लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्धकारको यात्री

IMG

२०७८ माघ ५ ,तिलोत्तमा सिटी। 

पेट खाली थियो तर खाने केही थिएन

आज थाल भरि छ खाना

अरुचिले अघाएको छ, भोक हराएको छ ।

परिवार बसाउन घरबास खोज्दाखोज्दै

सबै क्षणहरु, समयहरु, दिनहरु कटे

अहिले परिवार बसेको छ, उमेर घटेको छ

आयु आफैं किनारा लागेको छ ।

आज 'म' अन्धकार छाम्दै हिँडिरहेको छु

आँखाहरु हुँदा दृश्यहरु थिएनन् र

फूलबारी, बगैंचाहरु, पहाड पर्वतहरु

नदीनालाहरु, वन- जङ्गलहरु

गाउँ, शहरबस्तीहरु, भूमण्डल, ग्रहहरु

मेरा वरिपरि छन् , 'म' उनीहरुसँगै छु ।

तर के गर्नु ? मसँग आँखा छैनन्

अनुमान गर्न सक्छु, अनुभव गर्न सक्दिनँ ।

आनन्दबोध गरेझैं हुन्छ, खुशी हुन सक्तिन ।

बाटो खन्दाखन्दै जीवन गयो

माटो बोक्दाबोक्दै सन्ध्या शुरु भयो

तर त्यो बाटोमा हिँड्ने 'रहर' कि 'भोक'

आफैं खुम्चिएर रहयो र मर्दै गयो ।

मेरा पसिनाका थोपाहरुले

जसलाई सम्याउने काम भयो

मेरा आकाङ्क्षाहरु जहाँ आकार आधार थिए

मेरा सपनाहरुले जहाँको खाल्डाखुल्डी पुर्ने काम गरें

दिनरात 'भोक तिर्खा', घामपानी ,

अँध्यारो-उज्यालो सबै खेप्दै

आज 'म' त्यसलाई देख्न छाडेको छु ।

हिँड्न सक्तिन त्यो बाटो ।

भोग गर्न सक्तिन 'म' निर्माता

मलाई चोर औंंलो देखाएर जिस्काउँदै

बाटोमा दगुर्ने साना नानीहरू

मेरा पछि लश्कर आउँदै गरेकाहरु

फटाफट पाइला चलाइरहेका छन् ।

मैले बनाएका धारोहरुमा

तिर्खा मेटदै हिँड्नेहरु,गन्तव्य हेरिरहेछन् ।

'म' निर्माता, 'भोकाएको' र 'तिर्खाएको'

जान पनि सक्तिन

एक बूँद पानी दिने फुर्सद

कसैले देखाउन सकेनन् ।

पानी बोकेर हिँड्नेहरु शुरुशुरु हिँडिरहेछन् ।

ती मलाई देख्दैनन्

शायद मेरो याचना

कसैलाई थाहा भएन क्यारे ?

जीवन यतै कतै अल्झिएको छ

महासागरभित्र डुबुल्की मार्न उधत

शीतको सानो बिन्दु

कहाँ पर्छ ? कहाँ खस्छ ?

र कहाँ हराउँछ ?

आवृत आकाङ्क्षा, अनावृत तृप्ति

अन्धकारको 'म' यात्री थाहा छैन

अबको मेरो आफ्नै बाटो, सम्झेर

पनि हिँड्न सक्तिन

हिजो आफैंले बनाएको बाटो

आज अन्धकारको यात्री

अन्धकारमा नै हराइरहेको छु

र यसैमा बिलाइरहेको छु !!

कमेन्ट गर्नुहोस्