लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मृत्यु

IMG

सतीश छेत्री

२०७८ माघ २३ ,तिलोताम्मा सिटी। 

मृत्युलाई

मान्छेले कहिले भेटेन

भेट्यो भने पनि

सब उडिसकेपछिको

एउटा शव।


साससित खेल्छ

खेलिरहन्छ मृत्यु

जीवनभर।

अवरोह - आरोह

आरोह - अवरोह

मानौं

जीवन एउटा

सुन्दर सिर्जना हो - मृत्युको।


मृत्युले सिकायो

खेत बनाउन

धान रोप्न

सञ्चय गर्न

मृत्यु कति ठूलो गुरू!

नत्र मरिन्छ भनेर

मृत्युले डर नदेखाएको भए

कहाँ हुन्थ्यो यो व्यवस्था !

कहाँ हुन्थ्यो यो संसार !

कहाँ हुन्थ्यो मेडिकल

कहाँ हुन्थ्यो औषधि !


मृत्यु - फूल।

बोटले

पूरा बाँचिसकेको प्रमाण।

बाँस मात्रै किन,

फुलेपछि त

गोदावारी र एस्टर पनि मर्छ

फुलेपछि त

फूलकै बोट पनि मर्छ

फूल - मृत्यु।


मृत्यु कालो छैन

मृत्युको रङ्ग नै छैन

मृत्यको वर्ग छैन

मृत्युको देश छैन

मृत्युको नातागोता सम्बन्ध नै छैन

आफन्त नै छैन

मृत्यु सबलाई छ

बराबर छ

बाँच्नेलाई मृत्यु

उपहार छ/ पारितोषिक छ।


मृत्युसित केको डर!

मृत्यु नआइदिएर

जीवनलाई 'हुन' दिन्छ।

दु:ख त

जीवनको सिर्जना हो।

व्यर्थै दु:खलाई

मृत्यु - भनेर मान्छेले

मृत्युलाई

बदनाम गरिहिँड्छ।


मृत्युसित

प्रेमवश आँखा जुझेकै दिन

जीवन शुरू हुन्छ।


मृत्यु ;

कृष्ण बनेर

खुट्टा घुमाइ उभिएकोसित

बाँसुरी बजाउँदै,

जीवन गोपिनी मन्त्रमुग्ध नाचेको

हेरिरहन्छ

र घाम डुबेपछि

प्रेमालाप सकिएपछि

अँगालो हालेर

जीवनलाई लिएर

सुटुक्क फर्किएको हुन्छ।



कमेन्ट गर्नुहोस्