
२०७८ माघ २१, तिलोत्तमा सिटी। चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वर्षेनी उपचार गर्ने बिरामीको संख्या वर्षेनी बढ्दो छ। २२ वर्षको तथ्यांकले उपचारका लागि पुग्ने बिरामीको संख्या वर्षेनी बढ्दो क्रममा रहेको अस्पतालले देखाएको छ। सन् २०१४ बाट उपचार सेवा लिनेको संख्या एक लाख माथि पुगेको अस्पतालको तथ्यांक छ। गत २२ वर्षमा १८ लाख २ हजार ९७९ जना बिरामीले ओपिडी सेवा लिएका छन्।
वर्षेनी करिब डेढ लाख बिरामीले उपचार लिदै आएकोमा कोभिडका कारण सन् २०२० मा ९० हजार ५७१ जना बिरामीले मात्र उपचार लिएका छन्।कोभिड महामारी अघि दैनिक ८ सयदेखि एक हजारसम्म बिरामी आउने गरेकोमा हाल ५ सयदेखि ६ सयसम्म मात्र बिरामी आउने गरेको अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले बताए। गत वर्ष उपचारका लागि आएका ९० हजार ५७१ मध्ये २४ हजार ८९ जना नयाँ बिरामी थिए।
कुल बिरामीमध्ये पनि २ हजार ९१ पुरुष र २ हजार ५१७ महिला गरी ४ हजार ६०८ जना क्यान्सरका नयाँ बिरामी रहेको अस्पतालले जनाएको छ। अस्पतालमा उपचारका लागि आउने कुल बिरामीमध्ये वर्षेनी २५ देखि ३० हजार क्यान्सरका बिरामी हुने गरेको डा गौतमले जानकारी दिए। उनले भने, ‘कुल बिरामीमध्ये एक तिहाई एक चौथाई क्यान्सर रोगका बिरामी हुन्छन्। वर्षेनी ६ देखि ८ हजार क्यान्सरका नयाँ बिरामीको उपचार हुन्छन्। देशभरीका कुल क्यान्सरका बिरामीमध्ये ७५ प्रतिशत बिरामीलाई हाम्रो अस्पतालले सेवा दिइरहेको छ।’
क्यान्सरका बिरामीमध्ये पहिलो नम्बरमा फोक्सो (५५४), दोस्रो पाठेघरको मुख (४९५), तेस्रो स्तन (४६६), चौथोमा पेट (२३५), पाँचौमा अण्डाशय र गल ब्लाडर (२१३), छैठौँमा जिब्रोको (१६३) क्यान्सर छन्। पुरुषमा फोक्सोको क्यान्सर मुख्य समस्या देखिएको छ भने महिलामा पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा छ।
कमेन्ट गर्नुहोस्