लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मौनता

IMG

 बैद्यनाथ उपाध्याय

२०७८ माघ २१, तिलोत्तमा सिटी।

दिन आउँछ, अनि रात आँउछ

यो श्रृंखला चलिरहेछ

अविराम....

जीव जगत एक लहरमा

मृत्युको द्वार तर्फ

दगुरिरहेछ निरन्तर।

मान्छेले देखेका सपनाहरू

विपना न भै

कहीं, कतै हराउँदो रहेछ।

वास्तवको थेगो नपाएर

शहीद बनेका सपनाहरू

एक अँजुली अश्रुको आसमा

दो बाटो भरी पर्खिबस्छन।

कहिलेकाँही म एकलै

हिंडीरहँदा ति सपनाहरू

मलाई ऱ्याखऱ्याखती पार्छन

हामीलाई किन यसरी

अलपत्र छाडेको?

यस्तै अकथनीय

अवर्णनीय पीडाहरू छन

जो सँधैं सँधैं

मलाईनै जवावदेही बनाउँछन।

यसरी धेरै टुक्रा टुक्रामा

बाँचेको मान्छे आँफैमा

कति एक्लो, निसंग हुन्छ

विवशताका पर्खालहरूमा

कुन्नि के के भाकि रहेको हुन्छ।

कति नरमाईला

यी दिनहरू

यी रातहरू

मेरो पर्खाईमा जाग्रत बसेका

यी निसास्सिने क्षणहरू

खै कस्तो

कर्म साँचिएछ!

सँधै अत्यास लाग्ने

यी पलहरु

मलाई सँधै सँधैं नै

घँचेटी रहन्छ।

त्यसैले म मौन रहन्छु

किनकी म भित्र

एक तमासको कोलाहल छ!

कमेन्ट गर्नुहोस्