लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

IMG

२०७८ माघ ११, तिलोत्तमा सिटी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका विषयका परीक्षाको नतिजा ढिलो नगर्न त्रिविलाई  निर्देशन दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भइरहेको गुनासो आइरहेका बेला मन्त्री पौडेलले बाँकी रहेका विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको हो । 


आज मङ्गलवार बल्खुमा रहेकाे परीक्षा नियन्त्रण कार्यालयको अनुगमन गर्न पुग्नुभएका उहाँले विद्यार्थीले चाहेका बेलामा नतिजा प्रकाशित गर्ने व्यवस्था अपनाउन पनि त्यहाँका पदाधिकारीहरूलाई सचेत गराउनुभयो । मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो । 


मन्त्री पौडेलले भन्नुभयो, ‘जेसुकै तर्क गरे पनि रिजल्ट ढिलो भएको कुरा प्रमाणित छ । जनशक्ति कम भएको हुँदा काममा ढिलाइ भएको यहाँका कर्मचारीहरूले भनेका छन् । यसलाई सुधार्ने प्रसङ्गमा अर्को प्रणाली अपनाऔँला तर अहिले नै भएको जनशक्तिबाट छिटोभन्दा छिटो रिजल्ट निकाल्ने काम अघि बढाउनुस् भनेका छौँ । विद्यार्थीको गुनासो अनुसार कर्मचारी पुगेन, प्रणाली पुगेन भन्ने कुराले मिल्दैन । विद्यार्थीले चाहेका बेलामा रिजल्ट दिन सक्नुपर्छ विश्वविद्यालयले । त्यो व्यवस्था गर्नुस् भनेको छु । 


परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भएको जवाफ मन्त्री पौडेललाई दिनुभएको थियो । उहाँले जनशक्तिको अभाव र विश्वविद्यालय अन्तर्गतका विद्यार्थीको सङ्ख्या बढी भएकाले परीक्षाको नतिजा प्रकशित गर्ने काममा ढिलाइ हुन गएको कुरा आफूले मन्त्री पौडेललाई जानकारी गराएको बताउनुभयो । उहाँले यस विश्वविद्यालयको समग्र पुनर्संरचना गरेर अघि बढ्नुपर्ने योजना सुनाउँदै त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छिट्टै परामर्श गरेर अघि बढ्ने पनि बताउनुभयो । 



कमेन्ट गर्नुहोस्