली हुने छ।हामी सबैको कल्याण होस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेशीन नपरोस।

-विक्रम थापा

(हाल दक्षिण कोरिया)

कमेन्ट गर्नुहोस्